
गण्डकी । चार दिने औपचारिक नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियने गुटेरेस आज (सोमबार) पोखरा जाँदै छन् । भ्रमणका लागि शनिबार राति नेपाल आएका महासचिव गुटेरेस आज दिउँसो पोखरा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनी आउँने भएपछि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ । महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । प्रत्यक चोक चोकमा बाक्लो ट्राफिक प्रहरी खटाइएको उनको भनाई छ ।
यतिखेर स्वदेशी एवं विदेशी पर्यटकले भरिएको पोखरा आज संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसजस्तो अतिविशिष्ट व्यक्तिको स्वागतको पर्खाइमा छ । नेपाल भ्रमण रहेका महासचिव गुटेरेसको भ्रमण तालिकामा पोखरा पर्नुले पोखरेलीहरू गौरवान्वित बनेका छन् ।
महासचिवको भ्रमण पोखरेलीका लागि ठूलो गौरवको विषय भएको उल्लेख गर्दै महानगर प्रमुख धनराज आचार्यले आफूहरू उनको भव्य स्वागतको प्रतिक्षामा रहेको बताए ।
कार्यक्रमअनुसार महासचिव गुटेरेस नेपाली सेनाको विमानबाट पोखरा आनेछन् । उनी सवार विमान पोखराको पुरानो विमानस्थलमा अवतरण हुनेछ । विमानस्थलको १ नं वे मा विमान अवतरण भएसँगै उनलाई सोही स्थानमा पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्वागत गर्नेछन् ।
महासचिव गुटेरेस मङ्गलबार बिहान ६ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण आधार शिविर जाने बताइएको छ ।














