Logo
Logo

महासचिव गुटेरेसद्वारा पुम्दीकोटको अवलोकन, फेवातालमा डुंगा सवार


441
Shares

गण्डकी । नेपालको औपचारिक भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेका छन् ।

दिउँसो ४ः३० बजे पुम्दीकोट पुगेका महासचिव गुटेरेसलाई महादेवको विशाल मूर्ति निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बराल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा महानगरपालिका–२२ का वडाध्यक्ष हिमलाल बराललगायतले स्वागत गरेका थिए ।

महासचिव गुटेरेसले यहाँस्थित महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन एवम् फेवातालसहित पोखराको रुचिपूर्वक अवलोकन गरेका थिए । महासचिव गुुटेरेसले करिब आधा घण्टा पुम्दीकोटमा विताएको समितिका सदस्य मातृका बरालले जानकारी दिए ।

जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट अग्लो महादेवको विशाल मूर्ति पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित बन्दै गएको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट विकास समितिका अध्यक्ष बरालले बताए ।

जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको बताउँदै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको जानकारी दिए । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना तयार गरी काम गरिरहेको छ ।

देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रुपमा पुम्दीकोट स्थापित हुने विश्वास लिइएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किमी दूरीमा रहेको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ ।

यस्तै, संयुक्त राष्ट्रसंघका महासचिवको पुम्दीकोटको भ्रमणले यस स्थानका विश्वव्यापी प्रवद्र्धन हुने विश्वास लिइएको निर्माण अभियानका संयोजक एवम् पुम्दीकोट पर्यटन विकास समितिका अध्यक्ष बरालले बताए ।

‘महासचिव गुटेरेसले पुम्दीकोटको अवलोकनसँगै यहाँबाट देखिने हिमाली दृश्य, फेवातालसहित पोखराको अभिरुचिपूर्वक अवलोकन गर्नुुले यहाँको विश्वव्यापी प्रवद्र्धन भएको छ’ उनले भने, ‘उहाँको आगमनले हामीलाई हर्षितसँगै थप उत्साहित बनाएको छ ।’

यस्तै, सोमबार साँझ महासचिव गुटेरेसले फेवातालमा नौका विहार गरेका छन् । उनको भ्रमणले पोखराको पर्यटन विश्वव्यापीरुपमा प्रवर्द्धन भएको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए ।
महासचिव गुटेरेस फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुुगी दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्