Logo
Logo

खरको छाना हटाउँदै नगरपालिका


- दृष्टि न्युज/संवाददाता


लमजुङ, ४ माघ । बेँसीशहर नगरपालिका–११ चितीका नन्दनिधि पाण्डेको आधा उमेर खरको छानाको घरमा बित्यो। कमजोर आर्थिक अवस्थाका कारण जस्ताको छानो हाल्न नसकेका उनको सपना यसपालि पूरा भएको छ ।
बेँसीशहर नगरपालिकाको नगर क्षेत्रमा विपन्न तथा खरका छाना भएका घरमा जस्तापाता लगाउने अभियान चलाएकाले पाण्डेले पनि जस्तापाता पाएका हुन् । उनलाई बिहीबार नौ फुटको १६ थान तथा छ फुटको १८ थानजस्ता र किलाकाटी तथा अन्य व्यवस्थापनका लागि रु १० हजार प्रदान गरिएको बेंसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।
उक्त नगरपालिका–३ गाउँशहरका एकल महिला शुकमाया सार्कीले पनि सात फुटको १० थान र छ फुटको १२ थान गरी २२ थान जस्तापातासँगै रु १० हजार पनि बुझ्नुभयो । पाण्डे र सार्कीसँगगै नगरपालिकाले वितरण गरेको जस्तापाता १२ जनाले लगिसकेको बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले जानकारी दिए ।
विपन्न नागरिक लक्षित कार्यक्रमअन्तर्गत नगरपालिकाले नगरभित्रका खरले छाएका घरको छाना हटाई जस्तापाताले छाउने अभियान अन्तर्गत घरको तथ्याङ्क सङ्कलन गरिसकेपछि त्यस्ता घरलाई जस्तापाताले छाउन पहल गरिएको नगरप्रमुख अर्यालले बताए ।
नगरपालिकाभित्रका कुनै पनि ठाउँमा खरको छानो राख्दैनौँ भन्दै उहाँले विपन्न नागरिकको घर जस्तापाताले छाउनका लागि आर्थिक वर्ष २०७५÷७६ मा रु २१ लाख बजेट विनियोजन गरिएको र आगामी आर्थिकवर्षसम्म नगरपालिकाभित्रका सबै खरको घरलाई टिनले छाउने लक्ष्य रहेको बताए ।
नगरपालिकामा निवेदन आएअनुसार वडा नं १ मा १५, २ मा सात, ३ मा सात, ४ मा छ, ५ मा सात, ६ मा १८, ९ मा चार, १० मा ३२ र ११ मा २० खरले छाएको घर छ । वडा नं ७ र ८ मा भने यस्ता घर छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्