Logo
Logo

ललितपुर नापी कार्यालयका हाकिमको रजगज



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन विभाग र नापी विभाग अन्तर्गतका कार्यालय प्रमुख र कर्मचारीहरूको सरुवा हरेक वर्ष गर्छ ।

मन्त्रालयले सरुवा गरेपछि कर्मचारीहरूले रमाना बुझेर खटाएको कार्यालयमा कामकाज गर्न जानुपर्छ । तर, नापी कार्यालय ललितपुरका प्रमुख उमेशकुमार साहले भने मन्त्रालयले गरेको सरुवाविरुद्ध उच्च अदालतमा रिट हाली सरकारी वकिलदेखि सबैतिर आर्थिक चलखेल गरी अन्तरिम आदेश लिएर गएका छन् ।

मन्त्रालयले उनलाई धनुषा नापी कार्यालयको प्रमुखमा सरुवा गरेको थियो । ललितपुरमा भूमि प्रशिक्षण केन्द्रका प्रमुख नापी अधिकृत रमेशकुमार ज्ञवालीको सरुवा भएको थियो । ज्ञवाली भूमि प्रशिक्षण केन्द्रबाट रमाना लिएर आइसकेका छन् । तर, ललितपुरमा हाजिर हुन पाएका छैनन् ।

धनुषा सरुवा भएका साहले उच्च अदालतबाट अन्तरिम आदेश लिएर कामकाज गर्न थालेकाले ज्ञवाली अलपत्र परेका छन् ।

धनुषाको कार्यालय प्रमुख पनि प्रमुख नापी अधिकृत(उपसचिव) हुन्छ । ललितपुरमा पनि उपसचिव नै हुन्छ । साह धनुषा नगएर निजामती सेवा ऐन नियम विपरित अदालतमा मुद्दा दायर गर्न पुगे । सरकारी जग्गा दर्तादेखि जग्गा नापजाँचमा हुने करोडौं घुुसको कारोबार गर्नका लागि उनी मुद्दा हालीहाली ललितपुरमै थमौती हुने दाउमा लागेका हुन् ।

उनले ललितपुरमै बस्नका लागि सरकारी वकिलदेखि चलेका कानुन व्यवसायीलाई लाखौं खर्च गरेका छन् । अदालतसम्म सेटिङ गरी अन्तरिम आदेश ल्याएका उनका विरुद्ध अख्तियारमा गम्भीर प्रकृतिका उजुरी परेका छन् । त्यही उजुरीका कारण उनलाई ललितपुरबाट सरुवा गरिएको थियो । तर, मन्त्री, सचिवलाई चुनौती दिंदै उनी मुद्दा हालेर लाखौं खर्च गरी पुनः अन्तरिम आदेश लिएर हाजिर हुन पुगेपछि सेवाग्राही आतंकित हुन पुगेका छन् ।

कार्यालय प्रमुख साहले एक वर्ष ललितपुरको नापी प्रमुख हुँदा नख्खु खोला करिडोरमा पर्ने नगर १३ सिट नम्बर १०२–१२६४–०३ कि.न. ३४७८ को सरकारी जग्गा आर्थिक प्रलोभनमा व्यक्तिको नाममा हाल साविक (अद्यावधिक) गरेका छन् ।

साविक भैंसेपाटी गा.वि.स. वडा नं. ६ ‘क’ कि.न.४६९ को सरकारी जग्गा हाल नयाँ नापीमा कार्यविनायक नगरपालिका वडा नं. ४ कि.न. १३५४ नेपाल सरकारको नाममा हुनुपर्नेमा नापी कार्यालयका प्रमुख साहले आर्थिक लाभ लिई व्यक्तिको नाममा हाल साविक गरी सरकारी जग्गा हिनामिना गरेको अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

नापी कार्यालय ललितपुरका प्रमुख साहले व्यापक भ्रष्टाचार गरी अकूत सम्पत्ति आफ्नो नाममा, श्रीमती तथा आफन्तका नाममा साथै साथीको नाममा काठमाडौं उपत्यका लगायतका ठाउँमा जग्गा जोडेको उजुरीमा उल्लेख छ ।

अख्तियारमा २०८० असोज २ गते परेको सी–०१७७८४ दर्ता नम्बरको उजुरीमा उनीमाथि भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले छानबिन गर्न माग गरिएको छ ।

उनले २५ करोड भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएकाले उक्त सम्पत्ति छानबिन गर्न माग गरिएको छ ।

उजुरीमा उल्लेख छ– नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख साहले ललितपुरको धापाखेल ८ ‘ख’ कि.न. २७५८, २७६३ समेत गरी ३ वटा प्लट ९०–१२–०–०० ४–४ आनाको जग्गा २ वटा आफ्नो नाममा किनेको र एक कित्ता साथीको नाममा किनेको सो जग्गा प्रतिआना २२ लाख रुपैयाँका दरले २ करोड ६४ लाखमा किनेका हुन् ।

उक्त जग्गा आफ्नो नाममा खरिद गर्दा साहले अर्को नापी अधिकृतले थाहा पाउँछ भनेर आफैं प्रमाणित गरेका थिए । यसरी साहले आफ्नो नामको लिखत आफैं प्रमाणित गरेका छन् । आफ्नो नामको लिखतमा आफैं हस्ताक्षर गर्न मिल्दैन ।

नापी कार्यालय ललितपुरमा आर्थिक रुपमा घुस उठाउने गिरोह नै साहले चलाएका छन् ।

उनले अनियमितता गरी कमाएको सम्पत्तिबाट मनोहरा जग्गा एकीकरण आयोजना भक्तपुर लोकन्थलीमा साढे ३ तला घर ६ आना क्षेत्रफलमा बनाएर बसेका छन् । उक्त घरको हालको न्यूनतम मूल्य ५ करोडभन्दा बढी पर्न आउँछ ।

प्रतिक्रिया दिनुहोस्