Logo
Logo

एसपीको निर्देशनमा तस्करी



काठमाडौं । बाराका दुई एसपी सुरेशप्रसाद काफ्ले र टोपबहादुर डागीको निर्देशनमा करोडौँ मूल्यका कपडा तथा बिष्फोटक सामाग्री तस्करी भई नेपाल आएको स्रोतले जनाएको छ । जिल्लाको बलिरामपुर नाका हुँदै एक हप्ताभित्र करोडौँ मूल्यका कपडा तथा बिष्फोटक सामाग्री नेपाल भित्रिएको स्रोतले जनाएको छ ।

सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा करिब ५ करोड भन्दा बढी मूल्य बराबरका कपडा तथा बिष्फोटक सामाग्री (पटका) नेपाल भित्रिएको हो ।

शान्ति सुरक्षाका साथै सीमा निगरानीको जिम्मेवारी पाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको साँठगाँठ मिलेपछि तस्कर समूहले कपडाको नाउमा बिष्फोटक सामाग्री (पटका)समेत भित्रयाउने गरेको पाइएको छ ।

एकजना भारतीय नागरिकका अनुसार रातिको समयमा तस्कर समूहका मुख्य नाइकेहरू प्रहरीकै ग्रिन सिग्नल पाएपछि कपडा र बिष्फोटक सामाग्री अर्थात पटका नेपाल भित्रयाउने गरिएको हो । कपडा तस्करीको लागि मासिक रुपमै लाखौँ रुपैयाँ नजराना बुझेका स्थानीय प्रहरी चौकी तथा सशस्त्र प्रहरी बेश बलिरामपुरका कर्मचारीहरूलाई जानकारी नै नगराई पटका भित्रयाउने गरेको उनले बताए ।

प्रहरी चौकी बलिरामपुर मुसहर्वाका प्रहरी नायब निरीक्षक बसन्त थापा र बोर्डर आउट पोष्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दिपक थापाले मासिक रुपमै तस्करहरू संग रकम बुझेपछि तस्करीको लाइन खुलाइदिएका छन् । बलिरामपुर नाका हुँदै नेपाल अवैध रुपले भित्रिएको कपडा र पटका मुलुकको बिभिन्न ठाउहरूमा ट्रान्सपोर्टकै माध्यमले पुग्ने गरेको छ । बलिरामपुर नाका हुँदै अनहोती, सुरेन्द्र, सकिल, जयलाल, भुठा, शेखावत, मदन, छोटेलाल भनिने दर्जनौ तस्कर तस्करी गर्न सकृय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बाराका सम्पूर्ण युनिटहरूलाई ठाडो आदेशमा रकम असुली गर्न दिएको स्रोतले जनाएको छ ।

दाङबाट सिधै बाराको कमाण्ड गर्न पाएका काफ्लेले बारा आउन लाखौँ खर्च बुझाएकाले सशस्त्र एसपी डाँगीसँग मिलेर सीमामा तस्करीको लाइन खुलाएको स्रोतको दावी छ । उनकै छत्रछायामा प्रहरी नायब निरीक्षक बसन्त थापाले तस्करीको लाइन खोलेको प्रहरी श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्