Logo
Logo

पर्वतीय पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड


- दृष्टि न्युज/संवाददाता


पोखरा, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नेपालमा पर्वतीय पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

नेपाल पर्वतारोहण संघद्वारा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा आयोजित विश्व शान्ति पूजाको समापन एवं संघको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पर्वतीय पर्यटनको उपयोग गर्दै देशमा आर्थिक समृद्धि एवं विकास गर्न सकिने प्रचुर सम्भावना रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले पोखरास्थित संग्रहालयमा नेपालका हिमाली क्षेत्रमा रहने जातजातिका संस्कृति, परम्परा एवं सभ्यतालाई प्रस्तुत गरिएको उल्लेख गर्दै यसको अवलोकनसँगै पर्वतीय पर्यटन, भूगोल आदिको अध्ययन गर्न चाहने जो कोही लाभान्वित हुने बताउनुभयो । ‘भूगर्भशास्त्रीय अध्ययन गर्न चाहनेका लागि पनि संग्रहालय महत्वपूर्ण बनेको छ’, उहाँले भन्नुभयो, ‘यसको व्यवस्थित विकासका लागि म आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उल्लासका साथ भ्रमण वर्ष २०२० मनाइरहेको प्रसंग उल्लेख गर्दै उहाँले यसको शुरुआतमा नै चीनमा देखिएको कोरोना भाइरसको हल्लाका कारण यहाँको पर्यटनमा सामान्य प्रभाव परे पनि यो चाँडै नै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले विश्वकै उत्कृष्ट पर्यटकीयस्थल पोखरामा संग्रहालय स्थापना भएको बताउँदै यो विश्वभरिका पर्यटकका लागि अवलोकन गर्न आउने स्थलका रुपमा विकास हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पोखरा विमानस्थल सम्पन्न हुने चरणमा रहेको प्रसंग उल्लेख गर्दै उहाँले यहाँका जनताको आर्थिक विकास एवम् समृद्धिका लागि बृहत् चक्रपथ निर्माण गर्नुपर्नेेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयलाई व्यवस्थित एवं प्रभावकारी रुपमा सञ्चालन गर्न सुझाव दिँदै यसमा प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि अध्यक्ष प्रचण्डले संग्रहालयको अवलोकनका साथै नेपाल पर्वतारोहण संघको झण्डा झण्डोत्तोलन गर्नुभयो । उहाँले पर्वतीय संग्रहालयका संस्थापकहरूको सालिकमा पनि माल्यार्पण गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्