Logo
Logo

भारतीय पुरुष बुढो हुँदैनन् : पुजा भट्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ माघ । बलिउडकी अभिनेत्री तथा निर्देशक पुजा भट्टले भारतीय पुरुष कहिल्यै बुढो नहुने बताएकी छन् । एक समयकी चर्चित यी अभिनेत्रीको भनाइले बलिउड अभिनेताहरुलाई गतिलो व्यंग्य गरेको छ, किनकि ५० वर्षमाथिका अभिनेताहरु बलिउडमा राज गर्दै आएका छन् ।
ढेड दशकपछि फिल्म ‘सडक–२’मा देखिन लागेकी पुजाले भनिन्, ‘यहाँ ४० कटेपछि महिलाहरुले फिल्म दुनियाँबाट हात धुनुपर्ने हुन्छ । तर, भारतीय पुरुष कहिल्यै बुढो हुँदैनन् । जो ५० कटेपछि झनै चम्किरहेका छन् ।’ हुन पनि ५३ वर्षका सलमान खान र आमिर खानको सबैभन्दा धेरै माग छ बलिउडमा । ७६ वर्षीय अमिताभ बच्चनको पनि उस्तै डिमाण्ड छ ।
महेश भट्टजस्ता बलिउडका माहिर निर्माता तथा निर्देशककी छोरी पुजा आफै पनि कुसल निर्देशक हुन् । चालिसको दशकमा बलिउडमा चम्किएकी यी अभिनेत्रीले आफ्नो फिल्म अभिनयमा कम्ब्याकबारे भनिन्, ‘मैले अभिनयलाई बाई बाई नै गरिसकेकी हुँ । तर, फेरि एकपटक अभिनय गर्दैछु ।’ उनले फिल्ममा महिलाहरुलाई जवानमै आमाको भूमिका दिने गरेको पनि बताइन् । पुजाले भनिन्, ‘यहाँ महिलालाई जवानमै आमाको रोल दिइन्छ । त्यो मलाई पनि दिइएको छ । मैले फिल्म ‘जख्म’मा अजय देवगनको आमाको भूमिका गरेकी छु । त्यो रोल गर्नु मलाई डिमाण्ड थियो ।’
पुजाले अभिनयलाई बाई बाई गरेपछि आफू आर्किटेक्ट या ऐस्ट्रोनोट बन्न चाहेको सुनाउँदै भनिन्, ‘तर, त्यसपछि आमा बनेँ र त्यो सब इतिहास बन्यो ।’ फिल्म ‘सडक–२’मा पुजा भट्ट र संजय दत्त एक अधवैंशे जोडीका रुपमा देखिने भएका छन् । फिल्ममा उनकी कान्छी बहिनी अभिनेत्री आलिया भट्ट र आदित्य राय कपूर यङ कपलमा रुपमा देखिनेछन् । जसलाई उनकै बाबु महेश भट्टले निर्देश्न गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्