Logo
Logo
साहित्य

श्याम रिमालका पाँच कविता



महान् सेठप्रति

तपाईँका पेटमा भएको दाँत
प्रष्ट नै देखिएको छ टाढैबाट
किन धृतराष्ट्र झैँ आलिङ्गन गर्न चाहनुहुन्छ भीमलाई ?

अनुहारमा देखिएको छ कुटिल मुस्कान
अनि बगलीमा टुप्पो टुप्पो देखिन्छ एउटा छुरा पनि
सँगै यात्रा गरौँ त भन्नुहुन्छ
आफू पछाडि उभिएर पिँठ्युमा उही छुरा धस्नुहुन्छ

भोजमा डाक्नुहुन्छ,
अनि चोक्टाचोक्टा आफूलाई छुट्याएर
निम्तालुलाई छाला र झोल मात्र पस्कनुहुन्छ

तपाईँ आफ्नो कुण्ठा पोखेर
वातावरण विषाक्त बनाउनुहुन्छ
र भन्नुहुन्छ, प्रष्टवक्ता सुखी भवेत्

तपाईँको आँखामा बलिरहेको ज्योति
एउटा क्रोधाग्नि मात्र हो, वरपरकालाई जलाउन हरदम तयार

तपाईँसँग दिनलाई हातै बनाएनछन् भगवानले
र दान थाप्दाथाप्दा
तपाईँ यस सहरको महान् सेंठ बनिसक्नुभएको छ

तपाईँले सोच्नुभएको छ, म त अजम्मरी हुँ
मित्रहरूको नजरबाट भने तपाईँ
उहिल्यै क्षणक्षण मरिरहनुभएको छ ।

२०७६ साउन ३२

०००

व्यापार राजनीति

तपाईँका नाकबाट चुहिरहेका छन् पापहरू
आँखाबाट क्रोध
कानबाट दुर्गन्ध
र मुखबाट घृणा

अनि तपाईँको मूल्य तपाईँले तोक्ने हो कि क्रेताले ?
तपाईँलाई देख्ने तपाँकाे आँखाले हो वा द्रष्टाले ??
तपाइँलाई चिन्ने तपाईँको ऐनाले हो वा आफन्तले ???

निधारमा जमिरहेको तपाईँको पीप तेस्रो आँखा ढाकेर बसेको छ
गालामा उम्रेको काँडाले मान्छेको दृष्टि घोचेको छ
र चिउँडाको खोबिल्टामा लुकेर बसिरहेको छ कुण्ठाका किरा

तपाइँका कञ्चटबाट चुहिरहेको पानी
राष्ट्रको पसिना हो
तपाईँ मान्छेका आँसु र रगत त्यसमा घोलेर
एउटा गोली बनाउनुहुन्छ र
त्यही औषधि बेचेर मालामाल बन्नुहुन्छ
तपाईँका व्यापारसँग
यहाँका नामी सेंठहरूको केही पनि चल्दैन ।

२०७६ भदौ २४ बिपी जन्मजयन्ती

०००

चौथो लहर

पहिलो लहर, दोस्रो लहर, तेस्रो लहरपछि
चौथो लहर–आयो वा आएन, थाहै भएन
गाउँ, बस्ती, सहरमा
सरकारमा। राज्यमा
चण्डाल चौकडीहरूको बिगबिगी थियो
संविधानमाराहरूको चकाचौंध थियो
देश खानेहरूको चुलबुल हेरिनसक्नु थियो
देखिएन, देखा परेन– चौथो अङ्ग पनि बेपत्ता थियो
रामशाहपथ, सिंहदरबार, बिआइसिसी–
यिनलाई कुन परचक्रीले चलाए, चलाए
धमिरा, धुलाले खाएको ढड्डा टेबलमा पल्टाएर
इन्डस्ट्री ४.० कुर्सीमा निदाइरहेको थियो
चौथो आयाम पनि खुद सुस्त रफ्तारमा थियो
क्वाड तेस्रो विश्वयुद्धको निहुँ खोजिरहेको थियो
संसद्मा एक चौथाइहरू
अविश्वास प्रस्तावको तयारीमा थिए
विद्वान्हरू एक एक क्वार्टर पिएर
संविधान संशोधनको दस्तावेज कोर्दै थिए
अक्सिजन, सिलिन्डर क्वारेन्टाइन, बेड, हस्पिटल
केही बाँकी थिएन
देश निसास्सिएको थियो
शासक दलहरूलाई फुटाउन
अध्यादेश ल्याउँदै थियो
शासकहरूको झालेमाले चालामाला देखेर
जनता चारचित खाँदै थिए
आफ्नै रगत चुस्नेहरू चुन्नुपर्ने
चुनाव, चुनाव र चुनाव सकिएकै थिएन
न चिकित्सक न राज्य,
न प्रतिरोध क्षमता गुमाएका जनताले देखे नयाँ लहर

जनता, सरकार, राज्य
सब निदाइरहेका थिए
शासन अर्कैले गर्दै थियो

पहिलो लहर, दोस्रो लहर,
तेस्रो लहरसम्म आएको सम्झना छ
साँच्चै,
चौथो लहर आयो कि आएन हँ ?

२०७९ फागुन १४

०००

नाङ्गो बादशाह
यहाँका नयाँ–पुराना दरबारहरू सब तिम्रा हुन्
पुरातात्त्विक श्रीपेच पनि तिम्र्रै
लौ, तिम्रा बर्दीधारीले
हाम्रा बाटाहरू पनि कब्जा पो गरिसके छन्
जसका किनारामा घन्टौँ उभिएर
हामी भाग्यमानीहरू
तिम्रो नयाँ स्वरूप दर्शन गर्न लालायित छौँ

हाम्रा सन्तानहरूलाई त
हामी कसैगरी रोक्न सक्दैनौँ
च्व, च्व,
ती मुखालेहरूले उहिल्यै पढ्न भ्याई पो सकेछन्–
हाहा, हाम्रा राजा त नाङ्गै पो छन् ।

२०७९ फागुन २८

०००

हामी राउटे यस युगको

जङ्गलमा पनि दसैँ आउँछ
वनमा घुम्ने– फिर्ने,
जङ्गलमै रमाउने
हामीलाई पनि दसैँ आउँछ

दसैँ आएपछि
हामीलाई पनि मासु खानुपर्छ
हामी बोकाबाख्रा,
भेंडाच्याङ्ग्रा, राँगो केही पाल्दैनौँ
हामी हिँडिरहने जात–
एउटा पोखरी समाएर माछा पाल्न सक्दैनौँ
अचेल बाँदर, गुना त्यति पाइँदैनन्
फलफूल–कन्दमूल सिलो खोज्नुपर्छ
जङ्गलीहरूले जङ्गल नै मासिदिए
र हाम्रा उठिबास गरिदिए

कोसी, मधुस बनाउने काठ छैनन्
के बनाउने, के बेच्ने ?
केही कोसेली ल्यायाका छौ कि
खसी र चामल ल्यायाका छौ कि
हाम्रा कुलदेवतालाई हामीले पनि त बलि दिनुपर्छ
नभए देउता रिसाउला, सिकार बिगार्लान्
छ भने हामीलाई अलिकति पैसा देऊ–पाप लाग्दैन
रक्सी देऊ, सुर्ती–चुरोट देऊ,
मोल्न देऊ, मात्न देऊ,
घरपरिवार बिर्सन देऊ

हामी पनि फूल हौँ यस बारीको
फुल्न देऊ, फल्न देऊ
तिमीहरू सहर –बजारमै बस
हामीलाई वन देऊ,
एक राज्य देऊ, प्रदेश देऊ

खुकुरीलाई दाप र बिँड हाम दिन्छौँ तिमीलाई
शत्रुसित भिड्न हामी पनि एक हतियार देऊ

हामी फिरन्ते यस युगको
एक सभ्यता हामी पनि दिन्छौँ यस देशलाई
हिँड्न, फिर्न त देऊ
एक जङ्गल देऊ
एक मङ्गल देऊ ।

२०८० असोज ८

प्रतिक्रिया दिनुहोस्