Logo
Logo

सीआइबीको जालमा को– को पर्दै ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ । बालुवाटार जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले समेत मुद्दा दायरको तयारी गरेको छ । अख्तियारले छुटाएका केही व्यक्तिमाथि समेत मुद्दा चलाउने सीआइबीको तयारी छ । जसकारण सीआइबीलाई समेत प्रभावित पार्न केहीले चलखेल थालेका छन् ।

ब्यूरोले दुई साताअघि सरकारलाई प्रतिवेदन बुझाउँदै ठगी र कीर्ते मुद्दा चलाउन सिफारिस गरेको थियो । ठगीका लागि गृह मन्त्रालयको जाहेरीको पर्खाइमा सीआइबी छ । स्रोतका अनुसार गृहले किटानी जाहेरी दिनुपर्ने भएकाले को–कोविरुद्ध किटानी जाहेरी दिने भन्नेले ढिलाइ भइरहेको छ ।

ललिता निवास जग्गा प्रकरणमा गुठीको कुत बुझाएको नक्कली रसिद बनाएर त्यसैलाई आधार बनाएर नक्कली मोहीलाई जग्गा दिइएको छ । अन्य धेरै कागजपत्र कीर्ते गरेर माथिल्लो निकायलाई भ्रममा पारिएको सीआइबीको निष्कर्ष छ । ठगी मुद्दामा समेत कारबाही गर्न सकिने भएपनि त्यसका लागि सरकारले जाहेरी दिनुपर्ने हुन्छ । अख्तियारले मुद्दा दायर गरेपछि आफूहरुलाई थप सहज भएको आयोगका अधिकारीहरु बताउँछन् । मुद्दा दायरका लागि आवश्यक सबै प्रमाणहरु जुटिसकेको आयोगले जनाएको छ । सीआइबीको अनुसन्धानमा भने राजनीतिक नेतृत्वको संलग्नता भेटिएको छैन ।

तर, अख्तियारले छाडेका पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, पूर्वसिडिओ गेहनाथ भण्डारी, समरजंग कम्पनीका कर्मचारी विनोद पौडेलविरुद्ध मुद्दा चल्ने निश्चित भइसकेको छ । पूर्वमुख्यसचिव तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलमाथि समेत मुद्दा चल्ने सम्भावना छ । मालपोतका थप केही कर्मचारीहरुविरुद्ध समेत मुद्दा चल्ने छ । सीआइबीले केहीलाई पक्राउ नै गरेर मुद्दा चलाउन लागेको स्रोतले दृष्टिलाई बताएको छ ।

प्रतिक्रिया दिनुहोस्