Logo
Logo

चिनियाँ शहर वुहानबाट १४७ कोरियालीको उद्धार, ६ जनामा संक्रमणको लक्षण


- दृष्टि न्युज/संवाददाता


सियोल, २९ माघ (एजेन्सी) । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर वुहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । उनीहरुलाई बुधबार सियोल ल्याइएको हो । उनीहरुमध्ये ६ जनामा कोरोना भाइरसको लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
उद्धार गरिएका व्यक्तिहरु चढेको चार्टर्ड बिमान बिहान ६ बजे पश्चिमी सियोलको गिम्पो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । कोरोना भाइरसको लक्षण देखिएका यात्रुलाई थप मेडिकल जाँच र उपचारका लागि नजिकको अस्पतालमा पठाइएको जनाइएको छ । अन्य यात्रुलाई सियोलको बाहिरी इलाकामा बनाइएको अस्थायी शिविरमा राखिएको छ ।
दक्षिण कोरियामा एक दर्जनभन्दा बढीमा कोरोना भाइरस देखिएको पुष्टि भइसकेको छ । चीनको उहानमा घातक कोरोना भाइरसका कारण मानिसहरु बिरामी हुनेक्रम जारी रहेपछि १५ दिनभित्रै दुई उडानबाट ७०१ जनाको उद्धार गरिएको छ ।
तेस्रो उडानका यात्रुमध्ये करिब ६० जना चिनियाँ नागरिक छन् । उनीहरु दक्षिण कोरियाली परिवारका सदस्य रहेको र उनीहरुलाई चिनियाँ अधिकारीहरूको स्वीकृति लिएर उडानमा समावेश गरिएको जनाइएको छ । सियोलले पछिल्लो उडानमा ७० जना चिनियाँसहित १७० जनालाई कोरिया ल्याउने योजना बनाएको थियो । तर, सबै व्यक्ति बिमानमा किन आएनन् भन्ने अन्यौल रहेको बताइएको छ ।
उद्धार गरिएकाहरुलाई सियोलबाट करिब ८० किलोमिटर टाढाको इन्चोनमा १४ दिनसम्म अस्थायी शिविरमा राखिने अधिकारीहरुले बताएका छन् । अझै पनि वुहानमा करिब १ सय जना दक्षिण कोरियालीहरू रहेको अनुमान गरिएको छ । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय बढी पुगेको भने ४४ हजारमा संक्रमण देखिएको समाचारहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्