Logo
Logo

रौतहटमा एसपीकै सामु तस्करी



काठमाडौं । रौतहटको विभिन्न सीमावर्ती नाकाबाट सशस्त्र प्रहरीकै अगाडिबाट तस्करी हुन थालेको चर्चा चलिरहेका बेला पनि प्रहरीका घुमुवा र चौकी इन्चार्जले तस्करीको लाइन खोलिदिएका छन् । भारत र नेपालको खुला सीमानाकाको फाइदा उठाउँदै विभिन्न चोर नाकाबाट तस्करी भइरहँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवैको मिलेमतोमा लाइन खोलिदिएका हुन् ।

पछिल्लो समय जिल्लाको विभिन्न सीमानाकाको चोरबाटो हुँदै गाईगोरु, लत्ताकपडा, कस्मेटिक आइटम, चिनी, तेल, मल, हार्डवेयर, केराउ, सुपारी, चामलसहित विभिन्न सामग्रीको तस्करी गरी बिनाभन्सार नेपाल–भारत वारपार गर्न थालेका छन् ।

स्रोतका अनुसार लक्ष्मीपुर बेलबिछवा, महादेवपट्टि, टिकुलिया बाँध, लालबकैया बगर, बन्जरहा, औरैया, मठिया, डुमरिया परोहा, राजपुर, बन्कुल र नरकटिया भएर तस्करहरुले विभिन्न सामग्रीको तस्करी गरी भारतबाट नेपाल र नेपालबाट भारत लैजाने कामलाई बढावा दिएको हो । प्रमुख जिल्ला अधिकारीलाई गुमराहमा राखेर दुवै प्रहरी प्रमुखहरूले चौकी इन्चार्ज र बिओपीलाई परिचालन गरी लाइन खुलाइदिएका हुन् ।

मासिक लाखौँ अवैध रकम लिई सिभिल टोलीले लाइन दिएको खबर केही दिन अगाडि एक सञ्चार माध्यममा आएको थियो । तस्करी कार्यले सरकारको ढुकुटीमा जाने राजस्व संकलन कार्यमा प्रभाव परेको छ भने अर्कोतिर सुरक्षा निकायको प्रमुखको भूमिकामाथि प्रश्नचिह्न उठ्न थालेको छ । सशस्त्र प्रहरीका रौतहट प्रमुख माधव रेग्मीले सशस्त्रका आइजिपीको समेत नाम भजाइरहेका छन् । यद्यपि सशस्त्र प्रहरीका आइजिपी राजु अर्यालले यस्तो वियषमा कोही कसैलाई साथ नदिने भए पनि उनले आइजिपीकै नाम भजाएर बिओपीबाट आर्थिक अपचलन गरेको स्रोतको दाबी छ ।

अहिले एसपी रेग्मीले सानोतिनो व्यापारीले दिउँसै मालसामान ओसारपसार गर्न छुट दिएका छन् भने साँझ ठूला व्यापारीहरुलाई भारतबाट रातारात लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स सामान, तेल, चिनीलगायतका मालसामान ओसार्न साथ दिएका छन् । भारतीय बजारको विभिन्न सामग्री बिनाभन्सार रौतहट चन्द्रपुर, कटहरिया, गरुडा र बाराको निजगढसम्म पुग्ने गरेको नाम नबताउने शर्तमा एक व्यापारीले बताएका छन् ।

चोर नाकाबाटमात्रै होइन, एउटै प्रज्ञापनपत्र देखाएर दुई–तीन चोटी मालसामान छिराउने कार्य गौर भन्सार नाकाबाट भइरहेको स्रोतले जनाएको छ । ‘पहिला पोकापोकी तस्करी हुन्थ्यो, अहिले पिकअप र ठूल्ठुला सवारीसाधनको प्रयोगले तस्करी कार्यलाई रौतहटको नाम चलेका तस्करले बढावा दिएका छन्, त्यसमा नेपाल प्रहरी र सशस्त्रको साथ रहेको छ’, स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्