Logo
Logo

सशस्त्रमा एआइजी गौतमको मनोमानी



काठमाडौं । सशस्त्र प्रहरीमा प्रशासन विभाग प्रमुख एआइजी चन्द्रप्रकाश गौतमको मनोमानी बढेको छ । केही दिनअघि नियतवश उनले तराईका झण्डै एक दर्जन कमान्डरको बिनाकसुर कमान्ड खोस्ने काम गरेका छन् ।

तराईका केही जिल्लामा तस्करी गराएको आरोपमा ती कमान्डर परिवर्तन गरिए पनि त्यसको ठोस आधार र पुष्टि गर्ने प्रमाण नभएका कारण एआइजीले आफूहरुको मानमर्दन र बेइज्जती गरेको कमण्डरहरुले आइजीपीनिकट रहेका अधिकृतहरुलाई गुनासो गरेका छन् ।

कमान्ड तानिएका अधिकृतहरुलाई कारबाही नै गर्न गौतमले छिन्नमस्ता बाहिनीका बाहिनीपति डिआइजी दीपेन्द्र शाहलाई निर्देशन दिए पनि के कसुरमा कारबाही गर्ने भन्नेमा एआइजी गौतम आफैँ स्पष्ट छैनन् । उनले अनुगमनका नाममा केही दिनअघि मात्र आफू गुल्मपति हुँदा तस्करी गराएर बदनाम भएका एसपी भानुभक्त लम्सालसहितको टोली तराईमा परिचालन गरेका थिए । उनै लम्साल टोलीले दिएको गलत रिपोर्टको सिकार अहिले केही अधिकृत भएका छन् ।

एसपी लम्सालले केही वर्षअघि पूर्वी नवलपरासीको गुल्मपती हुँदा तस्करीको सामान काठमाडौँ पठाउँदा थानकोटमा पक्राउ परेको थियो । त्यो गाडी र ड्राइभर द्रोण केसी पक्राउ परे । केसीले गुल्मबाट ल्याएको कपडा भएको जानकारी गराए । तर अहिले लम्साल होइन, केसी तस्करीको मुद्दा खेपेर हिँडेका छन् ।

उनको गाडीसमेत जफत हुँदा आफू आत्महत्या गर्ने अवस्थामा पुगेको भन्दै केसीले एसपी लम्साल तस्करीमा दोषी रहेको बताउँदै आएका छन् । तर लम्साल यो मुद्दामा जोगिँदै आएका छन् । तिनै भ्रष्ट लम्सालले विगतमा एआइजी गौतम मधेस प्रदेशमा हुँदा परिचालन गरेका घुमुवासमेतको सहयोगमा गलत रिपोर्टिङ गरेका हुन् ।

त्यतिमात्र होइन, अहिले सचिवालयको अनुगमन शाखामा कार्यरत डिएसपी सुदीप रेग्मी र इन्सपेक्टर हरिसिंह विष्टको बदमासीका कारण पनि यो समस्या आएको बताइन्छ । रौतहटका एसपी माधव रेग्मीका भाइ सुदीपले आफ्नो दाइले गरेको तस्करीबारे कहीँकतै रिपोर्टिङ नै गर्दैनन् । रौतहटका एसपी माधव रेग्मी र बाराका एसपी टोपबहादुर डाँगीले घुमुवा परिचालन गरेर असुली धन्दा गरेको भन्दै पटक–पटक हलचोकमा उजुरी परे पनि कतै रिपोर्ट नै गरेका छैनन् । यसबाहेक कसलाई कहाँ सरुवा गर्ने वा काज खटाउने भन्ने सबै अधिकार अहिले प्रसाशन विभाग होइन डिएसपी सुदीप रेग्मीको हातमा हुने गरेको छ । जसका कारण उनले आफूलाई मन नपरेका कर्मचारीलाई छानीछानी दुःख दिने गरेको आरोप छ ।

उनीसँगै काम गर्ने इन्सपेक्टर हरिसिहं विष्ट विगतमा तराई बसेर बद्नामी कमाएका व्यक्ति हुन् । उनले नै केही घुमुवामार्फत गलत प्रतिवेदन दिएर कमान्डर फिर्ता बोलाउन लगाएको समेत स्रोतको दाबी छ । त्यसो त एआइजी सिपी गौतमको विगत पनि राम्रो छैन । उनलाई एसपी हुँदा सर्लाहीमा व्यापक तस्करी गराएको आरोप छ । सर्लाहीको गणपति हुँदा उनले दर्जन बढी घुमुवा परिचालन गरेका थिए । देवचन्द्र यादव नाम गरेका असइले सर्लाहीको चर्चित नाका त्रिभुवननगर र संग्रामपुर नाकाबाट करोडौं उठाएर गौतमलाई बुझाएको आरोप छ ।

यस्तै वरिष्ठ हबल्दार रामनारायण साह र अर्का एक वरिष्ठ हबल्दार, सहायक हबल्दार यादव विष्टसहित दर्जन बढी घुमुवा परिचालित थिए । त्यतिमात्र होइन, २०६६ सालमा राष्ट्रिय सुरक्षा योजना लागू हुँदा सर्लाहीमा बेस र बिओपी स्थापना गर्न आएको करोडौं बजेट गौतमले हिनामिना गरेको स्रोतको दाबी छ । ‘कुनै पनि बेस बिओपीमा बजेट गएन सबै उनले राखे’, स्रोतले भन्यो ।

यसका साथै दन्तकाली गण र त्रिपूरा गण बाँके बस्दासमेत तस्करी गराएर गौतमले अकूत कमाएको स्रोतको दाबी छ । तिनै एआइजी अहिले आफू निकै सफा भएको दाबी गर्ने गरेको स्रोतले बतायो । उनले अहिले पठाएका कमान्डर देखेर मुख्यालयमा चर्चाको विषय बन्ने गरेको छ । महोत्तरीको बिओपी पठाइएका डिएसपी महेश खरेल सशस्त्रको इतिहासमै पहिलोपटक बिओपी कमान्ड दोहो¥याएर विकृति ल्याउनेमध्येका एक हुन् ।

कोषराज वन्त आइजिपी हुँदा उनले धनुषाको खजुरी बिओपी डबल कमान्ड अर्थात् २४ महिना गरेका थिए । अहिले एआइजी गौतले बिनाकसुर र प्रमाण कमान्ड फिर्ता गराउँदा तराईमा कमान्ड जाने कि नजाने भन्नेमा कर्मचारीबीच आतंक बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्