Logo
Logo

‘कोरोना भाइरस’बाट मृत्यु हुने १३०० नाघ्यो, हुबेइमा एकै दिन २४२ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


FILES- चीनको फुजियान प्रान्तमा मास्क बनाउँदै कर्मचारी । यो पूर्वी चीनमा रहेको एक कम्पनी हो । यो कम्पनीले नयाँ वर्ष मनाउन सबै कर्मचारलाई छुट्टी दिएको थियो । तर, जब भाइरसको महामारीविरूद्ध लड्न चीनलाई ठूलो मात्रामा मास्कको आवश्यकता छ भन्ने बुझेपछि दुई दिनयता कारखाना खुलेको छ । र काम सुरु गरेको छ । तस्बिर : एजेन्सी

बेइजिङ, १ फागुन (एएफपी) । कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहनमा एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो ।
हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको संक्रमण शुरु भएको बताइएको थियो । यस भाइरसबाट हुने संक्रमणलाई हालैमात्र वैज्ञानिकहरुले ‘कोभिड–१९’ नाम दिएका छन् । प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको बताइएको छ । पछिल्ला केही दिनमा नयाँ संक्रमण भएका मानिसको संख्यामा ठूलो मात्रामा बृद्धि भएको बताइएको छ ।
वुहानमा मात्र थप १४ हजार ८४० जनामा यस भाइरसको संक्रमण भएको पुष्टि भएको पछिल्लो समाचारमा जनाइएको छ । बुधबार भएको यस मृत्युसँगै मृतकहरूको कुल संख्या बुधबारसम्म १ हजार ३५० पुगेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो समयमा निको भएर फर्किएका बाहेक हाल संक्रमण भइ उपचार गराइरहेका विरामीको संख्या झन्डै ६० हजार पुगेको छ । यस संक्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।
उक्त पार्टीले त्यस स्थानमा चीनको सांघाइका पार्टी प्रमुखलाई पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिनअघिमात्र पनि सरकारले स्वास्थ्य सेवाबाट केही अधिकारीहरूलाई पदमुक्त गरेको जनाइएको थियो ।
स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल चीनमा संक्रमित भएका विरामीहरुमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ । यस संक्तमणबाट वुहानमा ज्यान गुमाएका २४२ जनामध्ये १३५ मा त्यसरी नै रोगको पुष्टि गरिएको थियो । हालसम्म यस प्रान्तमा मात्र संक्रमण भएका व्यक्तिको संख्या ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
विश्व स्वास्थ्य संगठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्