
देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपोन्मुख कुसुन्डा जातिको भाषा तथा संस्कृतिको संरक्षण, उजागर एवं विकासमा सबैले हालेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।
अनुसन्धानकर्ता उदयराज आलेद्वारा तयार गरिएको वृत चित्रको आज बिमोचन गर्दै सरकारका प्रवक्ता एवं मन्त्री शर्माले कुसुन्डा भाषाको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैको हातेमालाबाट संरक्षणमा बल पुग्ने विश्वास व्यक्त गरे ।
सञ्चारमन्त्री शर्माले लोप हुन लागेका भाषा संरक्षण गरेर पछिल्लो पुस्तामा हस्तान्तरण गर्न सहयोग गरेको भन्दै अनुसन्धानकर्ता उदय आलेलाई धन्यवाद दिए । ‘भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पुरानो पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गरेमात्र यो जीवित रहन्छ,’ उनले भने ।
लोपोन्मुख कुसुन्डा भाषा संरक्षणका लागि केन्द्र, प्रदेश र स्थानीय तहले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री शर्माले कुसुन्डा भाषाको पूर्ण वक्ता ज्ञानीमायाको मृत्युपश्चात् अर्का पूर्ण वक्ता कमला सेन खत्रीले भाषालाई बचाइराखेको कारणले गर्दा भाषा जीवित रहेको र यो भाषालाई संरक्षण गर्न पछिल्लो पुस्ता तयार भएको देख्दा खुसी लागेको बताए ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले लोप हुन लागेको भाषा संरक्षणमा लागेकामा खुसी व्यक्त गरे । उनले लोप हुन लागेका भाषासंस्कृति संरक्षणका लागि स्थानीय तहले सहयोग प्रतिबद्धता व्यक्त गरे ।














