काठमाडौं । बिहीबार काठमाडौँमा दुई समूहको शक्ति प्रदर्शन थियो । एउटा सिंगो एमाले र अर्को एक व्यक्ति दुर्गा प्रसाईं । सिंगो पार्टी र एक व्यक्तिको प्रदर्शनको सन्दर्भ यति बेला तातो बहसकै रूपमा रहेको छ ।
सिंगो एमालेले तीनकुने चौरमा शक्ति प्रदर्शन गरेको थियो भने प्रसाईँको समूहले बल्खुको सडकमा प्रदर्शन गर्यो । एमालेको प्रदर्शन शान्तिपूर्ण रह्यो भने प्रसाईँको प्रदर्शन शान्त हुन सकेन । प्रहरीले केही थान अश्रुग्याँस प्रहार गर्यो । केही घाइते भए ।
दुई समूहले प्रदर्शन गर्नुको आ–आफ्नै दाबी छ । एमालेले सरकारविरुद्ध र व्यवस्था रक्षाका लागि प्रदर्शन गरेको भनेको छ भने प्रसाईं समूहले राजतन्त्र स्थापना र ऋण मोचनको मुद्दा अघि सारेको थियो ।
प्रसाईं समूहको आन्दोलनको एजेण्डा पूर्वघोषित नै थियो भने एमालेको मुद्दा भने पछि मात्र तय भएको हो । बाहिर व्यवस्था रक्षाका लागि भने पनि एमालेले प्रसाईँको काउन्टरमा प्रदर्शन गरेको हो ।
एमालेले काउन्टर प्रदर्शन गर्नुको पनि कारण छ । केही समय अगाडि एमालेको युवा संगठन राष्ट्रिय युवा संघले प्रसाईँलाई मोसो दलेको थियो । त्यसपछि प्रसाईं एमालेका हरेक नेताहरूको विरुद्धमा उत्रेका थिए । त्यसपछि युवा संघले प्रसाईँको काउन्टरमा प्रदर्शन गरेको हो ।
यो त थियो, दुई समूहको शक्ति प्रदर्शनको कुरा । दुई समूहको प्रदर्शनलाई धेरैले नजिकबाट नियालिरहेका थिए । दुवै समूहले लाखौँ जनता उतार्ने घोषणा गरेका थिए । त्यस कारण कुन समूहको प्रदर्शनमा कति जनता सहभागी होलान् ? भन्ने सबैको चासो थियो ।
दुई समूहको प्रदर्शनपछि प्रदर्शनमा सहभागी संख्याको विषयमा विभिन्न खाले अनुमानहरू भइरहेका छन् । दुवै समूहका पक्षधरले आफ्नो संख्या धेरै रहेको दाबी गरिरहेका छन् । जसले जसरी दाबी गरे पनि यस्तो कार्यक्रमको संख्या कसैले यकिन गर्न सक्दैन । तर, अनुमान भने लगाउने गरिन्छ ।
आम मानिसमा कसको प्रदर्शनमा कति सहभागी थिए ? भन्ने प्रश्न यथावत रहेको बेला एक खुफिया एजेन्सीको रिपोर्ट प्राप्त भएको छ । जुन, रिपोर्ट अनुसार एमालेको प्रदर्शनभन्दा प्रसाईं समूहको प्रदर्शनमा दोब्बर भन्दा धेरै नागरिक सहभागी भएका थिए ।
दृष्टिलाई प्राप्त रिपोर्ट अनुसार सिंगो एमालेको प्रदर्शनमा ३ देखि ४ हजार सहभागी थिए भने प्रसाईं समूहको प्रदर्शनमा ८ देखि १० हजार थिए । यो रिपोर्टले एमालेको भन्दा प्रसाईँको प्रदर्शनमा दोब्बर सहभागी रहेको देखाएको छ ।
प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले एक कार्यक्रम गरेको थियो । जुन कार्यक्रममा इन्चार्ज महेश बस्नेतले एक लाखभन्दा धेरै युवा–विद्यार्थी सहभागी हुने दाबी गरेका थिए । त्यति मात्र नभएर प्रचण्ड पहिलो पटक सार्वजनिक हुँदा सहभागी जनताको रेकर्ड तोड्ने दाबी गरेका थिए ।
बस्नेतले एक लाख भन्दा धेरैको संख्याले प्रदर्शन गर्ने दाबी गरे पनि एमालेको प्रदर्शनमा मुस्किलले २–३ हजारको हाराहारीमा नेता कार्यकर्ता देखिएका थिए । त्यसै गरी, प्रसाईँले सार्वजनिक रूपमै चार लाख मानिस उतार्ने भन्दै आएका थिए । उनको प्रदर्शनमा पनि मुस्किलले ४–५ हजार मानिस देखिएकाे अधिकांशकाे अनुमान छ ।