Logo
Logo

आइजीपीको निर्णय डिआइजीले लत्याए


51.2k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले वर्षौँदेखि काजमा बसेर घुमुवाको रुपमा संलग्न प्रहरी कर्मचारीलाई २४ घण्टे पूर्जी काटेपनि कोशी प्रदेश कार्यालयका डिआइजीले लत्याएका छन् । आइजीपी बसन्तबहादुर कुवँरको विशेष चासोमा जारी भएको सो परिपत्रका विपरीत कोशी प्रदेशका डीआईजी राजेशनाथ बाँस्तोलाले सो परिपत्रलाई लत्याएका हुुन् ।

मंसिर ५ गते ६० जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुको प्रदेश मातहत चलाखीपूर्वक सरुवा गरेर काजमा बस्नेहरूको दरबन्दी मिलान गरेर आइजीपीलाई चुनौती दिएका हुुन् ।

जसमा अधिकांश उनी र जिल्ला एसपीका घुमुवाका रुपमा कार्यरत छन् । यसलाई लिएर प्रहरीभित्र आइजीपीको निर्देशन डिआइजीले उल्लंघन गरेको चर्चा चलेको छ ।

साथै, डिआइजीले आफ्ना घुमुवाहरूलाई जोगाउनका लागि दरवन्दी बनाएको स्रोतको दावी छ । तोकिएको दरबन्दीमा पदस्थापन वा सरुवा भएका प्रहरी कर्मचारीहरू प्रहरी प्रधान कार्यालयले पटक पटक ताकेता गर्दा पनि मातहतका प्रहरी कार्यालयहरूले रवाना गर्नेतर्फ कुनै चासो नदेखाएको पाइएकोले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै गत मंसिर ४ गते कडा परिपत्र जारी गरेको थियो ।

जिल्ला एसपी वा प्रदेश डिआइजीको रुचिमा एक ठाउँमा दरबन्दी भए पनि आकर्षक ठाउँमा काजमा बसेर घुमुवाको रुपमा खटाउने प्रचलन कायम थियो । तर, अब त्यसरी आफ्नो तोकिएको दरबन्दीमा २४ घण्टाभित्र प्रसूति र क्रिया बिदाबाहेक अरू बिदा नदिई रवाना गर्न आदेश गरिएकोमा डिआइजी बाँस्तोलाले लत्याएका हुुन् ।

त्यसरी रवाना गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई विभागीय आदेश निर्देशनको विपरीत कार्य गरेको आधार मानी प्रहरी नियमावली बमोजिम कारबाही हुने व्यहोरा निर्देशानुसार अनुरोधसमेत गरिएको भन्दै तत्कालै रवाना लिन निर्देशन दिएको थियो । करिब ३ हजार भन्दा बढी प्रहरीहरू सोर्स र शक्तिकेन्द्रको आडमा विभिन्न स्थानमा काजमा बसेका छन् ।

कोशी प्रदेशका डीआईजी बाँस्तोलाले हेडक्वार्टरको आदेश छल्न हतार हतार गत मंसिर ५ गते ६० जना वरिष्ठ सई, लगत्तै ०६ गते ७७ जना सई, ७ गते ४४८ जना असई र ८ गते २२४३ जना प्रहरी जवानहरुको सरुवा गरेर घुमुवा बचाएका छन् ।

उनले प्रदेश कार्यालयबाट मोरङ, सुनसरी, झापा जस्ता जिल्लामा सरुवा गरिदिएका छन् । कसैलाई गणबाट जिल्ला, कसैलाई प्रदेश, तालिम केन्द्रबाट जिल्ला र जिल्लाबाट प्रदेश, गण वा तालिम केन्द्रमा सरुवा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले आफ्नो वेभ साइटमा राखेको सरुवा सूचनाबाटै स्पष्ट हुन्छ ।

प्रधान कार्यालयले उनीहरूको ट्रयाक रेकर्ड हेर्ने हो भने १२÷१५ वर्ष तराई मधेशबाट पहाड सरुवा नहुने अथवा भएर पनि काजमा तराई कै जिल्लामा घुमुवा बस्नेहरू को को हुन भन्ने स्पष्ट हुन्छ । कोशी प्रदेशको यो नीतिगत चलाखीपनमा प्रहरी प्रधानकार्यालय मौन रहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय दरबन्दी भई मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका घुमुवाका रुपमा कार्यरत वरिष्ठ सई राजेन्द्र कटवालको उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्डको रुपमा सरुवा गरिएको छ ।

उनले मोरङका सीमा प्रहरी कार्यालय तथा मातहतबाट तस्करहरूसँगको सेटिङमा व्यापक लुट मच्चाएको आरोप छ । त्यस्तै अर्का वरिष्ठ सई श्याम सुवेदीको प्रदेश कार्यालयबाट मोरङ जिल्लामा सरुवा गरिएको छ ।

केही वर्षअघि घुमुवाकै रुपमा कार्यरत सुवेदीले प्रदेशको उजुरी शाखामा बसेर जिल्ला, इप्रका तथा सीमा चौकीका घुमुवासँग सेटिङ मिलाउदै आएको स्रोतको दाबी छ । डिआईजी बाँस्तोलाका विश्वासप्राप्त सुवेदीले प्रदेशको घुमुवाको रुपमा पनि काम गर्दै आएको बताइन्छ । दीपककुमार यादवको मोरङ जिल्लाबाट कोशी प्रदेश प्रहरी गण मोरङमै सरुवा भएको छ ।

चन्द्रशेखर शिवाकोटीको मोरङ जिल्लाबाट तालिम केन्द्र मोरङ, मुन्ना डाँगीको मोरङ गणबाट सुनसरी, राजेन्द्र पासवान, असई भक्त विष्ट पनि सुगमबाट सधैं सुगम मै सरुवा गरिएको छ । असई विष्ट हबल्दारदेखि नै झापा, मोरङ र सुनसरीका जिल्लाहरूमा घुमुवा रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्