Logo
Logo

अमेरिकी राजदूतावासको ‘ग्रिन जोन’मा क्षेप्यास्त्र प्रहार


- दृष्टि न्युज/संवाददाता


बग्दाद, ४ फागुन (एजेन्सी) । इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकै आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार उक्त क्षेप्यास्त्रबाट क्षति भए/नभएको जानकारी प्राप्त भइ सकेको छैन ।
उच्च सुरक्षा व्यवस्थासहित धेरैजसो कुटनीतिक नियोगका कार्यालयहरु रहेको ‘ग्रिन जोन’मा क्षेप्यास्त्र प्रहारलगत्तै चेतावनीयुक्त साइरन बजाइएको थियो । स्थानीयको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले क्षेप्यास्त्र प्रहारका कारण धुँवाको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् ।
बिहीबार पनि एक सैनिक अखडालाई लक्षित गरी काट्युसा क्षेप्यास्त्र प्रहार भएको थियो । किर्कुक प्रान्तमा रहेको यस सैनिक अखडामा अमेरिकी सेना रहेका छन् । तर यसबाट कुनै क्षति नभएको बताइएको छ ।
गत डिसेम्बर २०१९ मा के१ सैनिक अखडामा भएको अर्को क्षेप्यास्त्र आक्रमणमा अमेरिकी सैनिकका लागि काम गर्ने एक व्यक्तिको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएका थिए । इराकका विभिन्न स्थानमा रहेका अमेरिकी सैनिक अखडा र ग्रिन जोनमा विद्रोही पक्षले बेलाबखत मोर्टार र क्षेप्यास्त्र प्रहार गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्