Logo
Logo

विवाह दर्तापछि समलिंगी जोडी भन्छन्ः यो न्याय हामीजस्ता सबैलाई हो



काठमाडौं । नेपालमा पहिलोपटक समलिंगीबीचको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका–२ वडा कार्यालयले बुधबार रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डेबीचको विवाह दर्ता गरेर प्रमाणपत्र उपलब्ध गराएको हो ।

सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम पालिकाले उनीहरुको विवाह दर्ता गराएको हो । २७ असोज ०७४ मा धुमधामसँग लगनगाँठो कसेका उनीहरुले विवाह दर्ता भएपछि खुशी व्यक्त गरेका छन् ।

‘ठूलो संघर्षपछि हामी विवाह दर्ता गर्न सफल भएका छौँ । हामीजस्ता सबैलाई विवाह दर्ता गर्ने ढोका खुलेको छ । यो हाम्रो विवाह दर्ताको सवाल मात्रै होइन, हामीजस्ता समलिंगी र तेस्रोलिंगीलाई प्राप्त भएको न्याय हो,’ उनीहरुले भनेका छन् ।

यसअघि समलिंगी विवाह दर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा राय माग गर्दै पिंकी गुरूङ भन्ने संजिव गुरूङसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्च अदालतले १२ असारमै समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्