Logo
Logo

संस्कृतिमन्त्री किरातीले सार्वजनिक गरे भीमको ‘मिन्जिमा ए’ (भिडियोसहित)



काठमाडौं । गायक भीम लिम्बू सेनेहाङको ‘मिन्जिमा ए’ शीर्षकको पालाम सार्वजनिक भएको छ । बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित एक समारोहबीच ‘मिन्जिमा ए’ सार्वजनिक गरिएको हो ।

याक्थुङ युथ एसोसिएशनद्वा आयोजित पालाम सार्वजनिक कार्यक्रममा बोल्दै संस्कृतिमन्त्री किरातीले सबैले आफ्नो कला, संस्कृति र संस्कारको जर्गेना गर्नुपर्ने बताए । सानो छँदा पालाम र हाक्पारे सुनेको स्मरण गर्दै उनले भने, ‘लिम्बू समुदायले गाउने पालाम र ख्यालीको विशेष महत्व छ । पालामसँग लिम्बूहरुको सांस्कृतिक पहिचान जोडिएको छ । पहिचानसँग जोडिएका हरेक कलाको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक छ ।’

डेढ दशकदेखि गायन क्षेत्रमा सक्रिय गायक भीम लिम्बूले पालाम भने पहिलोपटक गाएका हुन् । लिम्बू समुदायको संस्कृति र पहिचान उजागर गर्ने पालाम र धाननाच गाउँघरबाट लोप भइरहेको अवस्थामा कलाकारहरु त्यसको संरक्षणमा लागेका छन् । यससँगै पछिल्लो समय युट्यु्बमा ब्रगेल्ती पालाम र ख्यालीका भिडियो हेर्न र सुन्न सकिन्छ । यसैबेला गायक भीम लिम्बूले ‘मिन्जिमा ए’ अर्थात ‘मायालु’ शीर्षकको पालाम ल्याएका हुन् ।

सार्वजनिक पालाममा गायक भीम लिम्बूकै मेलोडी अर्थात लय रहेको छ भने शब्दरचना सुर्वण नेम्बाङले लेखेका हुन् । भीम लिम्बू र मनु नेम्बाङले स्वर दिएको ‘मिन्जिमा ए’मा एरेञ्ज अशोक लोहरुङ राईको रहेको छ ।

लोकेन साँवा लिम्बूले निर्देशन गरेको उक्त पालामको भिडियोमा रेखा फागो लिम्बू, मुन नाल्बो सुब्बा, रुकमान लिम्बूका अलावा विशाल सेनेहाङ, सैलेन्द्र नाल्बो, कृष्ण सेनेहाङ, नविन सेनेहाङ, खुसी थुलुङ, भीम लिम्बू, दीपा सुहाङ, मनु नेम्बाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

युवराज राईको छायाँकन र अनिल रानाको सम्पादन रहेको यस पालामलाई गायक भीम लिम्बूले आफ्नै अफिरियल युट्युब च्यानल ‘भीम लिम्बू’बाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्