Logo
Logo

केजरीवालबाट के सिक्ने ?


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)


  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

भारतको संघीय राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा भ्रष्टाचारविरुद्धको सामाजिक अभियन्ताबाट राजनीतिमा होमिएका अरबिन्द केजरीवालले तेस्रो पटक विजय हासिल गरेका छन् । आइआईटी इञ्जिनीयर र पूर्वभारतीय राजश्व अधिकारी केजरीवालको आम आदमी पार्टीले तेस्रो पटक भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेको छ ।

दिल्लीको चुनावको स्पष्ट सन्देश के हो भने अब कुनै पनि पार्टीले सिद्धान्तका ठूला ठूला गफ गरेर मात्र जनताले विश्वास गर्ने छैनन् । र जनताले त्यही पार्टीलाई विश्वास गर्नेछन् जुन, पार्टीले आम जनताको दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नेछन् र आम जनताको जीवनलाई सुविधायुक्त बनाउनेछन् । अबको युग भाषणको होइन कामको युग हो भन्ने कुरालाई केजरीवालले पुष्टि गरिदिएका छन् । उनले चुनावमा सपना बाँडेनन् । जनताका आधारभूत आवश्यकता के हो भन्ने कुरालाई ध्यान दिए । गर्न सक्ने मात्र बोले । जुन कुराले जनताको जीवनमा परिवर्तन ल्यायो ।

सन् २०१२ मा नयाँदिल्लीको राजनीतिमा उदाएको आम आदमी पार्टीले सन् २०१३ मा दिल्ली विधानसभाको चुनावमा पहिलोचोटि भाग लिएको थियो । उक्त चुनावमा आम आदमी पार्टीले ७० सिटमध्ये २८ सिटमा विजय हासिल गरेको थियो । भारतीय राष्ट्रिय कंग्रेसको सहयोगमा ४५ वर्षकै उमेरमा केजरीवालले कंग्रेसकी वरिष्ठ नेत्री शीला दीक्षितलाई हराएर दिल्लीको मुख्यमन्त्री भएका थिए । तर जनलोकपाल विधेयक विधानसभाबाट पास गराउनेबारे कंग्रेस सहमत नभएपछि उनान्चास दिन मात्र शासन गरेर सन् २०१४ फरवरीमा उनले राजीनामा दिएका थिए । तर, यसपछि सन् २०१५ मा भएको दिल्ली विधानसभाको चुनावमा कसैले सोच्दै नसोचेको कुरा भयो । अरबिन्द केजरीवालको आम आदमी पार्टीले ७० सिटमध्ये ६७ सिटमा जीत हासिल गरेर सबैलाई आश्चर्यचकित बनाइदियो । त्यसबेला कंग्रेस नेता राहुल गान्धीले आम आदमी पार्टीलाई बधाई दिँदै भनेका थिए– ‘हामीले आम आदमी पार्टीबाट सिक्नु पर्दछ ।’

गत ८ फरवरी सन् २०२० मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले ७० सिटमध्ये ६२ सिटमा विजय हासिल गरी ५१ वर्षीय अरबिन्द केजरीवाल तेस्रोपटक दिल्लीको मुख्यमन्त्री बनेका छन् र भारतको असंगठित र कमजोर विपक्षी भएको बेला आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिनसक्ने एक मात्र नेताको रुपमा उभ्याएका छन् । भनिन्छ, दिल्लीमा जे हुन्छ त्यसलाई सम्पूर्ण भारतले हेरेको हुन्छ । यस चुनावमा केजरीवाललाई पराजित गर्नाको निमित्त भारतीय प्रधानमन्त्री मोदी, उनको क्याबिनेटको ७७ मन्त्री, बिजेपी र एनडीए शासित प्रदेशका मुख्यमन्त्री, बिजेपीका ३०० भन्दा बढी सांसदलगायत सम्पूर्ण शक्ति लगाएको थियो । बिजेपीले यस चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको थियो ।

आखिर केजरीवालले दिल्लीका जनतालाई के त्यस्तो जादू गरे ? जसले गर्दा लाखौँलाख कार्यकर्ता, प्रशस्त साधन स्रोत, इतिहास र सिद्धान्त बोकेका बिजेपी र कंग्रेसलाई उनले धुलो चटाइदिए । पहिलो कुरा त उनी साधारण मान्छेहरुबीच रहेर आफू पनि उनीहरुबीच रहेर उनीहरुको दैनिक जीवनमा आइपर्ने समस्या समाधान गर्नेतिर लागे । जस्तै चौबिसै घण्टा बिजुली, सरकारी स्कुललाई निजी स्कुलभन्दा पनि राम्रो बनाउने योजना, टोलटोलमा क्लिनिकका माध्यमबाट उत्कृष्ट र निःशुल्क स्वास्थ्य सुविधा, महिला र छात्राहरुलाई सार्वजनिक बस र मेट्रोमा निःशुल्क यात्रा, ज्येष्ठ नागरिकको सुविधाको लागि विशेष व्यवस्था, सरसफाइ, २०० युनिटसम्म बिजुली र २० हजार लिटरसम्म मासिक खानेपानी निःशुल्क आदि । विपक्षी पार्टीहरुले केजरीवाललाई दिल्लीका जनतालाई ‘फोकट’को बानी लगाए भन्ने आरोप पनि लगाए । तर उनको सोझो जवाफ थियो ‘मैले जनताबाट लिएको कर जनतालाई नै फिर्ता दिएँ के अपराध गरेँ ?’

यसपालिको चुनावमा पनि आम आदमी पार्टी यिनै विषयलाई समेटेर १० बुँदे ग्यारेण्टी कार्ड लिएर जनतासमक्ष गएको थियो । जसमा निम्न कुराहरु उल्लेख थियो ।

१. २४ सै घण्टा निरन्तर बिजुली र २०० युनिट निःशुल्क बिजुलीका साथै पोलका तारहरुको जञ्जाल समाप्त पारेर अन्डरग्राउण्ड केबुलबाट बिजुली सप्लाई ।

२. हरेक परिवारलाई निःशुल्क २० हजार लिटर पानीका साथै २४ सै घण्टा शुद्ध पानीको व्यवस्था ।

३. दिल्लीका हरेक बालबालिकालाई स्तरीय शिक्षाको व्यवस्था ।

४. आधुनिक अस्पताल र टोल क्लिनिकका माध्यमबाट दिल्लीका हरेक परिवारलाई उपचारको समुचित व्यवस्था ।

५. ११ हजारभन्दा बढी बस र ५०० किमीभन्दा लामो मेट्रोको माध्यमबाट सस्तो यातायात सुविधा । महिला र विद्यार्थीलाई निःशुल्क यात्रा सुविधा ।

६. प्रदूषणमुक्त दिल्ली ।

७. फोहोरमुक्त दिल्ली ।

८. महिलाका लागि सुरक्षित दिल्ली ।

९. मूलभूत सुविधायुक्त आवास क्षेत्र ।

१० घरविहीनलाई घर ।

यस ग्यारेन्टी कार्डमा उल्लेख भएको धेरै कुरा आम आदमी पार्टीले पूरा गरेको र अब पनि पूरा गर्छ भन्ने आशमा दिल्लीका जनताले आम आदमी पार्टीलाई प्रचण्ड बहुमतका साथ दिल्लीमा सत्तारुढ गराएका छन् ।

दिल्लीको चुनावको स्पष्ट सन्देश के हो भने अब कुनै पनि पार्टीले सिद्धान्तका ठूला ठूला गफ गरेर मात्र जनताले विश्वास गर्ने छैनन् । र जनताले त्यही पार्टीलाई विश्वास गर्नेछन् जुन, पार्टीले आम जनताको दैनिक जीवनमा आइपर्ने समस्याको समाधान गर्नेछन् र आम जनताको जीवनलाई सुविधायुक्त बनाउनेछन् । अबको युग भाषणको होइन कामको युग हो भन्ने कुरालाई केजरीवालले पुष्टि गरिदिएका छन् । उनले चुनावमा सपना बाँडेनन् । जनताका आधारभूत आवश्यकता के हो भन्ने कुरालाई ध्यान दिए । गर्न सक्ने मात्र बोले । जुन कुराले जनताको जीवनमा परिवर्तन ल्यायो । नेपालका सबै राजनीतिक दलले पाठ सिकेनन् भने उनीहरुलाई पनि जनताले बिजेपी र कंग्रेसलाई भित्तामा पु¥याएजस्तो पु¥याउन कति पनि बेर लाग्ने छैन ।

Twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्