Logo
Logo

‘दर्शन नमस्ते सायरेम’मा राजेशपायल र सन्ध्याको अनस्क्रिन रोमान्स (भिडियोसहित)



काठमाडौं । लोकप्रिय गायक एवं मेगास्टार राजेशपायल राईको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । गायक राजेशपायलले ‘दर्शन नमस्ते सायरेम’ बोल गीतको भिडियोलाई आज (शुक्रबार) साँझ आफ्नो अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

‘राई इज किङ’का रुपमा चर्चित राजेशपायलका गीतहरु हरेक दिनजसो सार्वजनिक भइरहेको हुन्छ । तर, ‘दर्शन नमस्ते सायरेम’ भने उनको प्रोजेक्ट हो भिडियो हो । यो गीतलाई युट्युबमा अपलोड गरिएको दुई घण्टा नवित्दै पाँच हजारभन्दा बढीले हेरिसकेका छन् । ‘दर्शन नमस्ते’ राजेशपायलको चर्चित स्लोगन पनि हो । सार्वजनिक गीतमा बिर्ख गुरुङको शब्दरचना र निरज लामाको संगीत तथा एरेञ्ज रहेको छ ।

युवराज वाइबाले निर्देशन गरेको यस गीतको भिडियोमा राजेशपायल राई आफैँले अभिनय गरेका छन् । राजेशपायल राईसँगै भिडियोमा सन्ध्या स्याङ्तानले अनस्क्रिन रोमान्स गरेकी छन् । भिडियोमा एक युगल जोडीको प्रेमकथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

ए वान म्युजिसियनमा रेकर्ड गरेको यस गीतको भिडियोलाई निश्चल पौडेलले खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ ।

राजेशपायल राई केही दिनअघि मात्र अमेरिकाको सांगीतिक टुर छोट्याएर नेपाल आएका हुन् । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच रहेकाले कार्यक्रम छोट्याएर नेपाल आएको राजेशपायलले बताए । उनी आएको केही दिनमै आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका राजेशपायल राई यो मंसिर महिनाभर पूर्वी नेपालको सहरहरुमा कन्सर्टमा व्यस्त हुनेछन् ।

यही मंसिर १९ गते उदयपुरको बसाहा, २० गते लक्ष्मीमार्ग बेलबारी मोरङ, २२ गते पाँचथरको फिदिम र मंसिर २४ गते भोजपुरको दिङ्लामा राजेशपायलको कन्सर्ट हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्