Logo
Logo

अराजक प्रयोगकर्ता र त्रसित सरकारको कोपभाजनमा टिकटक




चर्चा गरौं, अ–सामाजिक सञ्जाल टिकटकको । टिकटक अ–सामाजिक भएपछि सरकारले प्रतिबन्ध नै लगायो । सामाजिक सञ्जालहरूको प्रतिक्रिया हेर्दा बहुसंख्यकले यसको समर्थन गरेको देखिन्छ । तर, टिकटक प्रतिबन्धको विरोध पनि उत्तिकै भइरहेको छ । विशेष गरी टिकटक स्टारहरूले आपत्ति जनाएका छन् ।

केही टिकटक स्टारहरूको कुरा सुनौं । इभा गिरीको भन्छन्– ‘टिकटकको प्रतिबन्ध नहटाए देशको अर्थतन्त्र डामाडोल हुन्छ ।’ अर्का टिकटकर मनोज केसीले टिकटक नखोले सरकार ढालिदिने धम्की नै दिएका छन् । त्यस्तै इस्टु कार्कीको दाबी छ– ‘टिकटक प्रयोगकर्ताहरूले नेपाललाई विश्वसामु चिनायो । टिकटकर आयुष र एलीजेको सम्बन्धका कारण नेपाल विश्वभर चिनियो ।’

यो तर्क सुनेर आठौँ आश्चर्य मान्नु पर्दैन । एउटा उखान छ– कुवाको भ्यागुतालाई कुवै संसार । उनीहरूको लागि सबथोक हो टिकटक ! खाना टिकटक ! ओछ्यान टिकटक ! सुत्यो टिकटक ! उठ्यो टिकटक ! परिवार साथीभाइ सबै टिकटक ! सायद, टिकटकबाटै जन्मिएका हुनुपर्छ ! अनि, मृत्यु पनि टिकटकमै हुन्छ !

सीमा नाघ्दा सत्ययुगमा सीताको हरण भयो । कलियुगमा टिकटक ‘हरण’ हुनु नौलो कुरा भएन । सबै कुराको सीमा हुन्छ । तर, शासकले बुझ्नुपर्ने चाहिँ के हो भने, माध्यममा प्रतिबन्ध लगाएर अभिव्यक्तिहरू बन्देज लगाउन सकिँदैन ।

टिकटकको लोकप्रियताले सीमा नाघेको थियो । उन्मादको चरणमा पुगेको थियो । टिकटकरको बहुलठ्ठी त्योभन्दा माथि । ‘ट्यापट्या’ नगरी निद्रै नलाग्ने ! खाएकै नपच्ने ! सुरुसुरुमा टिकटकले मनोरञ्जन दिन्थ्यो । पछि मागिखाने भाँडो बन्यो । त्यसपछि धार्मिक, सामुदायिक र जातीय सद्भाव बिगार्ने थलो बन्यो । अनि, राजनीति गर्ने माध्यम बन्यो ।

नाम चलेका कलाकार पनि रातदिन टिकटक लाइभमा बस्थे । पैसा कमाउने लोभमा अनेक हर्कतहरू गर्थे । कमाइ पनि राम्रै हुन्थ्यो रे । महिनामै लाखौं कमाइ गर्ने टिकटकरहरू नै बताउँछन् । त्यसैले त इभाले भन्न भ्याए– टिकटक बन्दले देशको अर्थतन्त्र डामाडोल हुन्छ । तर, देशको होइन, उनको चाहिँ डामाडोल नै भयो !

केही टिकटकर ‘भिखारी’ बनेका थिए । लाइभमा बसेर गिफ्टको नाममा पैसा मग्थे । मनकारी नेपाली ! ‘मेरो मुटु, मेरो धड्कन, मेरो फोक्सो–कलेजो’ भनेपछि गिफ्ट नदिई मनै नमान्ने ! तर, मनकारी बन्न डलरकार्ड चाहिने । नेपालमा डलरकार्ड लिनेको संख्या एकदमै न्यून छ । विशेषगरि आइटीसम्बन्धी काम गर्नेहरूले लिने गरेको पाइन्छ । उनीहरूले जे कामको लागि लिएका छन्, त्यसैको लागि मात्रै प्रयोग गर्छन् । मनकारी हुन होइन ।

त्यसो भए टिकटकरलाई कसले दिन्छन् त महिनामै लाखौँ ? विदेशमा छन् ५०–६० लाख देशका कर्णधार ! उनीहरूले नै दिने हो, गिफ्ट । राज्यले देश बनाउन ती युवाको उपयोग गर्न सकेन । त्यसको लाभ टिकटकरलाई मिल्यो । र, सेलिब्रेटी बने । सायद, टिकटकरलाई गिफ्ट दिनै खाँडी गएका होलान् ! पसिना बगाएका होलान् !

देश रेमिट्यान्सले धानेको भन्छौँ । तर, टिकटकरको कुरा सुन्दा टिकटकले धानेको छ । देशलाई टिकटकरले नै चिनाएका छन् ! यसो भनिरहँदा टिकटको राम्रो पक्ष भुल्न पनि मिल्ने । सकारात्मक पाटो पनि छन् । राम्रो काम गरेर टिकटकबाट राम्रै कमाउने पनि छन् । लुकेको कला बाहिर आएको पनि छ । मनोरञ्जनको क्षेत्रमा धेरैले अवसर पाएका छन् । आँचल शर्माले भनेजस्तो ‘क्रियटिभ’ पनि थिए । तर, सकारात्मकता भन्दा बढी नकरात्मकता फैलियो ।

नकरात्मकता बढी भएपछि भन्न थालिएको हो– टिकटकले मान्छे बिगार्यो, घरबार बिगार्यो, समाज बिगार्यो, देश बिगार्यो । तर, यी सबै टिकटकले होइन, मान्छेले बिगारेको हो । मान्छेले टिकटक बिगारेपछि सबै बिग्रियो । कुनै पनि माध्यम आफैँमा राम्रो–नराम्रो हुँदैन । माध्यमले सदुपयोग गर्ने कि दुरुपयोग भन्नेमा भर पर्छ । त्यो सबै मान्छेले गर्ने हो ।

कसैको घरमा सलाई छ, त्यसको सदुपयोग र दुरुपयोग दुवै हुन सक्छ । त्यसले मौन बत्ती बाले घर उज्यालो हुन्छ । आगो बालेर खाना पकाए गाँस हुन्छ । तर, घरमा लगाए बास उठ्छ । त्यो सम्बन्धित व्यक्तिमा भरपर्छ । प्लेटफर्म आफैंमा कहिल्यै नराम्रो हुँदैन, प्रयोगकर्तामा निर्भर हुन्छ ।

मिडिया, संगीत र मनोरञ्जनको ल्यान्डस्केपमा टिकटक प्रभावशाली थियो । टिकटकलाई समाचारको एउटा मुख्य माध्यमको रूपमै लिन थालेका थिए । धरैलाई व्यापार प्रचार गर्न महत्वपूर्ण सहयोग मिलेको थियो । तर, त्यसलाई मात खुवाउने गरी समाजमा विकृति विसङ्गति निम्त्यायो ।

टिकटकमा अरूका बारेमा तथानाम भन्ने र गाली गर्नेबाट धेरै अजित थिए । पीडित थिए । केहीको निजी जीवन तहसनहस पारेकै हो । सामाजिक सदभाव बिथोल्ने काम भएकै हो । तर, विकृति फैलियो भने प्रतिबन्ध लगाउनु उत्तम विकल्प चाहिँ होइन ।

टिकटक प्रतिबन्ध लगाएर विकृति रोकिन्छ भन्नु हत्केलाले सूर्य छेक्छु भन्नुजस्तै हो । विकृति फैलने माध्यम अरु धेरै छन् । टिकटक प्रतिबन्ध गर्दा माध्यम परिवर्तन हुन्छ । मान्छेको सोच परिवर्तन हुँदैन ।

प्रतिबन्धको बाटो सही होइन । सरकारले नियन्त्रण होइन नियमनबाट मात्र समस्याको समाधान गर्नु पर्ने थियो । टिकटक बन्द गर्दैमा देशमा सुशासन कायम हुँदैन । विकृति हट्दैन । प्रविधि र प्लेटफर्महरूमाथि मात्रै दोष थुपारेर उम्किन मिल्दैन ।

माध्यम फरक हुँदैमा अपराध नियन्त्रणको लागि फरक कानुन चाहिने भन्ने पनि होइन । गाली–बेइज्जती, ठगी, हिंसा, अश्लीलता, गोपनीयता र प्रतिलिपि अधिकार हनन् नियन्त्रण गर्न प्रचलित कानुनहरू नै पर्याप्त छन् । कानुन अपुग भए समयअनुकूल परिमार्जन गर्नुपर्छ । नियमनको स्वीकार्य र व्यावहारिक बाटो खोज्नुपर्छ । माध्यममा प्रतिबन्ध लाग्नु कानुनीराज, नागरिक हक र लोकतन्त्रको घोर अपमान हो ।

सामाजिक सञ्जाल चलाउन पाउनु नागरिकको अधिकार हो । चलाउनेले चलाउन पाउनुपर्छ । तर, सबै कुराको एउटा सीमा हुन्छ । ‘नपाउनेले पायो, बोक्रैसँग खायो’ गर्नु हुँदैन । सीमा नाघ्दा सत्ययुगमा सीताको पनि हरण भएको थियो । कलियुगमा टिकटकको ‘हरण’ हुनु नौलो कुरा भएन ।

सबैभन्दा पहिले ‘म’ सुध्रिनु पर्छ । ‘म’ सुध्रिए तिमी, तपाईँ, हजुर सबै सुध्रिन्छन् । यस्ता माध्यम प्रयोग गर्दा स्वनियमनमा ध्यान दिनुपर्छ । संविधानले स्वतन्त्रता दिएको छ । तर, आफ्नो स्वतन्त्रता प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । मैले के गर्नु हुन्छ र के गर्न नहुने छुट्याउन सक्नुपर्छ ।

लोकतान्त्रिक गणतन्त्रमा मैले जे गरे पनि हुन्छ, जे भने पनि हुन्छ, त्यसको कुनै जबाफदेहिता बहन गर्नुपर्दैन, त्यसबापत कुनै कारबाही हुँदैन भन्ने भ्रम त्यग्नुपर्छ । आफ्नो अधिकारको सीमा बुझ्नुपर्छ । टिकटक चलाउन पाउनुपर्छ तर टिकटकले हामीलाई चलाउनु हुँदैन । यस्ता प्लार्टफम रचनात्मक, सकारात्मक, आलोचनात्मक र प्रतिफलमुखी ढङ्गले उपयोग गरौँ ।

प्रतिक्रिया दिनुहोस्