Logo
Logo

गायिका नबनेकी भए हिरोइन हुन्थेँ- सरु गौतम, गायिका


- दृष्टि न्युज/संवाददाता


गायिका सरु गौतम २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन नभएको भए सायद फिल्मकी ‘हिरोइन’ हुन्थिन् । नाच्न र अभिनय गर्न भनेपछि हुरुक्कै हुने काभे्रपलाञ्चोककी सरुले जब लोकतान्त्रिक जनआन्दोलनताका गाएको एउटै गीतले ‘गायिका’ बन्ने प्रेरणा र हौसला प्राप्त गरिन् । त्योबेला गाएको त्यो गीत उनको मानसपटलमा ताजै छ । एक दशकयता सांगीतिक क्षेत्रमा क्रियाशील सरु भन्छिन्, ‘जनआन्दोलनको उभार उर्लेको बेला जनजागृति गीत गाएपछि गायिका बनेकी हुँ ।’ त्योबेला उनले गाएको गीत ‘सबै आए गाउँवेसी उठेर’ चर्चित बनेको थियो । ‘म सानैदेखि नाच्न, गाउन र अभिनय गर्न परफेक्ट थिएँ । तर, गायिका बन्छु भन्ने सोचेकी थिइनँ’, सत्तरीभन्दा बढी गीतमा स्वर दिइसकेकी सरुले भनिन्, ‘बरु फिल्मकी हिरोइनचाहिँ बन्ने इच्छा थियो ।’ गीतसंगीतका आलाव एक्सपोर्ट÷इम्पोर्टको व्यवसायीसमेत गर्दै आएकी गायिका सरु गौतमसँग एमपी सुब्बाको जम्काभेट :

गीतसंगीत क्षेत्र कस्तो लागिरहेको छ ?

अब त गीतसंगीतविना बाँच्नै सक्दिनँजस्तो लाग्न थालेको छ । यो क्षेत्रमै १० वर्ष विताइसकेँ । मेरो जीवन संगीतप्रति समर्पित गरिसकेकी छु । संगीत एउटा यस्तो चिज पनि हो, जसले सबैलाई बाँधेर राख्न सक्छ ।

यो क्षेत्रमा धेरैजसो रहरले आएका पाइन्छन् । तपाइँचाहिँ कसरी गायनमा प्रवेश गर्नुभयो ?

मचाहिँ रहरले आएकी होइन । सुरुबाटै गायिका बन्छु भनेरै गाउन सुरु गरेकी हुँ । त्यसैले संगीतसम्बन्धी अध्ययन गरेरै यो क्षेत्रमा लागेकी हुँ ।

गायनमा लाग्ने यस्तो प्रेरणा कसरी मिल्यो ?

वास्तवमै भन्नुपर्दा म २०६३/०६३ को ऐतिहासिक लोकतान्त्रिक आन्दोलनले जन्माएको गायिका हुँ । त्योभन्दा अगाडिसम्म म नाच्न र अभिनय गर्न रुचाउँथे । सानो हुँदा म सबै कुरामा परफेक्ट थिएँ । त्यतिकैमा २०६२/०६३ को पछिल्लो १९ दिने जनआन्दोलन भयो, त्योबेला गाउँमै आन्दोलनका लागि जनतालाई उर्जा दिने गीत गाउने अवसर पाएँ । त्यो गीत रुचाइयो पनि । त्यसपछि सबैले राम्रो गाउँछौं, गायिका बन्नु भनेपछि गायनमा लागेकी हुँ ।

त्योबेला गाउनुभएको गीत सम्झिन सक्नुहुन्छ ?

सक्छु । त्यो विर्सिने कुरै भएन नि । ‘आए सबै गाउँबेसी उठेर’ बोलको गीत थियो । यो गीत त्योबेला निकै हिट बनेको थियो । वास्तवमै उक्त गीतले त्योबेला जनतालाई सडकमा ओर्लने उर्जा दिएको थियोजस्तो अहिले पनि लाग्छ ।

त्योबेला गाउने अवसर नपाएको भए के बन्नुहुन्थ्यो ?

गायिका बन्छु भन्नेचाहिँ सोचेकी थिइनँ । सायद फिल्मको हिरोइन हुनेथिएँ होला किनकि, त्योबेला फिल्म भनेपछि हुरुक्कै हुन्थेँ । तपाइँलाई पनि थाहैहोला । सानोमा फिल्म भनेपछि भोकभोकै पनि हेर्नुपर्ने । फिल्म हेरेपछि हिरोइनको म नक्कल गर्थेँ । अभिनय पनि राम्रै गर्थेँ । स्कुलमा हुने नाटकहरुमा अभिनय गर्थेँ । तर, एउटै गीतले गर्दा मेरो इच्छा र रुचि गायनतिर मोडियो ।

अब फिल्ममा हिरोइनका लागि प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

प्रस्ताव त आएको हो । तर, अब गर्दिनँ । एउटा मान्छेले एउटै क्षेत्रलाई समय दिएको राम्रो भनेर फिल्मी अभिनयतिर मन मारेकी हुँ । आफ्नै गीतको भिडियोमा चाहिँ मोडलिङ गरेकी छु । अझैपनि आफ्नो गीतको भिडिया अभिनय गर्छु । तर, फिल्ममा काम गर्दिनँ ।

संगीत पनि सिक्नुभयो कि ?

सिकेकी छु । सुरुमा मैले ललितकला क्याम्पसमा संगीतसम्बन्धी परीक्षण लिएकी हुँ । त्यसपछि साधना कला केन्द्र र पछिलो समय गुरुकुल संगीत विद्यालयका गुरु गुरुदेव कामदसँग संगीत सिकेँ । यो संगीत भन्ने चिज जति सिकेपनि पूरा नहुने रहेछ । अझै सिकारुजस्तै छु ।

कस्ता गीत बढी गाउनुहुन्छ ?

सबै प्रकारका गीत गाउँछु । अहिलेसम्म ७०/८० वटा गीत गाएकी छु । त्यसमा सबै प्रकारका छन् । पहिलेचाहिँ धेरैजसो सेन्टिमेन्ट गाउँथेँ, तर कार्यक्रममा जान थालेपछि डान्सिङ गीत केही बढी गाउन थालेकी छु । कार्यक्रमहरुमा बढी डान्सिङ नै चल्छ ।

तपाइँको पछिल्लो गीत कुन हो ?

‘जाउन माया भागेर’, यो गीत केही समयअघि मात्र रिलिज गरेकी हुँ । यसमा दिपक शर्माको संगीत र कुमार कटवालको शब्दरचना रहेको छ ।

अनि ‘रियल लाइफ’मा मायाप्रेमको प्रस्ताव कतिको आउँछ ?

आउँछ नि । गायिका भएकाले पनि विभिन्न खाले मायाका प्रस्तावहरु आउँछ । तर, अहिलेसम्म कसैको प्रस्ताव स्वीकारेकी छैन ।

गीतसंगीतबाहेक के गुर्नहुन्छ ?

व्यवसायी गर्छु । म पस्मिना एक्सपोर्ट/इम्पोर्टको काम गर्छु । जसको अफिस सोह्रखुट्टेमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्