Logo

नेपाल प्रहरीमा ‘चार भाइ’को एकता


Published On : 18 February, 2020

काठमाडौं, ६ फागुन । नेपाल प्रहरीमा बेला–बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ ।

आफूहरुको ब्याच नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डिआइजीबीच एकता भएको हो । प्रहरीको ९१औँ टोलीका डिआइजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका छन् । अस्वस्थ चलखेल नभएमा ठाकुर ज्ञवालीपछि उनीहरु चारमध्येबाट एक आइजिपी हुनेछन् । तर, जुनियर ब्याचबाट अस्वभाविकरुपमा उदाएका विश्वराज पोखरेल अहिले नै एआइजी भएर असारपछि आइजिपी हुने खेलमा लागेपछि उनलाई रोक्न चार डिआइजीले एकता गरेका हुन् । आफ्नो जो भए पनि हुने तर, जुनियर ब्याचबाट ओभरटेक गराएमा त्यो संगठनका लागि गलत हुने भन्दै उनीहरुले गठबन्धन बनाएका हुन् । हालै एक अनौपचारिक बैठक बसेर उनीहरुले यस्तो रणनीति बनाएका हुन् ।

प्रहरीमा बेला–बेलामा यस्ता गठबन्धन बन्ने गर्दछ । प्रहरी इतिहासमै सबैभन्दा धेरै राजनीति गर्ने नवराज सिलवाल र जयबहादुर चन्द पनि कुनै समय एउटै गठबन्धनमा थिए । उनीहरुको डिआइजी बढुवा सर्वाेच्च अदालतले रोकिदिएपछि उनीहरु पनि गठबन्धन नै बनाएर अघि बढेका थिए । तर, आइजिपी बन्ने बेला भने मारामार भयो ।

सर्वेन्द्र खनाल र पुष्कर कार्कीबीच पनि २२ महिनामा कहिल्यै राम्रो सन्बन्ध भएन । तर, अवकाश हुने बेला ३० वर्षे सेवाहद हटाउने खेलमा झन्डै उनीहरु मिलेका थिए ।

अहिलेका ‘चार भाइ’को एकता संगठनका लागि भने हितकर नै हुने देखिन्छ, तर पनि धेरै टिक्ने अवस्था देखिँदैन । यो ब्याचका चारै जना डिआइजी क्षमतावान मानिन्छन् । तर, एआइजी बढुवामा केही छुट्ने सम्भावना देखिएको छ । एआइजीको तीन मात्र सिट छ । धेरै प्रतिस्पर्धी छन् । जसकारण एआइजीको सिट पाँच बनाउनसमेत छलफल सुरु भइसकेको गृह स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्