Logo
Logo

दलाल पूँजीवादको सेवा गरेर समाजवादमा पुग्न सकिन्न- युवराज ज्ञवाली


- दृष्टि न्युज/संवाददाता


युवराज ज्ञवाली, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

सत्तामा रहेको पार्टी भएकाले अवसरको उपयोग गर्दै केही व्यक्ति आफ्नो सेवा–सुविधा बढाउने, आर्थिक लाभमा लिप्त हुने अवस्था हुन्छ । पैसाको प्रलोभनमा नेताहरू फस्ने पनि गरेको देखिन्छ ।

एउटा ठोस मापदण्ड तय गरेको भए त्यही निर्णयको आधारमा पोलिट्ब्युरोका सबै सदस्यहरू तय हुन्थे । तर, किन अलमल भइरहेको छ भन्ने मैले बुझिरहेको छैन ।

जहाँसम्म आर्थिक अपारदर्शीताको कुरा छ, यो सिंगो नेपाली राजनीतिमा गम्भीर विषय बनेको छ । नेताहरूको आर्थिक जीवन पारदर्शी हुन्छ कि हुँदैन, यो अहिलेको मुख्य प्रश्न हो । हामी नेतृत्व गर्छौं, यो देशलाई समाजवादमा लैजान्छौँ भनेर अगाडि बढेकाहरूले आफ्नो जीवन पनि पारदर्शी बनाउनैपर्दछ ।

पार्टीको तर्फबाट आर्थिक लाभ हुने सार्वजनिक पदमा पुगेकाहरूका सम्पत्ति छानबिन गर्ने र कमजोरी देखिए कारबाही गर्न सिफारिस गर्ने अधिकार केन्द्रीय कमिटीले दिएको छ ।

संसारमा जति पनि लोकप्रिय नेता छन्, तिनलाई अध्ययन गर्ने हो भने ती सबैले सादाजीवन बाँचेका पाउँछौँ । जनताले पनि सादाजीवन अपनाउने नेता नै हेर्न चाहन्छन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि कमिटीका बैठकहरू लामो समय बस्न सकेनन् । तर, हालै केन्द्रीय कमिटीको बैठक बस्यो । त्यसअघि एक वर्षको अन्तरालपछि स्थायी कमिटीको पनि बैठक बसेको थियो । अब नेकपामा नियमित बैठक बस्ने अवस्था बनेको हो ?

पार्टी एकीकरणपछि कमिटीका बैठकहरू नियमित नबस्ने, नेतृत्वलाई बैठक बस्नुपर्छ भन्ने कुराको आवश्यकता नै महसुस नहुने गम्भीर समस्या हाम्रो पार्टीमा देखिन्थ्यो । हामीले स्थायी कमिटीको बैठक राख्नलाई पटकपटक अनुनय विनय नै गर्नुपर्ने, दबाब दिनुपर्ने स्थिति थियो । स्थायी कमिटीका दुईवटा बैठक दबाबका कारण नै बसे । तर, पछिल्लो बैठक एक वर्षपछि मात्र बस्यो । समस्या आउने बित्तिकै स्थायी कमिटी बैठक बस्ने र आवश्यक निर्णय गरेर अघि बढ्ने अवस्था बन्नुपर्नेमा त्यो हुन सकिरहेको छैन । केन्द्रीय कमिटीको बैठक पनि धेरै लामो समयपछि बल्ल बल्ल बस्यो । त्यसका निम्ति पनि धेरै माथापच्चि गर्नुपरेको थियो । पछिल्लो स्थायी कमिटीको बैठकमा केन्द्रीय कमिटी बैठकको मिति नै तोक्नुपर्छ भनेर दबाब नै दिनुपर्ने स्थिति आयो । त्यसपछि मात्र त्यो बैठकले मिति तय गरेको थियो । पार्टी यस्तो अवस्थाबाट गुज्रिरहेको हुनाले पछिल्ला दिन लगातारजसो बैठक हुनुलाई उपलब्धिकै रूपमा मैले लिएको छु ।

केन्द्रीय कमिटी बैठक भने कत्तिको उपलब्धिमूलक रह्यो ?

केन्द्रीय कमिटी बैठक निकै उपलब्धिमूलक रह्यो । एउटा महत्वपूर्ण पक्ष के देखियो भने, अधिकांश केन्द्रीय सदस्यले निर्भिकताका साथ आफूले देखेका, भोगेका कुरा बैठकमा राख्नुभयो । धेरैको चिन्ता र चासो पार्टीलाई व्यवस्थित कसरी गरेर लैजाने, कसरी माक्र्सवादी कम्युनिष्ट पार्टीको रूपमा विकास गर्ने भन्नेमा थियो । मैले त्यसलाई एउटा राम्रो संकेतको रूपमा बुझेको छु । किनभने, यस्तै चिन्ता, चासो र बहसले नै कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी बनाइराख्छ र पार्टीलाई ठीक दिशातर्फ लैजान सहयोग गर्छ । समूहगत छलफलको क्रममा पनि १५ वटै समूहबाट जुन सुझाब, आलोचना आयो, त्यसलाई नेतृत्वले ९९ प्रतिशत महसुस ग¥यो । कमजोरीप्रति आत्मआलोचित हुने र दिएका सुझाबलाई सकारात्मक रूपमा लिएर त्यसलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त भयो । साथसाथै, पार्टी सदस्यता नवीकरण गर्ने, जिल्ला अधिवेशनहरू गर्ने, राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भए र त्यसका लागि करिब–करिब समयसीमा पनि तोकियो । त्यसैले पनि बैठक निकै उत्साहपूर्ण र सकारात्मक भयो ।

पार्टी नेतृत्वमाथि नै संकेत गरेर जसरी आलोचनाहरू भए, त्यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

पार्टीभित्र विभिन्न विकृति विसंगति बढेका छन् । सार्वजनिक रूपमा पनि आलोचनाको विषय बनेको छ । झन् पार्टीभित्रै त्यसको आलोचना नहुने कुरा भएन । सत्तामा रहेको पार्टी भएकाले अवसरको उपयोग गर्दै केही व्यक्ति आफ्नो सेवा–सुविधा बढाउने, आर्थिक लाभमा लिप्त हुने अवस्था हुन्छ । पैसाको प्रलोभनमा नेताहरू फस्ने पनि गरेको देखिन्छ । त्यसैले पार्टीको मुख्य कमिटीका सदस्यहरूको यस्तो चिन्ता व्यक्त गर्नु जायज छ । त्यो पार्टीको भविष्यप्रति लक्षित भएर गरिएको छ । यसले पार्टीलाई ठीक दिशामा लैजान महत्वपूर्ण भूमिका खेल्नेछ । यसैले मैले त भन्ने गरेको छु, केन्द्रीय कमिटीको पछिल्लो बैठक एकीकृत पार्टीको जीवनमा महत्वपूर्ण सकारात्मक घुम्ती वा मोड बनेर आएको छ । त्यहाँ भएका आलोचनालाई व्यक्तिगत होइन, पार्टीप्रतिको चिन्ताका रूपमा हेरिनुपर्दछ ।

केन्द्रीय सदस्यका सुझाबलाई नेतृत्वले सहजै महसुस गरेको कुरा यहाँले गर्नुभयो । तर, १५ दिनभित्र गर्ने गरी भएका कुनै पनि निर्णय निर्धारित समयमा कार्यान्वयन भएनन् नि ?

वास्तवमा अहिले पनि ढिलाढाला देखिन्छ । विशेषतः १५ दिनभित्र पोलिट्ब्युरो गठनको कुरा थियो । एकताका बाँकी काम सम्पन्न गर्ने कुरा थियो । १५ दिनमा पोलिट्ब्युरो गठन गर्न सकिन्थ्यो । संख्या करिब–करिब निश्चित छ । मापदण्डको आधारमा व्यक्ति छनोट गर्ने मात्र हो । एउटा ठोस मापदण्ड तय गरेको भए त्यही निर्णयको आधारमा पोलिट्ब्युरोका सबै सदस्यहरू तय हुन्थे । तर, किन अलमल भइरहेको छ भन्ने मैले बुझिरहेको छैन ।

यस्तो अवस्थामा तपाईंहरू के गर्नुहुन्छ ?

अहिले त हामी पनि निर्णय कार्यान्वयनकै पर्खामा छौँ । केन्द्रीय कमिटीले तय गरेका निर्णय ठीक ढंगले कार्यान्वयन हुन्छन्, हुनुपर्छ भन्ने विश्वासमै छौँ । अहिले त हामी सबै यो हेरिरहेका छौँ । प्रतिबद्धता पूरा नगर्ने हो भने टुलुटुलु त्यतिकै तमासा हेरेर बस्ने कुरा हुँदैन । तीन महिनापछि बस्ने स्थायी कमिटी बैठकमा गम्भीर समीक्षा गर्छौं । प्रतिबद्धता किन पूरा भएन भनेर नेतृत्वलाई प्रश्न गर्छौं । त्यसपछि बस्ने केन्द्रीय कमिटीको बैठकमा विगतमा भन्दा अझ बढी कडा आलोचना हुन्छ ।

पार्टीलाई अनुशासनमा बाँधेर राख्ने अनुशासन आयोगले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । नेतृत्वको जीवनशैली भड्किलो भयो, आर्थिक अपारदर्शी भयो भनेर गरिएको आलोचनाको के अर्थ भो र ?

यो सबैभन्दा उदेक लाग्दो कुरा छ । अनुशासन आयोगलाई पूर्णता नदिनुपर्ने कुनै कारण छैन । त्यसलाई पूर्णता दिन कुनै ठूलो कुरा पनि छैन । पूर्वएमालेमा जो–जो हुनुहुन्थ्यो, तिनैमध्येका लागि राख्ने हो । त्यहाँ समस्या छैन । बाँकी पूर्वमाओवादीकोबाट राख्ने कुरामा अध्यक्ष प्रचण्डजीले नाम दिए भइहाल्छ । असाध्यै सजिलो विषय हो । तर, पनि भएको छैन । यो बडो बिचित्रको कुरा छ । जहाँसम्म आर्थिक अपारदर्शीताको कुरा छ, यो सिंगो नेपाली राजनीतिमा गम्भीर विषय बनेको छ । नेताहरूको आर्थिक जीवन पारदर्शी हुन्छ कि हुँदैन, यो अहिलेको मुख्य प्रश्न हो । सिद्धान्त, नीति विचारका कुरा, समाजवाद ल्याउने कुरामा कुनै समस्या रहेन । तर, त्यो बाटोमा हिँडेका अगुवाहरूको दृष्टिकोण, चिन्तन, प्रवृत्ति, आचरण, कार्यशैली र जीवन कसरी चलिरहेको छ भन्ने कुराले ठूलो अर्थ राख्छ । अब पार्टीले माक्र्सवादलाई लागू गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा त्यसैले निर्धारित हुन्छ । भाषण गरेर, नारा लगाएर, चर्को क्रान्तिकारी कुरा गरेर साँचो अर्थमा माक्र्सवादी भइँदैन । माक्र्सवाद भनेको गर्नका लागि विकास गरिएको सिद्धान्त हो । त्यसलाई हामी कार्यान्वयनमा लैजान्छौँ कि लैजाँदैनौँ भन्ने कुराले महत्व राख्छ । जनताले अहिले भाषण होइन, हाम्रो व्यवहार र आचरण हेरिरहेका छन् । पार्टीका आम कार्यकर्ताले पनि नेताका आचरण, व्यवहार र क्रियाशलाप हेरिरहेका छन् । त्यसैले अहिले सबैभन्दा चर्को रूपमा नेतृत्वको आर्थिक क्रियाकलापको कुरा उठिरहेको छ । वैधानिक रूपमा नियमित आम्दानीको स्रोत असाध्यै सीमित छ । तर, त्यसको तुलनामा जीवनस्तर धेरैमाथि छ । त्यो कसरी सम्भव हुन्छ भनेर आमजनताले हेरिरहेका छन् । कार्यकर्ताले हेरिरहेका छन् । प्रत्येक सचेत नागरिकले मूल्यांकन गरिरहेका छन् । हामी नेतृत्व गर्छौं, यो देशलाई समाजवादमा लैजान्छौँ भनेर अगाडि बढेकाहरूले आफ्नो जीवन पनि पारदर्शी बनाउनैपर्दछ । हिजो देश र जनताका लागि भनेर सबै समर्पित भएर लाग्यौँ । मौका पाएको बेलामा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न, सुख–सुविधामा, आराममा, कमाउनमा बिताउन थाल्यौँ भने हामी पछारिन्छौँ । राजनीति ठेक्कापट्टा वा व्यवसाय होइन । यो विशुद्ध सेवाको काम हो भन्ने कुरा हाम्रो व्यवहारबाट प्रमाणित गरेर देखाउनुपर्छ ।

कुनै वैधानिक कमाइ नहुनेले कसरी मासिक दसौँ लाख रुपैयाँ खर्च गरिरहेको छ ? त्यो कहाँबाट आएको छ ? अवश्य पनि उनीहरू कमिसन, भ्रष्टाचार, ठूला पुँजीपतिहरूसँग साँठगाँठमा छन् । कुनै न कुनै गलत कुरा जोडिएको छ ।

हिजो जतिसुकै वर्ष जेल बसेको, भूमिगत भएको, योगदान गरेको नेता भए पनि आज बिग्रिएको छ भने त्यसलाई ठूलो नेता मानिरहनु हुँदैन । त्यसलाई बिग्रिएकै रूपमा हेर्नुपर्दछ ।

राज्यसत्तामा कम्युनिष्ट पार्टी छ । यो परिस्थितिमा दलाल पुँजीवादकै सेवामा, उसैलाई प्रोत्साहित–प्रेरित गर्ने किसिमले राज्यसत्ता सञ्चालन गरिरहने, तर समाजवाद भन्न पनि नछोड्ने हो, कम्युनिष्ट पार्टी भन्न पनि नछोड्ने हो भने हामी सकिन्छौँ ।

दलाल नोकरशाही पुँजीवाद र विदेशी साम्राज्यवादी शक्तिले कम्युनिष्टहरूलाई कसरी आर्थिक रूपमा भ्रष्ट बनाउने भनेरै लागिपरेका हुन्छन् । यो उनीहरूको स्वार्थ हो । यसमा हामी कत्तिको अडिन सक्छौँ, टिक्न सक्छौँ, त्यसले हाम्रो पार्टीको राजनीतिक भविष्य, नेपालको समाजवादी आन्दोलनको निर्धारण गर्छ ।

नेतृत्वको विषयमा उठेको संशय र भइरहेको आलोचनाले पार्टीलाई क्षति पु¥याइरहेजस्तो, पार्टीमाथि नै अविश्वास पैदा गरेजस्तो लाग्दैन ?

पक्कै पनि हाम्रो अपारदर्शी जीवनशैली देख्दा जनतामा एउटा गम्भीर अविश्वास पैदा भएको छ । हामीले त्यो अविश्वासलाई कसरी विश्वासमा रुपान्तरण गर्ने भन्ने मूल कुरा छ । केन्द्रीय कमिटी बैठकमा यही गम्भीरताका कारण चिन्ताका साथ साथीहरूले यो विषय उठाउनुभएको हो । यसबारेमा पार्टीभित्रै छानबिन हुनुपर्छ भन्ने कुरा उठ्यो । नेतृत्वले यसलाई स्वीकार पनि गरेको छ । र, अनुशासन आयोगलाई विशेष जिम्मेवराी दिइएको छ । अनुशासन आयोगले सबै केन्द्रीय नेताको सम्पत्ति विवरण लिने, त्यो सार्वजनिक गर्ने र छानबिनसमेत गर्ने भनिएको छ । पार्टीको तर्फबाट आर्थिक लाभ हुने सार्वजनिक पदमा पुगेकाहरूका सम्पत्ति छानबिन गर्ने र कमजोरी देखिए कारबाही गर्न सिफारिस गर्ने अधिकार केन्द्रीय कमिटीले दिएको छ । विधानमै पनि अनुशासन आयोगलाई प्रशस्त अधिकार छ । अब तत्काल अनुशासन आयोगलाई पूर्णता दिँदै त्यो काम अघि बढाउनुपर्दछ । त्यो काम गर्न सकियो भने मात्रै जनतामा धेरै ठूलो सकारात्मक प्रभाव पर्न सक्छ ।

हिजो जनतासँग कम्युनिष्ट पार्टीको निकट सम्बन्ध थियो । आज दूरी बढेको छ । । कतिसम्म भने, मन्त्रीले प्रधानमन्त्री भेट्न नपाएको अवस्था छ । यसले के संकेत के गर्छ, हामी कता जाँदैछौँ ?

सबैले सबैलाई भेट्नैपर्छ भन्ने होइन । तर, जिम्मेवारीका हिसावले भेट्नै पर्ने व्यक्तिहरूले पनि भेट्न नपाउनुलाई राम्रो मान्न सकिँदैन । मन्त्रीले प्रधानमन्त्री भेट्न नपाउनु, पार्टीका केन्द्रीय कमिटी सदस्यहरूले स्थायी कमिटीका सदस्यले पार्टीका अध्यक्षहरू भेट्न नपाउनु गलत हो । यसले हाम्रो समग्र कार्यशैली, आचरण, प्राथमिकता के रहेछ भन्नेतर्फ संकेत गर्छ । हाम्रो समग्र कार्यशैली, मूल्य र मान्यता, व्यवहार, आर्थिक र नैतिक आचरणबारे हामी गम्भीर छैनौँ भन्ने देखाउँछ । संसारमा जति पनि लोकप्रिय नेता छन्, तिनलाई अध्ययन गर्ने हो भने ती सबैले सादाजीवन बाँचेका पाउँछौँ । जनताले पनि सादाजीवन अपनाउने नेता नै हेर्न चाहन्छन् । हाम्रै पछिल्लोकालमा पनि मनमोहन अधिकारीदेखि मदन भण्डारीसम्मको जीवन कहिल्यै भड्किलो भएन । उहाँहरूलाई अहिले पनि जनताले सम्झिरहेका छन् । हाम्रा थुप्रै कार्यकर्ता सादाजीवन बिताइरहेका छन् । थोरै मान्छे मात्रै हो, भड्किलो जीवनमा छन् । तर, ती थोरैका कारण सिंगो पार्टी बिग्रिएजस्तो भएको छ । त्यसैले हामीले जतिसक्यो सादाजीवन बाँच्ने, वैधानिक आम्दानी र थोरै खर्चबाट आफ्नो खर्चको व्यवस्था गर्ने अभ्यास गर्नुपर्दछ । कतिपय पुँजीवादी भनिएका धनी देशका मन्त्री र प्रधानमन्त्री वा उच्चस्तरका नेता पनि सार्वजनिक यातायातका साधनमा हिँडेका देखिन्छन् । सामान्य जीवनयापन गर्छन् । हामी किन त्यसो गर्न सक्दैनौँ ? कोरा सिद्धान्तको मात्र कुरा गरेर हुँदैन । भड्किलो जीवनशैली कहाँबाट आउँछ ? पैसा आफैँ बर्सिंदैन । जमिनबाट उर्म्रंदैन । कुनै वैधानिक कमाइ नहुनेले कसरी मासिक दसौँ लाख रुपैयाँ खर्च गरिरहेको छ ? त्यो कहाँबाट आएको छ ? अवश्य पनि उनीहरू कमिसन, भ्रष्टाचार, ठूला पुँजीपतिहरूसँग साँठगाँठमा छन् । कुनै न कुनै गलत कुरा जोडिएको छ । त्यसैले तिम्रो जीविकाको स्रोत के हो भनेर जनताले प्रश्न सोध्दा उत्तर दिन सक्ने बन्नुपर्दछ । जनताको विश्वास आर्जन गरिरहने हो भने हामीले हाम्रो जीवनलाई पारदर्शी बनाउनैपर्दछ ।

हिजो योगदान गरेका, वर्षौं जेलजीवन बिताएका, भूमिगत भएर त्याग गरेका नेता आज किन अपारदर्शी जीवनतिर रमेका होलान् ?

हिजो जतिसुकै वर्ष जेल बसेको, भूमिगत भएको, योगदान गरेको नेता भए पनि आज बिग्रिएको छ भने त्यसलाई ठूलो नेता मानिरहनु हुँदैन । त्यसलाई बिग्रिएकै रूपमा हेर्नुपर्दछ । कुनै पनि फल ताजा हुँदासम्म मीठो हुन्छ । बिग्रिएपछि त्यसलाई कुहिएकै रूपमा बुझ्नुपर्दछ । मान्छे कुनै समय असल, योग्य, क्षमतावाद, चरित्रवान, त्यागी हुनसक्छ । त्यही मान्छे अवसर पाउन साथ प्रलोभनमा परेर बिग्रने, कुहिने, भ्रष्ट हुने सम्भावना पनि रहन्छ । संसारका राजनीतिक आन्दोलनमा मात्र होइन, हाम्रै देशमा पनि त्यस्ता धेरै उदाहरण छन् । त्यसैले यसलाई निरपेक्ष मान्नु हुँदैन । मान्छे नमर्दासम्म उसको जीवनको परीक्षा भइरहन्छ । मैले यति धेरै काम गरेँ, अब म सर्वगुण सम्पन्न भइसकेँ, सर्वज्ञाता छु, म कहिल्यै पनि बिग्रने कुरा हुँदैन भन्ने हुँदैन । हरेक नेता आजीवन परीक्षामा हुन्छ । ऊ मान्छे हो । मान्छेबाट थुप्रै कमीकमजोरी पनि हुनसक्छ, मान्छेबाटै धेरै राम्रा काम पनि हुन्छन् । त्यसैले यो पक्षलाई हरेकले बुझ्नुपर्दछ ।

लामो समय कांग्रेसले मुलुक हाँक्यो । त्यसबेला कांग्रेस र ऊ निकटहरूले राज्यशक्तिको दोहन गरे । यसपटक जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरेर ठूलो म्यान्डेट दिए । तर पनि जनताले सुशासनको अनुभूति गर्न नयाँ संस्कारको थालनी भएको हेर्न पाएनन् । किन ?

लामो संघर्षको कारण मुलुकमा युगिन परिवर्तन भयो । तर, समाजको चिन्तन र परिपाटी अझै पुरानो छ । राज्यसत्तामा नेतृत्व गर्ने नयाँ शक्ति आए पनि ब्युरोक्रेसी पुरानो छ । राज्य संयन्त्र पुरानै छ । त्यसैले बदलिएको राजनीतिअनुसार त्यो परिवर्तनको अनुभूति जनतामा भएन । जसका कारण, पुरानो राज्यसंयन्त्र र नयाँ नेतृत्वको बीचमा अन्तरविरोध देखिन्छ । अर्कोतर्फ, कार्यपालिका र व्यवस्थापिकामा कम्युनिष्ट पार्टीको बहमुत छ भए पनि आर्थिक आधार दलाल नोकरशाही पुँजीवादको हातमा छ । अर्थतन्त्रमा दलाल नोकारशाह पुँजीवादको नियन्त्रण छ । यसले गर्दा पनि एउटा ठूलो अन्तरविरोध पैदा भएको छ । अहिलेको नेतृत्वले दलाल नोकरशाही पुँजीवादी उत्पादन सम्बन्धलाई परितर्वन गरेर त्यसलाई समाजवादी उत्पादन सम्बन्धमा रूपान्तरण गर्नुपर्ने छ । हिजो राजतन्त्र फाल्नभन्दा बढी कठिन अहिले दलाल नोकरशाही पुँजीवादलाई परास्त गरेर स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास गर्न परिरहेको छ । यो अन्तरविरोधमा नेतृत्वले आर्थिक आधारलाई बदल्न सक्छ कि आर्थिक आधारले नेतृत्वलाई आफूअनुकुल रुपान्तरण गर्छ त्यसैमा धेरै कुरा निर्भर देख्छु । दलाल नोकरशाही पुँजीवादले अहिलेको नेतृत्वलाई आफू अनुकुल बदली आफ्नो स्वार्थ पूरा गर्न उसले प्रयास गर्नेछ, गरिरहेको छ । राज्यसत्ताको संरक्षण नपाई दलाल नोकरशाही पुँजीवाद अगाडि बढ्न पनि सक्दैन । राज्यसत्तामा कम्युनिष्ट पार्टी छ । यो परिस्थितिमा दलाल पुँजीवादकै सेवामा, उसैलाई प्रोत्साहित–प्रेरित गर्ने किसिमले राज्यसत्ता सञ्चालन गरिरहने, तर समाजवाद भन्न पनि नछोड्ने हो, कम्युनिष्ट पार्टी भन्न पनि नछोड्ने हो भने हामी सकिन्छौँ । तर, साँच्चै दलाल पुँजीवादी नियन्त्रणबाट अर्थतन्त्रलाई मुक्त गर्ने र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण गरी राष्ट्रिय पुँजीको विकास गर्ने, उत्पादनशील पुँजीको विकास गर्ने र समाजवादको आधार तयार गर्ने बाटोमा हिँड्न हिम्मत गर्ने हो भने हामी लक्ष्यमा पुग्न सक्छौँ । यो लडाइँमा कसले जित्छ हेर्न बाँकी छ । यसैमा हाम्रो परीक्षा हुन्छ । हिजो जेल बस्दा, लडाइँ लड्दा आन्दोलन गर्दा हामीले जित्यौँ । त्यसैले यहाँसम्म आयौँ । अबको लडाइँमा कसले जित्ने हो ? हामी कम्युनिष्टहरू पुँजीवादलाई जितेर समाजवादतिर जाने हौँ या पुँजीवादले कम्युनिष्ट नेतृत्वलाई जितेर आफूअनुकुल बनाउने हो गम्भीर प्रश्न हाम्रा सामु छ । यो लडाइँमा विजय प्राप्त गर्न फेरि पनि त्याग समर्पण र निःस्वार्थ भावको आवश्यकता छ । स्वार्थरहित तरिकाले काम गर्न सक्यौँ भने मूलतः (यद्यपि हाम्रा नीति, हाम्रा योजना, हाम्रो कार्यान्वयन, हाम्रो दक्षता यी सबै कुराले काम गर्छ तर,) देश र जनताको सेवाको लागि काम गर्नुपर्छ, मैले आफूलाई आजीवन देश र जनतामा समर्पित गर्नुपर्छ भन्ने ठानेर, कम्युनिष्ट पार्टीको निष्ठा र आदर्श नभुली अघि बढ्यौँ भने हामीले फेरि अर्को नयाँ दिग्विजय हासिल गर्न सक्छौँ । त्यो सम्भावना छ । त्यो आधार छ । खासगरी पार्टीभित्रका मान्छेलाई लोभलालचबाट मुक्त गर्ने, मेहनती, परिश्रमी, इमान्दार र सच्चरित्रवान बनाउन सक्यौँ भने मात्र यो लडाइँ हामीले जित्न सक्छौँ । मुलुकलाई समाजवादमा लैजान सक्छौँ ।

म फेरि पनि भन्छु, हामीलाई जोगाउँछ भने कम्युनिष्ट आदर्श र विचारले नै जोगाउँछ । यहाँसम्म हामीलाई कम्युनिष्ट आइडोलोजीले नै ल्याएको हो भन्ने यथार्थलाई भुल्नु हुँदैन ।

आफ्ना प्रसंशकलाई मात्र योग्य देख्ने, आलोचना गर्नेहरूलाई अयोग्य देख्ने वा देख्दै नदेख्ने, आफ्नो वरिपरि घुम्नेलाई मात्र योग्य देख्ने कमजोरी नेतृत्वले तत्काल हटाउनुपर्छ ।

अब नारा र भाषणका भरमा जनताले पत्याउँदैनन् । हाम्रा व्यवहारबाट जनताले यो कस्तो पार्टी हो ? यो कसको पार्टी हो भन्ने छुट्याउनेछन् ।

यहाँले यसो भनिरहँदा अखबारका पाना काण्डैकाण्डले भरिएका देखिन्छन् । केही निश्चित व्यक्ति, समूह राज्यशक्ति, स्रोतमा हावी भइरहेको देखिन्छ । यसले त वर्तमान सरकारलाई विगतको कांग्रेसभन्दा के फरक देखायो र ?

घटनाक्रम धेरै छन् । अब यी कसरी अगाडि बढ्छन्, हामी हेरिरहेका छौँ । हल्लाको भरमा त कुद्नु हुँदैन । तर, के भइरहेको छ भन्ने कुरालाई असाध्यै चनाखो भएर पार्टीपंक्तिले हेर्नुपर्दछ र बेठीक कुराहरूलाई निर्ममतापूर्वक सच्याउन अगाडि बढ्नुपर्दछ । गलत कुरासँग सम्झौता गर्ने, गलत कुरासँग डराउने हच्किने र चुपलागेर बस्ने गर्नु हुँदैन । बेठीक कुराको विरोध गर्दै पार्टीलाई सच्चा लोकतन्त्रवादी, सच्चा समाजवादी, साँचो अर्थमा कम्युनिष्ट क्रान्तिकारी, माक्र्सवादी पार्टीको रूपमा निरन्तर जीवित राख्न पार्टीभित्रका तमामखालका खराबी, विकृति, विसंगतिविरुद्ध आन्तरिक लडाइँ लड्नुपर्दछ । हामीलाई अब कसैले समाप्त गर्छ भने हामीभित्रको बेठीक, गलत प्रवृत्तिले गर्ने हो । यदि हामीलाई कसैले लडाउँछ भने त्यो हामीभित्रको गलत आचरणले, गलत आर्थिक आचरणले मात्रै लडाउँछ । अहिले पार्टीभित्र पुँजीको हवला बढिरहेको छ । हामीलाई कम्युनिष्ट आचरणबाट च्युत गर्नका लागि पुँजीको हमला हामीमाथि भइरहेको हुन्छ । दलाल नोकरशाही पुँजीवाद र विदेशी साम्राज्यवादी शक्तिले कम्युनिष्टहरूलाई कसरी आर्थिक रूपमा भ्रष्ट बनाउने भनेरै लागिपरेका हुन्छन् । यो उनीहरूको स्वार्थ हो । यसमा हामी कत्तिको अडिन सक्छौँ, टिक्न सक्छौँ, त्यसले हाम्रो पार्टीको राजनीतिक भविष्य, नेपालको समाजवादी आन्दोलनको निर्धारण गर्छ । त्यसैले हामी गम्भीर परीक्षामा छौँ ।

संसारमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । तर, यहाँ जनताले कम्युनिष्ट पार्टीलाई अभूतपूर्व समर्थन जनाउँदै आएका छन् । यो यथार्थ र बाह्य चलखेललाई हेर्दा हामी कसरी अगाडि गयौँ भने हामी लक्ष्यमा पुग्न सक्छौँ र संसारलाई एउटा नयाँ उदाहरण बन्न सक्छौँ ?

वास्तवमा हामी जसरी अगाडि बनेका छौँ, यो संसारका कम्युनिष्ट पार्टीका लागि एउटा प्रयोग पनि हो । अबको कम्युनिष्ट आन्दोलन युद्धबाट पार लाग्ने सम्भावना देखिँदैन । संसारको वस्तुगत परिस्थित प्रतिकुल छ । अहिलेको अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति बर्जुवा नै किन नहोस्, त्यो लोकतान्त्रिक छ । जनताको आस्था, विश्वासको आधारमा अगाडि बढ्न पर्ने अवस्था करिब करिब विश्वभर नै देखिन्छ । यो नयाँ प्रयोगमा हामी अहिलेसम्म सफल भएका छौँ । यसअर्थमा दुनियाँको लागि यो अनुकरणीय छ । तर, आगामी दिनमा पनि सफल हुनका लागि हामी साँचो अर्थमा लोकतान्त्रिक हुन जरुरी छ । मुलुकलाई लोकतान्त्रिक तरिकाले चलाउने, पार्टीलाई सामूहिक नेतृत्वको आधारमा सञ्चालन गर्ने, हरेक निर्णय संस्थागत आधारमा गर्ने, कमीकमजोरीको आत्मालोचना गर्ने, हरेक कामको आत्मसमीक्षा गर्ने र गल्ती कमजोरी नदोहो¥योने, गल्ती कमजोरी भइहाले पनि सच्याउँदै जाने गर्नुपर्दछ । म फेरि पनि भन्छु, हामीलाई जोगाउँछ भने कम्युनिष्ट आदर्श र विचारले नै जोगाउँछ । यहाँसम्म हामीलाई कम्युनिष्ट आइडोलोजीले नै ल्याएको हो भन्ने यथार्थलाई भुल्नु हुँदैन । हामी कम्युनिष्ट भएकै कारण जनताले हामीलाई विश्वास गरे । यी कम्युनिष्टले नै हाम्रा दुःख, कष्ट पार लगाउँछन्, हाम्रो गरिबी हटाउँछन्, समाजनतासहितको राज्य बनाउँछन् भनेर विश्वास गरे । अहिले हामी गर्ने ठाउँमा छौँ । अहिले हामी बढ्ता बोलेर भन्दा बढ्दा काम गरेर देखाउनुपर्ने जिम्मेवारीमा छौँ । यो सम्झेर असाध्यै गम्भीर भएर गुटगत तथा निजी स्वार्थबाट नेतृत्व मुक्त हुनुप¥यो । आर्थिक प्रलोभनबाट मुक्त हुनुप¥यो । त्यसो भयो भने मात्रै हामी संसारकै लागि उदाहरणीय बनिरहन सक्छौँ ।

तर, पार्टीभित्र राम्रालाई भन्दा हाम्रालाई च्याप्ने चलन बढेको छ । आलोचना सुन्नै नचाहने, आलोचना गर्नेहरूलाई शत्रु सम्झने परिपाठी बढेको देखिन्छ नि ?

योग्यता र क्षमता भएको व्यक्ति नेतृत्वको चाकडीमा लाग्दैन । त्यसैले आफ्ना प्रसंशकलाई मात्र योग्य देख्ने, आलोचना गर्नेहरूलाई अयोग्य देख्ने वा देख्दै नदेख्ने, आफ्नो वरिपरि घुम्नेलाई मात्र योग्य देख्ने कमजोरी नेतृत्वले तत्काल हटाउनुपर्छ । जो इमान्दार छ, त्यो नेताको वरिपरि घुमिरहँदैन, चाकडी गरेर बस्दैन । मेरो योग्यता नेतृत्वले एकबेला देख्छ होला, बुझ्छ होला भनेर ऊ ठानिरहेको हुन्छ । तर, नेतृत्वले चाटुकारलाई मात्र योग्य देख्न थाल्यो भने पार्टी बिग्रन्छ, सिंगो राष्ट्र बिग्रन्छ । यो कुरा नेतृत्वले बुझ्नुपर्दछ । हामीले हाम्रो चिन्तनलाई आजको युगअनुसार बदल्नुपर्दछ । आजको आवश्यकताअनुसार पार्टी निर्माण र आजको आवश्यकताअनुसार सरकार सञ्चालन गर्नुपर्दछ ।

सरकारले समृद्धिको लक्ष्य लिएको छ । तर, त्यो सरकारका कार्यक्रम मेहनतकश जनताको घरदैलोमा पुग्न सकेको छैन । समृद्धिको यो कस्तो यात्रा हो ?

विकास निर्माण र समृद्धिको कुरा गर्दा त्यो समृद्धि कसका लागि भन्ने पनि बुझ्नुपर्दछ । मुठ्ठीभरका पुँजीपतिका लागि समृद्धि पनि समृद्धि नै हो, आम जनताको लागि समृद्धि पनि समृद्धि नै हो । हामी सर्वहारा, श्रमजीवी वर्गको नेतृत्व गर्ने, प्रतिनिधित्व गर्ने पार्टी भएको हुनाले अम बहुसंख्यक जनता समृद्ध भए देश समृद्ध हुन्छ भनेर बुझ्नुपर्दछ । बहुसंख्यक जनता गरिब हुने, बेरोजगार हुने, साँझबिहान खान लाउन नै समस्या हुने तर, केही मुठ्ठीभरका मान्छे आजका अर्बपति खर्बपति हुने, खर्बपतिहरूको संख्या बढ्ने र अर्कोतिर बेरोजगार गरिब जनताको ताँती लाग्ने अवस्था बन्यो भने जनता सन्तुष्ट हुँदैनन् । त्यो अवस्था आयो भने कांग्रेस–कम्युनिष्ट उस्तै रहेछन् भन्न थाल्नेछन् । र, आगामी निर्वाचनहरूका परिणाममा त्यसको स्पष्ट असर देखिनेछ । अब नारा र भाषणका भरमा जनताले पत्याउँदैनन् । हाम्रा व्यवहारबाट जनताले यो कस्तो पार्टी हो ? यो कसको पार्टी हो भन्ने छुट्याउनेछन् ।

प्रस्तुति : छविरमण अधिकारी

प्रतिक्रिया दिनुहोस्