Logo
Logo

लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया


441
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मंगलबार राप्ती उपत्यका (देउखुरी) स्थित लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलमा लुम्बिनी प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रिया एवं छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा दाबी भुक्तानी समयमै नदिई ढिलाइ गर्ने बीमा कम्पनीलाई कारबाही गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे । मुख्यमन्त्री चौधरीले बीमा दाबी भुक्तानी सजिलै भुक्तानी गर्ने वातावरण तयार गरी बीमा क्षेत्रलाई बद्नाम हुन नदिन आग्रहसमेत गरे ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशमा बीमा क्षेत्रको समग्र विकास एवं विस्तारका लागि प्रदेश बीमा नीति ल्याउनु आवश्यक भएको औँल्याउँदै बीमा नीति निर्माणमा सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । अध्यक्ष सिलवालले भने, “बीमा सम्बन्धमा आउने गुनासा कम गर्न प्राधिकरणले नीतिगत र व्यवहारिकरूपमा काम गर्दै आएको छ, आम नागरिकलाई सहजरूपमा बीमा सेवा पुर्याउन जोड दिइएको छ ।”

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष सिलवालले बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउने काम भइरहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमाको महत्व, बीमा बजारको विद्यमान अवस्था, बीमा क्षेत्रको विकास एवं विस्तारमा प्रदेश सरकारको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सहभागीले बीमा गर्न बीमा अभिकर्ता घरघरमा जाने तर दाबी भुक्तानी गर्न भने बीमा कम्पनीले ढिलाइ गर्ने वा नदिने गरेको गुनासो आउने गरेको, कृषि प्राविधिक र बीमा अभिकर्ताले पर्याप्त पारिश्रमिक नपाएका कारण कुषि बीमा विस्तार नभएको, हरेक स्थानीय तहसम्म बीमकका शाखा विस्तार गर्नु आवश्यक देखिएको उल्लेख गरेका थिए ।

यसैगरी बीमा कम्पनीहरूले अनिवार्य बीमा बाहेक अन्य बीमा गर्न नमानेको, लम्पी स्किन रोगका कारण क्षति भएका गाई, भैँसीको बीमा दाबी भुक्तानी नगरेको, कोरोना बीमाको दाबी भुक्तानी नपाएको, दाबी भुक्तानी समयमा नपाउँदा बीमाप्रतिको विश्वसनीयतामा कमी आएकोलगायतका धारणा सहभागीले राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रमुखसचिव र प्रदेश मन्त्रालयका सचिव, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक र प्रदेशस्थित विभिन्न सरकारी निकायका पदाधिकारीको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्