Logo
Logo

पहिचानवादीमाथि ओलीको धावा: कोशीमा एमालेको संकल्प यात्रा कति सहज ?



काठमाडौं । अहिले नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ जारी छ ।

यही मंसिर १४ गते बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका थिए । उक्त यात्रा पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ । एक हजार ८ सय ७९ किलोमिटर लामो १९ दिने यात्रामा एमालेका नेता कार्यकर्ता र शुभचिन्तक सहभागी छन् ।

उक्त यात्राअन्तर्गत एमालेले आज (बिहीबार) पर्वतमा सभा गर्यो । पर्वतको कुश्मामा सभालाई समबोधन गर्दै एमाले अध्यक्ष ओलीले पहिचानवादीलाई धम्की नै दिए । कोशी प्रदेश कसैको बिर्ता नभएको र एमालेलाई छिर्न नदिए पहिचानवादी सकिने उनले चेतावनी दिए ।

‘पहिचानवादीको नाममा भ्रममा पार्ने, फाटो पार्ने काम हुँदैछ । १ नम्बरमा कोशी प्रदेश साझा नाम राखियो, पृष्ठभूमिको नाम चाहियो भनेर विदेशबाट सञ्चालित, लोकतन्त्र हुन नदिने, अशान्ति फैलाउने, अरुको स्वार्थ पूर्ति गर्ने तत्व लागिपरेका छन्’ उनले भने, ‘कोशीमा प्रवेश गर्न दिन्नौँ भनेका छन् । नेकपा एमाले कहाँ जान पाउने, नपाउने भन्ने हुँदैन । नेपालको जमिन कसैको बिर्ता होइन, तोडफोड गर्छु, आक्रमण गर्छु भन्ने आतंककारी कुरा नगरे हुन्छ । यो बुद्धि फेरिहाल । होइन भने सकिन्छौँ । कत्राकत्रा क्रान्ति त समाप्त भए । यस्ता गतिविधि नगर्दा राम्रो हुन्छ ।’

कोशीमा पहिचानवादीले १० महिनादेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । ‘प्रदेश नम्बर १ पुनः नामकरण संघर्ष समिति’ले एमालेको यात्रालाई अवरोध गर्नेगरी कार्यक्रम घोषणा गरेको छ ।

घुर्मीबाट यस प्रदेशमा सुरु हुने संकल्प एमालेको यात्रालाई अवरोधका लागि पहिचानवादीले ‘घुर्मी–चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ चलाइरहेको छ । जनजागरण अभियानको उद्घाटन गर्दै घुर्मी–ओखलढुङ्गा–सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।

एमालेकै अभियानलाई लक्षित गरेर संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेको छ । समितिको निर्णय र स्थान जसरी तय भएको छ । त्यसले एमालेसँग आमनेसामने हुन खोजेका संकेत बुझिन्छ ।

तर, पहिचानवादी नेताहरूले भने कुनै दल विशेषविरुद्ध अभियान नभएको दाबी गरेका छन् । कोशी नामकरणको विरुद्धमा आन्दोलनलाई थप निर्णायक बनाउन पहाडी क्षेत्रका गाउँ गाउँमा अभियान थालिएको उनीहरुको दाबी छ ।

संघर्ष समितिले एमालेका केही नेताहरुलाई भने प्रदेशमा निषेधाज्ञा लगाएको छ । नामकरणविरुद्ध आन्दोलन गरिरहेको संघर्ष समितिले निषेध गरेपनि एमाले भने आफ्नो कार्यक्रम गरेरै छोड्ने ‘मुडमा’ छ । प्रदेशको सबैभन्दा ठूलो दल रहेको एमालेले पहिचानवादीलाई पेलेरै जाने सोच बनाएको छ ।

गत फागुन १७ गते एमालेका मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले तत्कालीन प्रदेश–१ लाई कोशी प्रदेश नामकरण गरेपछि त्यसको भोलिपल्टबाटै पहिचानवादी आन्दोलनमा उत्रिएका थिए । विशेषगरि एमालेविरुद्ध पहिचान पक्षधर नेता तथा सामाजिक संघसंस्थाहरू विरोधमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व आदिवासी जनजाति महासंघले गरिरहेको छ ।

संकल्प यात्रा सुरु हुन चार दिनअघि (मंसिर १० गते) एमाले सचिव योगेश भट्टराईमाथि पहिचानवादीले आक्रमण गरेको थियो । पार्टीको कार्यक्रमका लागि गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईलाई कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादीले ढुंगामुढा गरेका थिए ।

एमाले सचिव भट्टराई मात्र हैन, अध्यक्ष केपी ओलीसमेत पहिचानवादीको निसानामा पर्दै आएका छन् । केही समयअघि झापा, इलामलगायतका क्षेत्रमा ओलीलाई पहिचानवादीले अवरोध गरेका थिए ।

एमालेका नेताहरूले पहिचानवादीलाई उत्तेजित बनाउने अभिव्यक्ति दिएका कारण पनि उनीहरू तारोमा पर्ने गरेका छन् । एमालेभित्र पहिचानको नाममा पार्टीविरुद्ध आक्रमण हुन थालेको बुझाइ छ । राजनीति रङ्ग दिँदै एमालेले आफ्नो पार्टीका नेताहरुमाथि मात्रै आक्रमण हुने गरेको बताएपनि अन्य दलविरुद्ध पनि पहिचानवादी यसैगरी खनिँदै आएका छन् ।

गत मंगलबार मात्रै ओखलढुङ्गा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि पहिचानवादीले कालोझन्डा देखाएका थिए । जिल्लामा नवनिर्मित बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा पुगेका देउवासहितका नेताहरुलाई पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाए ।

त्यसैगरी माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई पहिचानवादीले लखेटेका थिए । पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसियाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका थिए ।

सबै दलका नेता पहिचानवादीको निसानामा पर्ने गरेका छन् । तर, सबैभन्दा बढी एमालेकै नेताहरू पर्ने गरेका छन् । यसको मुख्य कारण हो– पहिचानवादीप्रतिको नकारात्मक अभिव्यक्ति । अन्य दलले भने प्रदेशको नामकरणबारे सोच्न सकिने बताउँदै आएका छन् । सोही कारण उनीहरूप्रति पहिचानवादी अलि लचकजस्तो देखिएको छ ।

एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढेको छ । त्यसैले सुरक्षा प्रशासनले एमालेको अभियान र पहिचानवादीको कार्यक्रमलाई मध्यनजर गर्दै बेलैमा सुरक्षा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

कोशीमा कुन दिन कहाँ एमालेको कार्यक्रम ?

१३ औँ दिन– मंसिर २६ गते
प्रस्थानविन्दुः मन्थली
कोशी प्रदेश प्रवेश स्थानः घुर्मी
बासस्थानः दिक्तेल
कार्यक्रम सभाः हर्कपुर

१४औँ दिन– मंसिर २७ गते
प्रस्थान बिन्दुः दिक्तेल
बासस्थानः भोजपुर
कार्यक्रमः भोजपुर

१५औँ दिन मंसिर– २८ गते
प्रस्थान बिन्दुः भोजपुर
बासस्थानः बसन्तपुर
सभाः बसन्तपुर

१६औं दिन– मंसिर २९ गते
प्रस्थान बिन्दुः बसन्तपुर
बासस्थानः संक्रान्ति बजार
कार्यक्रमः संक्रान्ति बजार

१७औँ दिन– मंसिर ३० गते
प्रस्थान बिन्दुः संक्रान्ति बजार
बासस्थानः फिदिम
सभाः फिदिम

१८औँ दिन पुस १ गते पनि फिदिममै बस्ने एमालेको जनाएको छ । उक्त दिन भने एमालेले भेटघाटबाहेक अन्य कुनै कार्यक्रम नगर्ने जनाएको छ । एकदिन फिदिममा थकाई मारेपछि १९औँ दिन अर्थात् पुस २ गते फिदिमबाट काठमाडौं प्रस्थान गर्ने एमालेको तालिका छ ।

प्रतिक्रिया दिनुहोस्