Logo
Logo

रामबहादुर-सुरेन्द्रको विवाह यात्राका बाँकी लडाइँ




मंसिर १३ गते लमजुङको दोर्दी गाउँपालिकामा समलिङ्गी विवाह दर्ता भयो । रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डे कानूनी रूपमै श्रीमान–श्रीमती बने । समलिङ्गी बिहे दर्ता भएको यो दक्षिण एसियामै पहिलो हो । तेस्रोलिङ्गीसँगको बिहे दर्ता भने २०७४ असारमा डडेल्धुरामा भएको थियो ।

समलिङ्गी बिहे दर्ताको खबरले केहीले जिब्रो टोके ! कानेखुसी गरे– केटैकेटा बिहे भयो रे ! प्राकृतिको नियमविपरीत भएको टिप्पणी गरे । अब, बच्चा कसरी जन्माउँछन् ? भन्दै प्रश्न तेर्साए । विवाहलाई यौन र सन्तान उत्पान गर्ने वैद्यताका लागि मात्र बुझ्ने समाजले समलिङ्गी बिहे आश्चर्य मान्नु स्वभाविक हो ।

समलिङ्गी बिहेको खबरले केहीलाई खुशी मिल्यो । लैंगिक तथा यौनिक अल्पसंख्यकले त युद्ध नै जिते । आफूले रोजेको व्यक्तिसँग बिहे गर्न पाउनु मानव अधिकार भएको भन्दै समर्थन गरे । युवा पुस्ताको लागि यो बिहे खासै नौलो रहेन । यसअघि पनि थुप्रैले यस्ता बिहे गरेका छन् । दर्तामात्रै नभएको हो ।

समलिङ्गी बिहेबारे नेपालमा स्पष्ट कानुन छैन । जसले गर्दा यो बिहेमा केही जटिलता छन् । त्यसमाथि पितृसत्तात्मक मनोविज्ञान । लैङ्गिक पहिचानको कुरा सामान्य लागे पनि बिहेको विषय निकै पेचिलो छ । अर्कोतिर बिहे गरेपछि सन्तान जन्माउनै पर्छ भन्ने मान्यता । वंश जोगाउनकै लागि भएपनि बिहे गर्नुपर्छ भन्ने सोचाइ छ ।

दुनियाँमा वंश जोगाउन मात्र बिहे गरिँदैन । त्यसैले अहिले बाइसेक्सुआलिटीले मान्यता पाउन थालेको छ । ३४ भन्दा बढी देशमा समलिङ्गी बिहेले मान्यता पाइसकेको छ । यसलाई सन् २००१ मा पहिलोपटक नेदरल्याण्ड्सले मान्यता दिएको थियो ।

लमजुङको दोर्दी गाउँपालिकामा समलिङ्गी विवाह दर्ता भयो । रामबहादुर गुरुङ (माया) र सुरेन्द्र पाण्डे कानूनी रूपमै श्रीमान-श्रीमती बने । विवाह दर्ता गरे पहिलो लडाइँ जितेका रामबहादुर र सुरेन्द्रका लागि कानुन अभावमा लड्नु पर्ने हजारौँ लडाइँ बाँकी नै छन् ।

हामीलाई समलिङ्गी बिहे अप्राकृतिक लागे पनि पश्चिमा देशमा यो सामान्य भइसक्यो । तीनै देशमा एक शताब्दी अघि समलैङ्गिकतालाई अप्राकृतिक, अपराध र पाप मानिन्थ्यो । गैरकानुनी र नैतिकहीन गतिविधिमा पथ्र्यो । घृणाको नजरले हेरिन्थ्यो ।

विपरीत लिङ्गप्रति आकर्षणलाई सामान्य मानिन्छ । त्यसैले महिला र पुरुषबीचको बिहे सामान्य भयो । तर, कहिल्यै सोच्नु भएको छ– महिला र पुरुषको बिहे कसरी सामान्य भयो ? महिला र पुरुषले बिहे गर्नुपर्छ भनेर कसले सिकायो ? कसले बुझायो ?

धेरैले भन्नु होला– यो पनि सिकाउनुपर्छ र ? बुझाउनुपर्छ र ? यो त प्राकृतिक नै हो ! जसरी यो प्राकृतिक भनेर महसुस भयो । उसैगरी लैंगिक तथा यौनिक अल्पसंख्यकभित्र पनि समान लिङ्गीप्रति प्राकृतिक रूपमै आकर्षण पैदा हुन्छ । धेरैलाई हुने आकर्षणलाई प्राकृतिक र थोरैलाई हुने आकर्षणलाई अप्राकृतिक भन्न मिल्दैन । कोही समलैङ्गिक वा उभयलिङ्गी छ भने यसमा उसको कुनै कसुर हुँदैन । उसको चाहना त्यति नै सामान्य हो, जति हेटरोसेक्सुअलमा हुन्छ ।

हाम्रो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकलाई गोलमोटोल तेस्रोलिङ्गीको रुपमा हेरिन्छ । तर, यौनिक अल्पसंख्यक पनि धेरै थरिका छन् । उनीहरूलाई ‘एलजीबीटीआईक्वीए प्लस’ समुदाय भन्ने गरिन्छ । यहाँ, सबैको पहिचान जनाउने शब्दको पहिलो अक्षर जम्मा गरिएको हो ।

यी सबै अक्षरको आ–आफ्नै अर्थ छ । एल– लेस्बियन (महिला समलिङ्गी), जी– गे (पुरुष समलिङ्गी), बी–बाइसेक्सुअल (द्विलिङ्गी), टी– ट्रन्सजेन्डर (तेस्रोलिङ्गी), आई–इन्टरसेक्सुअल (अन्तरलिङ्गी), क्वी– क्वेअर–क्वाइसनिङ (विचित्र/प्रश्न) र ए–एसेक्सुअल (अलैंगिक) ।

को कस्ता हुन्छन् ?
महिला समलिङ्गीः
जो लैंगिक रूपले महिला हुन्छन् । तर, उनीहरूमा महिलालाई नै यौन साथी बनाउने चाहना हुन्छ । यस्ता महिला पुरुषप्रति आकर्षित हुँदैनन् ।

पुरुष समलिङ्गीः जो, पूर्णरूपले पुरुष हुन्छन् । तर, उनीहरू महिलाप्रति आकर्षित हुँदैनन् । महिलालाई सेक्सपार्टनर बनाउने चाहना हुँदैन । पुरुषप्रति नै आकर्षित हुन्छन् ।

द्विलिङ्गीः केही महिला र पुरुष त्यस्ता हुन्छन् जो यौनका लागि समानलिङ्गी र विपरीतलिङ्गी दुवैप्रति आकर्षित हुन्छन् । यस समूहका व्यक्तिले कुनैबेला समलिङ्गीजस्तो र कुनैबेला विपरीतलिङ्गी जस्तो यौन व्यवहार देखाउँछन् ।

तेस्रोलिङ्गीः लैंगिक तथा यौनिक अल्पसंख्यकलाई धेरैले तेस्रोलिङ्गीको रुपमा बुझ्ने गर्छन् । उनीहरू शारीरिक रूपमा महिला भए रोजाइले पुरुषजस्तो र शरीर पुरुष भए महिलाको जीवन बाँच्न चाहना हुन्छ । एक थरीको शारीर महिलाको हुन्छ, तर लवज, हाउभाउ तथा सामाजिक भूमिकामा पुरुषजस्ता देखिन्छन् । अर्कोथरी पुरुष जननेन्द्रिय लिएर जन्मे पनि हाउभाउ, स्वभाव र व्यवहार महिलाको जस्तो हुन्छ ।

अन्तरलिङ्गीः अन्तरलिङ्गीको यौनाङ्ग छुटिएको हुँदैन । एउटै शरीरमा स्त्री र पुरुष दुवैका यौनाङ्ग नछुट्टिने गरी अस्पष्ट किसिमले बनेको हुन्छ ।

क्वेअर/क्वाइसनिङः यसले लैंगिक तथा यौनिक अल्पसंख्यक सबै वर्णन गर्दछ । यस्ता व्यक्ति समयसँगै परिवर्तन हुन सक्छ । र, पुरुष वा महिला, समलिङ्गी वा कुनै पनि पहिचानहरूमा राम्रोसँग फिट नहुन सक्छ । क्वाइसनिङले म कुन जेन्डर हुँ भनेर प्रश्न गरिरहेको हुन्छ । उसले आफ्नो लैङ्गिक पहिचान वा यौन झुकाव भेटिसकेको हुँदैन ।

अलैंगिकः यो समूहका व्यक्ति कुनै पनि लिङ्गका व्यक्तिप्रति यौन आकर्षण हुँदैन । तर, ब्रह्मचर्य भने होइन । ब्रह्मचर्य भनेको यौन क्रियाकलापबाट टाढा रहनु हो । यस्ता व्यक्ति यौन आकर्षणको अनुभव नगरी पनि विभिन्न कारणले यौन क्रियाकलापमा हुन सक्दछन् ।

खासमा शरीरका हार्मोनमा हुने परिवर्तनले महिला र पुरुषभन्दा थोरै भिन्न हुँदैमा उनीहरूलाई अप्राकृतिक भन्न मिल्दैन । विवाह महिला र पुरुषबीच मात्र हुन्छ भन्ने कुनै आफैँ बनेको प्राकृतिक नियम होइन । यो समाजले बनाएको नियम हो ।

एकपटक सोचौँ- समाजले पाइलैपिच्छे तिरस्कार, अपमान र भेदभावपूर्ण व्यवहार गर्दा तपाईँलाई कस्तो लाग्ला ? अर्कै लोकका मान्छेजस्तो ठान्दा कस्तो होला ? विभिन्न शब्दको प्रयोग गरेर गिज्याउँदा मन छियाछिया हुन्छ कि हुँदैन ? अधिकारका लागि राज्यसँग लड्दा, आफूले प्रेम गरेको मान्छेसँग बिहे गर्न नपाउँदा, राज्यले अनागरिक ठान्दा कस्तो होला ? एकपटक मानव भएर सोचौँ ।

मान्छेको पहिचान उसको बाहिरि शारीरिक बनावट मात्रै पक्कै होइन । भित्र पनि थुप्रै पहिचान हुन्छन् । उनीहरूको पहिचन खोइ स्वीकार गरेको ? लैंगिक तथा यौनिक अल्पसंख्यकप्रति राज्य गम्भीर हुनुपर्ने होइन र ? कि उनीहरू नागरिक नै होइनन् ?

नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकले लैंगिक पहिचानसहितको नागरिकता पाउने व्यवस्था गरेको छ । तर, उनीहरूले सरल र सहज तरिकाले आफ्नो पहिचानको आधारमा कहिले नागरिकता पाउने ? हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चल्छ । तर, लैंगिक तथा यौनिक अल्पसंख्यकको माग कहिल्यै सम्बोधन हुँदैन ।

वैवाहिक मान्यता दिइसकेपछि छोराछोरी जन्माउन चाहने दम्पतीको लागि व्यवस्था गरिनु पर्दैन ? आइभीएफ गर्न सरोगेसी चाहिँदैन ? बच्चा एडप्ट गर्न चाहनेहरूका लागि कानुनी आधार स्पष्ट पार्नु पर्दैन ? समलिङ्गी विवाह गर्नेहरूको डिभोर्स भए के गर्ने ? सम्पत्तिको हक के हुन्छ ? त्यो स्पष्ट हुनेगरि कानुन बनाउनुपर्ने दायित्व राज्यको होइन ? ‘एलजीबीटीआईक्वीए’ समुदायको पनि त यो देश होला । तर, राज्य यो गम्भीर विषयमा बेखबर छ ।

अन्य राष्ट्रका कानुनी व्यवस्थालाई समेत अध्ययन गरी नेपालमा पनि ‘एलजीबीटीआईक्वीए’को लागि कानुन बनाउन अपरिहार्य भइसकेको छ । समलिङ्गी, द्विलिङ्गीवा तेस्रोलिङ्गी हुनु विकृति नभई व्यक्तिको स्वतन्त्र लैंगिक तथा यौनिक पहिचान हो । समाजले उनीहरूको सम्मान गर्नुपर्छ । उनीहरूको लागि राज्यले स्पष्ट कानुन बनाइदिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्