Logo
Logo

कोरोना भाइरसले २ हजार ११८ को मृत्यु, ७४ हजार ५७६ जना संक्रमित


- दृष्टि न्युज/संवाददाता


बेइजिङ, ८ फागुन (एपी) । कोरोना भाइरसको संक्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीले बिहीबार जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या बृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।
गत मंगलबार एकैदिन यस भाइरसको संक्रमणका कारण १३६ जनाको मृत्यु भएको थियो । बुधबारको दिन यस भाइरस संक्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको संख्या २ हजार ११८ पुगेको समाचारमा जनाइएको छ । बिहीबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको संख्या दुई हजार ११८ पुग्नुको साथै ७४ हजार ५७६ व्यक्ति संक्रमित भएका छन् ।
यस भाइरसको प्रकोप नियन्त्रणका लागि विश्वका नेताले चीनलाई साथ दिने प्रतिबद्धता जनाउँदै आएका छन् । संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, युरोपेली युनियनसहित विश्वका नेताले पनि यो संक्रमणको नियन्त्रणमा चीनलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत संक्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्