Logo
Logo

अख्तियारको निगरानीमा भन्सारका डिजी



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वास गरेर भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ । भन्सारका कर्मचारीहरुसँग सेटिङ गरेर अहिले पनि करोडौंका सामानहरु भित्रिरहेको सूचनाका आधारमा महानिर्देशक पौडेलमाथि निगरानी बढाइएको हो ।

अख्तियार स्रोतका अनुसार वीरगञ्ज सुक्खा बन्दरगाहमा आउने कन्टेनरहरुमा भन्सारकै कर्मचारीहरुको सेटिङमा सुपारी, केराउ, पोस्तादाना, ल्वाङ, सुकमेल र विदेशी मदिरा आएको सूचना पाएपछि महानिर्देशक पौडेललाई अख्तियारले वयानका लागि बोलाएको छ ।

अख्तियार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङबिना सुन, सुपारी, विदेशी मदिरा, पोस्तादानालगायत सामग्री कन्टेनरमा आउन सम्भव नै छैन । वर्षौंदेखि भन्सारका कर्मचारीहरुसँगको मिलेमतोमा अर्बौं राजस्व छली र तस्करी भइरहेको छ । एउटा सामानको भन्सार तिरेर अर्कै अवैध सामान भन्सारबाटै बाहिरिन थालेको सूचनाका आधारमा महानिर्देशक पौडेललाई अख्तियारले शंकाको घेरामा राखेको हो ।

अर्थमन्त्री महतका विश्वासपात्र पौडेल महानिर्देशक भएर भन्सार विभागमा गएको एक महिनामै रेडी ट्रेडर्सले एक हजार ९ सय ९७ किलो सामान भन्सारबाट बाहिर निकालेको थियो । जसमध्ये असार २९ गते ३६ वटा कार्टुनमध्ये ८ कार्टुन राजस्व अनुसन्धान विभागले बरामद गरेर हेर्दा त्यसमा ६० किलो सुन फेला पारेको थियो ।

यस प्रकरणले पनि विभिन्न सामानको नाममा सुन तस्करी भइरहेको पुष्टि हुन्छ । यस घटनामा केन्द्रीय अनुसन्धान ब्यूरोले महानिर्देशक पौडेलसँग सोधपुछसमेत गर्न आवश्यक ठानेन । उल्टै महानिर्देशक पौडेलले हङ्कङको भन्सारलाई सामान चेक नगरी किन पठाएको भनेर पत्राचार गरे । जबकि नेपालको भन्सारमा आएको सामान चेकजाँच गर्ने काम नेपालकै भन्सारको हो ।

भन्सार स्क्यानरले समेत शंकास्पद वस्तु देखाउँदा पनि भन्सार कर्मचारीले त्यस्ता सामानको पुनः परीक्षण गर्न आवश्यक ठानेन । जसका कारण रेडी ट्रेडर्सले ब्रेक सुको नाममा पटक–पटक त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करी गरेको पुष्टि हुन्छ । तर पनि महानिर्देशक पौडेलले आफू तस्करीमा संलग्न नभएकोले, संलग्न कर्मचारीहरुमाथि कडा कारबाही हुन्छ भन्दै नैतिक जिम्मेवारीबाट उम्कँदै आएका छन् । पौडेल महानिर्देशक भएर आएपछि रेडी ट्रेडर्सले पटक–पटक गरी ८७३ किलो ब्रेक सु भित्र्याएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयका सचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएर नपठाएको भए त्यो ६० किलो सुन पनि समातिने थिएन । प्रधानमन्त्री कार्यालयले सुन तस्करीको सूचना पाउने, तर भन्सार विभागले त्यही सुन ‘ब्रेक सु’को नाममा सेटिङबाट बाहिर पठाउनुले सुन तस्करीमा भन्सार कर्मचारीहरु मात्र होइन, विभाग पनि जिम्मेवार देखिन्छ ।

भन्सारकै सेटिङमा देशभरि तस्करी मौलाउन थालेपछि भन्सारबाट छुटेका सामानमाथि राजस्व अनुसन्धान विभागले विशेष अप्रेशन थाल्ने योजना बनाएको छ । भन्सारले एउटा सामानको भन्सार शुल्क लिएर अर्कै सामान भित्र्याउन थालेपछि अख्तियारमा उजुरी बढ्ने क्रम पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्