Logo
Logo

विद्युतीय बसमा यात्रुको आकर्षण


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ९ फागुन । एकान्तकुनाकी सम्झना घले केही समय कुरेर भए पनि विद्युतीय बसमा यात्रा गर्नुहुन्छ । अरु बसभन्दा आवाज नआउने, गन्ध नआउने भएकाले उहाँले विद्युतीय बस चढ्ने गर्नुभएको हो । विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बस नै कम भएको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, “कहिलेकाहीँ त एउटा भर्खर जाँदा घण्टौँ कुर्नुपर्छ, त्यसैले केही समय कुर्दा पनि आएन भने अरु गाडिमा हिँड्ने गर्छु ।” सुन्दर यातायात प्रालीले काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेको विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको पाइएको छ । चक्रपथका रुटमा दैनिक धेरै सङ्ख्यामा सवारीसाधन गुड्ने भए पनि यात्रु यही बस कुरेर चढ्ने गरेको पाइएको हो । डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी हुने यात्रु बताउँछन् । विशेष गरी युवापुस्ता कुरेर पनि विद्युतीय बस चढ्ने गरेको पाइएको प्रालीले जनाएको छ ।

चार बसबाट नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन शुरु गरेको सुन्दर यातायातले छिट्टै नै थप २५ बस ल्याउने भएको छ । बसमा यात्रुको आकर्षण बढिरहेको प्रालीका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । यात्रुको आकर्षण बढिरहेकै कारण र डिजेलभन्दा विद्युतीय बसमा नाफा हुँदा बस थप गर्ने प्रालीले जनाएको छ ।

चीनबाट खरिद गर्न लागिएको बसका लागि रकम भुक्तानी भइसके पनि उसले पछिल्लो दिनमा सामान निर्यात नगर्दा बस आउन नसकेको हो । गत भदौमा नै रकम भुक्तानी भइसकेको प्रालीका अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले बस निर्माण गरिसकेकाले समस्या हल हुनासाथ आउनेछ ।”

गत असोजमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गर्नुभएको थियो । ती चारै वटा बस हाल चक्रपथमा गुडिरहेका छन् । डिजेलबाट चल्ने बसभन्दा यी बसमा औसत रु दैनिक तीनदेखि चार हजार बढी नाफा हुन्छ । डिजेलबाट चल्ने गाडीले दैनिक झण्डै रु चार हजारदेखि चार हजार ५०० सम्मको पेट्रोलियम पदार्थमा खर्च हुन्छ । विद्युतीय बस चार्ज गर्दा दैनिक ९०० देखि एक हजार १०० सम्म खर्च हुने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीलाई तलबलगायतका कुरामा बराबर खर्च भए पनि डिजेल नचाहिँदा सञ्चालन खर्च कम लाग्छ ।”

बस सञ्चालन खर्च कम हुने भन्दै प्रालीले पहिलो चार महिनामा यात्रुलाई भाडामा छुट दिएको थियो । प्रालीले २० प्रतिशत भाडा कम लिने गरेकामा अरु यातायात व्यवसायी र यातायात व्यवस्था विभागले हालका लागि बराबर नै लिन भनेको अध्यक्ष थापाले बताउनुभयो । हाल भाडाका लागि कुनै मापदण्ड नभएको भन्दै विभागले बराबर लिन भनेको हो । उहाँले भन्नुभयो, “कतिपय यात्रुले भाडा कतै बढी कतै कम भनेकाले पनि एउटै बनाउन डेढ महिना पहिलेबाट अरुले लिने जतिकै लिइरहेको हो ।”

अहिले सञ्चालन भएका र निर्माण भइरहेका बस डिजाइनमा नेपाली प्राविधिक संलग्न रहेको अध्यक्ष थापाले बताउनुभयो । युरोपमा चल्ने जस्तो बस हुँदा यहाँको सडकमा उपयुक्त नहुने भन्दै यहाँको सडक सुहाउँदो बस डिजाइन भएको उहाँले बताउनुभयो । बस काठमाडौँका अहिलेको सडकमा गुड्न उपयुक्त रहेका छन् । कतिपयले सडक खाल्डाखुल्डी हुँदा वा उकालो हुँदा गुड्न कठिन हुने भने पनि त्यसले समस्या नभएको उहाँले बताउनुभयो । ब्याट्रीमा पानी पर्नसक्ने अवस्थामा मात्रै समस्या आउनसक्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा पानीको मात्रा धेरै हुँदा डिजेलबाट चढ्ने गाडीको इञ्जिनमा समस्या पर्छ भने विद्युतीय बसको ब्याट्रीमा समस्या आउँछ ।”

सञ्चालनमा रहेका र आगामी दिनमा भित्रने बस आधुनिक र सुविधासम्पन्न रहेको बताइएको छ । बसमा तीन वटा ‘एयर कन्डिसन’, सात वटा ‘सिसिटिभी’ रहेको थापाले बताउनुभयो । बसमा भाडा तिर्दा मोबाइलबाट समेत तिर्नसक्ने व्यवस्था रहेको छ । उहाँले भन्नुभयो, “यात्रुले बसबाट झर्दा बिल पाउने र उक्त बिलमा यात्रु चढेको र झरेको समेत उल्लेख हुनेछ ।”

अहिले सञ्चालनमा रहेका बस ४० र ३५ सिट क्षमताका छन् । १० दशमलव ५ मिटरको ४० सिट क्षमता भएको बसको खरिद मूल्य रु एक करोड ६२ लाख रहेको छ । त्यस्तै ३५ सिट क्षमता भएको बसको लम्बाई आठ दशमलव पाँच मिटर र खरिद मूल्य ५२ लाख रहेको छ । यी बसहरु एक पटक पूरै चार्ज गर्न ६० देखि ८० मिनेटसम्म लाग्ने बताइएको छ ।

तीन सय बस खरिद प्रक्रिया अघि बढेन

विद्युतीय बस सञ्चालनमा निजी क्षेत्रको अघि सरिरहे पनि सरकारी बस खरिद प्रक्रिया अन्योलमा छ । सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको ३०० बसको प्रक्रिया अघि बढ्न नसकेपछि सरकारले सो रकम फिर्ता लिएको छ । सो रकमले सरकार आफैँले बस किन्ने वा अरु संस्थालाई दिने भनी टुङ्गो लाग्न सकेको छैन ।

वाग्मती प्रदेश सरकारले पनि बस खरिदका लागि साझालाई दिने भनिएको रु ३० करोड नदिने निर्णय गरिसकेको छ । विद्युतीय बस खरिदका लागि तीनै तहका सरकारले निर्णय गरेका थिए । यसका लागि नेपाल सरकारले रु तीन अर्ब, प्रदेश ३ ले रु ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले रु दुई करोड ५० लाखको शेयर खरिद गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्