Logo
Logo

हङकङमा जब गुञ्जियो ‘सरलै सर…’



काठमाडौं । गायक सुसन साम्सोहाङ लिम्बू हङकङमा सांगीतिक एकल साँझमा प्रस्तुत भएका छन् । केही समययता हङकङमा रहेका उनले यही डिसेम्बर १६ तारिखमा हङकङको जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा एकल गायनमा प्रस्तुत भएका हुन् ।

साम्सोहाङ परिवार हङकङ र याक एण्ड यति रेष्टुरेण्टद्वारा आयोजित ‘सुसन साम्सोहाङ सांगीतिक साँझ’मा गायक सुसनले आफ्ना लोकप्रिय गीतसहित करिब दर्जन गीत गाएर दर्शकलाई नचाएका थिए । उनलाई हङकङमा बस्दै आएका नेपाली कलाकारले साथ दिएका थिए ।

कार्यक्रममा आफ्नो चर्चित लिम्बू भाषाको गीत ‘सरलै सर’ गाउँदा दर्शकले उनलाई भरपूर्ण साथ दिएका सथए । सोही क्रममा सुसनले ‘यो मिठो जीन्दगी’, ‘आँखैमा राखुँकि, ‘जालै काट्यो’, ‘धरान हुँदै धनकुटा’ र ‘हङकङ बजार’ जस्ता गीतहरु प्रस्तुत गरेका थिए । सुसनको प्रस्तुतीमा नेपालीमात्र नभइ चिनियाँ युवा युवतीले समेत मज्जा लिएका थिए ।

हङकङमा पहिलोपटक एकल साँझमा प्रस्तुत भएका गायक सुसनले आफूलाई साथ दिने कलाकारलाई आफ्नै तर्फबाट आर्थिक सहयोग प्रदान गरेका थिए । हालसम्म जतिपनि नेपाली कलाकारले हङकङमा प्रस्तुती दिए तर, उनीहरुले साथ दिने कलाकारलाई बेवास्ता गर्थे । यद्दपि, हङकङ पुग्ने जोकोही कलाकारका लागि स्थानीय कलाकरको साथ र सपोर्ट अपरिहार्य जस्तै छ ।

गायक सुसनले भने, ‘मलाई यहाँ साथ दिने डान्सर र गायक÷गायिकालाई आफ्नै तवरबाट पारिश्रमिक दिएको छु । अहिलेसम्म कुनै कलाकारले नगरेको कामको थालनी गरेको हुँ ।’ उनले सो आफ्नो कार्यबाट हङकङमा रहँदै आएका कलाकारसमेत खुसी भएको सुनाए ।

एकल साँझमा सुसनलाई हङकङमै रहँदै आएका राजु आङ्देम्बे, कमानध्वज लावती, पवित्रा साम्पाङ राई, साक्थिम योङ्या, दिपेन इजमलगायतका गायक÷गायिकाले साथ दिएका थिए । यस्तै, कार्यक्रममा अस्मिता राई र स्नेहा गुरुङले नृत्य गरेर दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्