Logo
Logo

स्थायी सरकारका अस्थायी मन्त्री, किन काण्डमा फस्दैछन् मन्त्रीहरु ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ फागुन । देशमा पहिलो पटक गठन भएको भनिएको स्थायी सरकारका मन्त्रीहरुको पद भने अस्थायी देखिएको छ । कतिपय मन्त्रीहरु अनेक काण्डमा परेका छन् भने, कतिपय काम गर्न नसकेको आरोपमा हटाइएका छन् । सरकार गठन भएको दुई वर्षकै अवधिमा धेरै केन्द्र र प्रदेशका करिब एक दर्जन मन्त्रीहरुले विवादका कारण पद गुमाइसकेका छन् ।

आकस्मिक रुपमा पद गुमाउने पछिल्लो मन्त्री बनेका छन् गोकुल बाँस्कोटा । सेक्युरिटी प्रेस खरिदमा कमिसन ’डिल’ गरेको अडियो बाहिर आएपछि उनले नैतिकताका आधारमा राजिनामा दिएका हुन् ।

प्रधानमन्त्रीलाई धक्का

यसअघिका घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो समस्या भएको थिएन । तर, यसपटक भने उनलाई नै ठूलो धक्का लागेको छ । प्रधानमन्त्रीका सबैभन्दा निकट भनेर चिनिने मन्त्री यसरी कमिसनकाण्डमा मुछिएपछि उनीमाथि समेत प्रश्न उठेको हो । ओलीकै घर बालकोटमा बस्दै आएको र उनले केही दिनअघि मात्र बाँस्कोटाको प्रशंसा गरेकाले यो प्रकरणले ओलीलाई नै धक्का लागेको हो । यो घटनाबाट प्रधानमन्त्री आफ्नो बचाउ गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

यो घटनाबाट ओलीले पाठ सिक्नुपर्ने कर्मचारीहरु बताउँछन् । उनले विश्वास गरेका सचिवालयकै कतिपय व्यक्ति र सल्लाहकारहरु प्रधानमन्त्रीको आडमा अनेक धन्दामा आबद्ध छन् । त्यस्ता गतिविधि रोक्न नसके आगामी तीन वर्षमा नेकपा सरकार जनताको नजरमा उठ्नै नसक्ने गरी गिर्ने निश्चित छ ।

काण्डै काण्डमा मन्त्रीहरु

यसअघि ओली सरकारका मन्त्री शेरबहादुर तामाङले नैतिकताका आधारमा राजिनामा दिएका थिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले साउन ८ गते राजीनामा दिएका थिए । उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका थिए । साउन ४ गते बंगलादेशमा पढ्ने छात्राबारे उनले दिएको अभिव्यक्तिले विवादमा आएका थिए । उनले भनेका थिए, ‘बंगलादेशमा हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ । तर डाक्टरको सर्टि्फिकेट लिनका लागि मैले सुन्या छु, उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ । हाम्रा छोरीचेलीहरूलाई पढ्नलाई विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन ।’ चाबहिलको एक कलेजको कार्यक्रममा उनले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका थिए । यसले बंगलादेशमा अध्ययनरत छात्राहरुको अपमान भएको भन्दै विरोध भएपछि उनी राजिनामा दिन बाध्य भएका थिए । राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आँसु झार्न बाध्य भए ।

उनले आफ्नो विरुद्धमा पार्टीभित्रैबाट कतिपय लागेको आरोप लगाए । कतिपय कमजोरीलाई मूल विषय बनाएर प्रचारित गरिएको उनको गुनासो थियो । उनले आफू नारी अस्मिताको विषयमा गम्भीर भएको र पदभन्दा पनि प्रतिष्ठाको खातिर लड्ने व्यक्ति भएकाले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

२०६३ सालपछि विभिन्न काण्डमा अन्य केन्द्रीय मन्त्रीहरुले राजिनामा दिएका थिए । जसमध्ये एक हुन् मातृका प्रसाद यादब । २०६३ माघ १ मा अन्तरिम संविधान जारी भएपछि चैत १८ मा माओवादी पनि तत्कालीन सरकारमा सहभागी भएकोमा १७ दिनमै उनी बाहिरएका थिए । त्यो सरकारमा माओवादीका तर्फबाट उनी वन तथा भूसंरक्षण मन्त्री बनेका थिए ।

काठमाडौंमा आयोजित एक अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपाली सेना प्रकृति संरक्षण विरोधी रहेको बताएपछि रक्षामन्त्री समेत रहेका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग उनको विवाद बढेपछि उनले राजिनामा दिएका थिए । मन्त्री यादवले ललितपुरका स्थानीय विकास अधिकारीलाई मन्त्रालयको शौचालयमा थुनिदिएपछि त्यो विषयमा समेत विवाद भएको थियो । प्रधानमन्त्री ओलीसँग समेत उनको सम्बन्ध राम्रो नभएपछि केही महिनाअघि उनलाई हटाइएको थियो ।

त्यस्तै प्रभु साह पनि मन्त्री बनेको छोटो समयमै बाहिरिएका थिए । २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा साह भूमिसुधार मन्त्री बनेका थिए। विश्व हिन्दू संघका अध्यक्ष काशीनाथ तिवारीको हत्याकाण्डमा मुछिएपछि भूमि सुधार मन्त्री साह विवादमा परेका थिए । प्रहरीले उनलाई समेत मुद्दा चलाउन सिफारिस गरेपछि उनले राजिनामा दिएका थिए । पछि सरकारी वकिल कार्यालयले उनलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

बोलीकै कारण मन्त्री पद गुमाउने अर्का नेता हुन् शरदसिंह भण्डारी । २०६८ भदौ ११ गते गठित बाबुराम भट्टराई नेतृत्वको सरकारमा भण्डारी रक्षामन्त्री बनेका थिए । असोज ९ मा एउटा कार्यक्रममा उनले भनेका थिए– ’राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थिया ? तर जनताले रुचाएनन् र फालिदिए । तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन । मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । २२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरी राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ ।’ मधेस टुक्रिने अभिव्यक्तिको चर्काे विरोध भएपछि उनी राजिनामा दिन बाध्य भएका थिए । प्रतिपक्षी दलले संसद नै अवरोध गरेपछि उनले राजिनामा दिएका थिए ।

सुशील कोइराला नेतृत्वको सरकारमा कृषिमन्त्री नेकपा एमालेका हरि पराजुली प्रकरण पनि निकै चर्चित छ । उनले २०७२ असार १५ मा काठमाडौंको मूलपानीमा धान दिवस मनाउँदा महिलामाथि अशिष्ट व्यवहार गरेका थिए । त्यसको भिडियो भाइरल भएपछि उनले पनि पद गुमाएका थिए ।

सुशील कोइराला नेतृत्वको सरकारमा तत्कालीन नेकपा एमाले नेतृ राधा ज्ञवाली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारण पद गुमाइन् । सोलु करिडोर प्रसारण लाइन बनाउँदा अनियमितता गरेको आरोप लगाउँदै मन्त्री ज्ञवालीलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सिफारिस गरेपछि उनी बर्खास्तीमा परिन् । त्यस्तै खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा कानून मिचेको भन्दै तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई समेत अख्तियारै सिफारिसमा बर्खास्त गरिएको थियो । त्यस्तै पार्टीको आन्तरिक विवादका कारण तत्कालीन राप्रपा नेपालबाट सहरी विकास मन्त्री बनेका दिलनाथ गिरीले पनि आकस्मिक रुपमा पद गुमाउनुपरेको थियो ।

दुई वर्षमा चार प्रदेशमन्त्री बर्खास्त

हालसम्म विभिन्न काण्डमा चार प्रदेशमन्त्रीले पद गुमाइसकेका छन् । गत कात्तिकमा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले विवादपछि राजिनामा दिएका थिए । उनीसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा कीर्ते मुद्दा दायर भएको थियो । पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा दायर भएको थियो ।

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै उनीहरू विरुद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

पद गुमाउने पहिलो प्रदेश मन्त्री सुदूरपश्चिम प्रदेशका दीर्घराज सोडारी हुन् । २०७५ कार्तिक २७ गते सामाजिक विकासमन्त्री सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको थियो । सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड प्रधानमन्त्री समग्क्ष पुगेपछि उनलाई बर्खास्त केन्द्रीय सरकारको समेत निर्देशनमा प्रदेश सरकारले बर्खास्त गरेको थियो ।

त्यस्तै ठेक्कासम्बन्धि मुद्दाका कारण कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कहादुर खत्रीले ६ महिनाअघि पत्र गुमाएका छन् । नक्कली बैंक ग्यारेन्टी मार्फत् ठेक्का हात पारेको खुलेपछि उनीविरुद्ध समेत मुद्दा चलेको थियो ।

भोजपुरको एक कार्यालयको ठेक्का पाउन उनको निर्माण कम्पनीले बैंकका कर्मचारीलाई समावेश गर्दै नक्कली बैंक ग्यारेन्टी निर्माण गरेको थियो । उक्त प्रकरणमा उनी फरार रहेपछि उच्च अदालत पाटनले तत्काल पक्राउ गरेर पेस गर्न आदेश जारी गरेपछि उनको उक्त प्रकरण सार्वजनिक भएको थियो । उच्च अदालतले मन्त्री भएकै कारण कीर्ते ठगी मुद्दामा उन्मुक्ति नपाउने भनेपछि उनी राजिनामा दिन बाध्य भएका थिए ।

त्यस्तै मुख्यमन्त्रीसँगको विवाद र महिलासँगको सम्बन्धका कारण बाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले पद गुमाए । २०७५ कार्तिक १६ उनलाई काम गर्न असक्षम भएको र मुख्यमन्त्रीसँग मर्यादा कायम नगरेको भन्दै हटाइएको थियो । मन्त्रिपरिषद्कै बैठमा उनीहरुबीच भनाभन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्