Logo
Logo

वामदेवलाई प्रधानमन्त्री बनाउने खेल


- दृष्टि न्युज/संवाददाता


लोकतन्त्र आफैँमा समृद्ध हुँदैन । यसलाई समृद्ध बनाउन राजनीतिक दलका नेता र कार्यकर्ताहरुमा उँचो नैतिकता हुनुपर्छ । जस्तो भाँडोमा पानी राख्यो, त्यस्तै आकार लिन्छ भनेझैँ लोकतन्त्रको व्याख्या पनि वैज्ञानिकरुपमै गरिनुपर्ने हुन्छ । लोकतन्त्रको माध्यमबाट विश्वका धेरै देशहरुले समृद्धि हासिल गरेका छन् । लोकतन्त्रमा राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा राम्रो पक्षलाई ज–जसले आत्मसात गरेर अगाडि बढेका छन्, ती विश्व राजनीतिमा सफल राजनेता पनि बनेका धेरै उदाहरण छन् । जसले लोकतन्त्रलाई प्रयोग गर्ने माध्यम मात्र बनाएका छन्, ती विश्वमा असफल र नालायक शासक बनेका उदाहरण पनि छन् ।

नेपालमा अहिले नेकपाको दुईतिहाइको सरकार छ । संविधान कार्यान्वयनकै अवस्थामा छ । संघीयता नेपालका लागि नयाँ प्रयोग भएकोले यो सफल हुन्छ वा देश र जनताका लागि घाँडो बन्छ भन्ने कुरा छलफलकै विषय बनेको छ । यस्तो अवस्थामा फेरि संविधान संशोधन गरेर चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रयास भइरहेको छ । यो भनेको लोकतन्त्रलाई कुरुप बनाउने कुरा हो । जनताबाट चुनावमा पराजित व्यक्तिलाई झ्यालबाट संसद्मा पु¥याउने भनेकै ‘चोर बाटो’ हो । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । लोकतान्त्रिक शासन व्यवस्था भनेकै निर्वाचित जनप्रतिनिधिबाट चुनिएर प्रधानमन्त्री बन्ने शासन व्यवस्था हो । यति सामान्य कुरा वर्षौँदेखि लोकतान्त्रिक अभ्यास गर्दै आएका नेताहरुलाई सिकाउनुपर्ने कुरा होइन ।

तर पनि सत्ताको भोकले छट्पटाइरहेका हाम्रा नेताहरुलाई जसरी भए पनि सत्तामा पुग्नुछ । यसो भन्दैमा एक जना नेताका लागि दुईतिहाइको दुरुपयोग गरिनु हुँदैन । नेकपालाई जनताले दुईतिहाइ मत दिनुको अर्थ अधिनायकवादी बनाउन होइन । त्यो मत त संविधानबमोजिम राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि हो । यो कुरा आज नेकपाले भुल्दैछ । यदि नेपाली जनताको मतविपरीत नेकपा चल्न थाल्यो भने, त्यो नेकपाका लागि मात्र होइन, सिंगो देश र जनताका लागि पनि हानिकारक हुन्छ ।

प्रसंग, वामदेव गौतमको हो । उनी बर्दियाबाट निर्वाचन हारेका नेकपाका नेता हुन् । उनलाई प्रधानमन्त्री बनाउन नेकपाले संविधान नै संशोधन गर्ने दुष्प्रयास गरेको छ । राष्ट्रियसभाका सदस्यलाई पनि प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको तयारी हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली कमजोर हुँदै गएका कारण सत्ताका लागि उनले यस्ता अनुचित मागमा सहमति जनाउँदै गएका छन् । यस अगाडि नेकपाको विधान संशोधन गरेर गौतमलाई नेकपाको वरिष्ठ उपाध्यक्ष बनाइयो । त्यो पनि अधिनायकवादी शैली नै हो । नेकपाको एकता महाधिवेशन अर्को वर्ष गर्ने निर्णय भर्खरै मात्र भएको छ । नेकपाको विधान कस्तो बनाउने भन्ने कुरा महाधिवेशनबाट मात्र टुंगिन्छ । तर, लोकतान्त्रिक अभ्यास गरिरहेको दुईतिहाइको नेकपाले भने आफू अनुकूल विधान संशोधन गरेर कसैलाई काखा, कसैलाई पाखा गर्दै गएको छ । यस्तो प्रवृत्तिले न पार्टी पद्धति बलियो बन्छ, न त लोकतन्त्र नै ।

लोकतन्त्र भनेको आफू अनुकूल चलाउने प्रणाली होइन । यसका केही मुलभूत उद्देश्य र सीमा हुन्छ । त्यसअनुरुप आफूलाई ढाल्न सके मात्र लोकतन्त्र बलियो हुन्छ । जुन नेतामा न्यूनतम पनि नैतिकता हुँदैन, त्यो नेता लोकतन्त्रको परिभाषामा अट्न सक्दैन । तर, दुर्भाग्य गोरखाबाट चुनाव हारेका नारायणकाजी श्रेष्ठजस्ता नैतिकवान व्यक्ति पनि राष्ट्रियसभामा छिरेर आफ्नो छवि धुमिल पारे । श्रेष्ठले आफूलाई उदाहरणीय नेताका रुपमा उभ्याउन सकेनन् । राष्ट्रियसभामा श्रेष्ठको प्रवेश उनको नैतिक पराजय हो । अब नैतिक पराजय भोग्ने पालो वामदेव गौतमको आएको छ । यदि गौतमका लागि संविधान संशोधन गरियो भने त्यो गौतमका लागि मात्र नभई सिंगो नेकपाका लागि नैतिक पराजय हुनेछ । जनताले आगामी निर्वाचनमार्फत नेकपालाई सजाय दिनेछ । यसतर्फ नेकपाका नेताहरु गम्भीर हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्