Logo
Logo

निर्मला पन्त प्रकरण : पूर्वएआईजी नै छानबिनमा ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा फिल्डमा नगई प्रहरी नेतृत्वबाट कमजोरी भएको प्रष्ट भएको छ । तत्कालीन प्रहरी महानिरीक्षक लगायत उच्च अधिकारीले क्षमता अभावका कारण यो घटनामा प्रहरी र देशले ठूलो मूल्य चुकाउनुपरेको पछिल्लो छानबिनले प्रष्ट पारेको छ । हुचवा र भिडको भरमा प्रहरी नेतृत्वले निर्णय गर्दै जाँदा यस्तो समस्या देखिएको हो ।

प्रहरीले त्यसबेला पक्राउ परेका दिलिपसिंह बिष्टको डिएनए नमिलेको भन्दै छाडिएको थियो । तर, पछि अनुसन्धानमा डिएनए परीक्षण प्रक्रियामै त्रुटी भएको र अन्य प्रमाणका आधारमा दिलिप नै दोषी देखिएका थिए । जबकी अनुसन्धानमा लापरबाही गरेको भन्दै त्यसबेला आठ प्रहरीको जागिर जाने मात्र होइन मुद्दा दायर समेत भएको थियो । तत्कालीन एआईजी धिरु बस्नेतले हचुवाको भरमा छानबिन गरेर रिपोर्ट दिंदा यस्तो अवस्था आएको थियो । बस्नेतको ‘हावादारी’ रिपोर्टलाई तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले समेत सदर गरेका थिए । तर, अवकाशको मुखमा उनले आफ्नो गल्ती सुधार गर्ने प्रयास गरे ।

खनालले डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समिति बनाएका थिए । सो समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन तथ्यहिन रहेको निष्कर्ष निकालेको छ । नयाँ प्रतिवेदनसँगै पुरानो प्रतिवेदन कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिएको छ । नयाँ महानिरीक्षक ठाकुर ज्ञवालीले पछिल्लो प्रतिवेदन कार्यान्वायनका लागि छलफल अघि बढाएका छन् ।

एआइजी बस्नेत नेतृत्वको प्रतिवेदनले सो घटनामा प्रहरीले प्रमाण नष्ट गरेको तथा नक्कली अभियुक्त खडा गर्ने प्रयास गरेको उल्लेख गरेको थियो । जुन प्रतिवेदन तथ्यमा आधारित नरहेको डिआइजी केसी नेतृत्वको समितिले ठहर गरेको हो । पुरानै प्रतिवेदनका आधारमा आठजना प्रहरीविरुद्ध फौजदारी मुद्दा दायर भएको थियो ।

नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्री बताउँछन् । स्रोतका अनुसार महानिरीक्षक ज्ञवालीले यसबारेमा सम्बन्धित पक्षसँग छलफल थालिसकेका छन् । घटनाको करिब एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए । राष्ट्रिय मानवअधिकार आयोग तथा डिएनए विज्ञ जीवन रिजाल नेतृत्वको छानबिन समितिले डिएनए परीक्षण प्रक्रिया नै गलत भएकाले डिएनएबाट अभियुक्त पत्ता नलाग्ने निष्कर्ष निकालेको हो । लामो अनुसन्धानमा अन्य कुनै अभियुक्तको सम्भावना नदेखिएको र परिस्थतिजन्य प्रमाणले दिलीप नै अभियुक्त भएको औँल्याइएको छ । सोही आधारमा पछिल्लो समय प्रहरी अनुसन्धान दिलीपमाथि नै केन्द्रित छ ।

निर्दाेष प्रहरीले कहिले न्याय पाउने ?

एआइजी बस्नेत नेतृत्वको समितिले प्रहरीलाई यातना दिएर बयान गराएको आरोप लागेको छ । यसअघि हवल्दार धर्म्सिंह भाटले दिलीपसिंह विष्टको घरबाट सर्टको गोजी च्यातेर आफूले घटनास्थलमा लगेर फालेको बयान दिएका थिए । आफ्नो अप्रेसन गर्ने वेला भएको, तर नजरबन्दमा राखेर यातना दिएपछि सबै कुरा हो भनेर बयान गर्नुपरेको कागज उनले गरेका छन् । भाट र अर्का हवल्दार धर्मसिंह विष्टले सोही कारण राजीनामा दिएका थिए । अहिले उनीहरूले आफूहरूलाई यातना दिएर झुटो बोल्न लगाएको भनेर कागज गरिदिएका छन् । त्यतिवेला प्रहरीहरूलाई विभिन्न गणभित्र राखेर बयान लिइसकेको थियो । यातना दिएर बयान गराइएको र आफूहरूको कुरा नसुनी हचुवाका भरमा रिपोर्ट दिएको ती प्रहरीहरूको दाबी छ । सबै घटनामा भौतिक प्रमाण हुँदैन । धेरैजसो घटनामा परिस्थितिजन्य प्रमाण र अभियुक्तको बयानलाई नै आधार मानेर मुद्दा दायर हुने गरेको छ । पुनरावेदन समितिले समेत तत्कालीन अनुसन्धानलाई नजरअन्दाज गरेर महत्ववपूर्ण उपलब्धिलाई अमान्य घोषित गरेको तथा अनुसन्धानको प्रगतिलाई शून्य घोषित गरेको उल्लेख छ ।

महानिरीक्षक ज्ञवाली एसएसपी हुँदा यो घटनाको अनुसन्धानमा खटिएका थिए । त्यसकारण उनले नै यो घटनाको भित्री पाटो बुझेका छन् । उनकै कार्यकालमा यो प्रकरण सुल्झिने र फसाइएका प्रहरीले न्याय पाउने आँकलन गरिएको छ ।

पुरानै आरोपीमाथि फेरि अनुसन्धान

अब प्रहरीले फेरि पुरानै आरोपीमाथि छानबिन थालेको छ । घटनाको डेढ वर्षपछि परिस्थितिजन्य प्रमाण र स्थानीयको भनाइका आधारमा दिलीप नै यो घटनाका अभियुक्त भएको निष्कर्षमा प्रहरी पुगेको छ । उनले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै विष्टविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ । उनले प्रहरीसामु देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए । रिपोर्टमा देब्रे हात नै प्रयोग भएको आएको थियो । निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन । तर, निर्मलाकी आमालाई थाहा थियो । निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा फालेको बताएका थिए ।

उनको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो । सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थलनजिकै देखेको भनेर दुई स्थानीयले कागज गरिदिएका छन् । घटनापछि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरणसमेत प्रहरीले स्थानीयमार्फत संकलन गरिसकेको छ । अर्का एक स्थानीयसँग निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियोसमेत प्रहरीले प्राप्त गरेको छ । त्यस्तै, सिआइबीबाट खटिएका अन्य अनुसन्धान अधिकृतहरूले समेत दिलीप नै अभियुक्त हुने परिस्थिति देखिएको भनेर रिपोर्ट दिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान प्रतिवेदनमा यी सबै विवरण उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्