Logo
Logo

‘महिला र बालबालिकालाई प्लेटफर्म बनाउने मेरो उद्देश्य’



काठमाडौं । सौन्दर्य प्रतियोगिता आयोजना गर्ने संस्था कति छन् ? सम्बन्धित संस्थाहरूलाई समेत थाहा छैन । उनीहरूलाई यति मात्र थाहा छ ‘नेपालमा इभेन्टहरू धेरै हुन थालेपछि पाटिसिपेन्ट नै पाउन छाडियो ।’ मंसिरदेखि बैशाखसम्म इभेन्टको सिजन मानिन्छ । विन्टर सुरु भएसँगै विभिन्न नाममा सौन्दर्य प्रतियोगिताहरू दैनिकजसो भइरहेका छन् । इभेन्ट आयोजक संस्थामध्ये एक हो, स्पार्कल इन्टरटेनमेन्ट प्रालि । यस संस्थाकी अध्यक्ष हुन्, नीतु श्रेष्ठ ।

महिला तथा बालबालिकाका लागि इभेन्ट आयोजना गर्दै आएको उक्त संस्थाकी अध्यक्ष नीतु भन्छिन्, ‘पैसा कमाउने मेरो मनशाय होइन । कला र प्रतिभा भएका गृहिणी, महिला तथा बालबालिकाहरूलाई प्लेटफर्म क्रियट गरिदिने मेरो उद्देश्य हो ।’
सौन्दर्य प्रतियोगिताको नाममा ‘व्यापार’ गरिरहेको समेत आयोजकमाथि आरोप लाग्दै आएको छ । नीतुको संस्थाले ‘मिस एण्ड मिसेस युनिभर्सल’ र ‘मिस एण्ड मिस्टर आइडल, जुनियर÷सिनियर’ आयोजना गर्दै आएको छ । स्पार्कल इन्टरटेनमेन्टकी अध्यक्ष नीतु श्रेष्ठसँग एमपी सुब्बाको जम्कभेट-

इभेन्टको मौसम सुरु भएको हो ?
हो, विन्टर सुरु भएपछि सौन्दर्य प्रतियोगिताको सिजन सुरु हुन्छ । विन्टर सौन्दर्य प्रतियोगिताको मात्र नभएर मेला महोत्सवको पनि सिजन हो ।

यो सिजनमा तपाईँ के गर्दै हुनुहुन्छ ?
बालबालिकालाई लक्षित गर्दै इभेन्ट गर्दैछु । ‘मिस एण्ड मिस्टर आइडल जुनियर÷सिनियर’ नामक प्रतियोगिताका लागि अहिले तयारी गर्दैछु । तर, औपचारिक रुपमा घोषण गरेको छैन ।

जुनियर र सिनियर किन नि ?
यो बालबालिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम हो । जसमा दुई तहका बालबालिकाबीच प्रतिस्पर्धा हुन्छ । ७ वर्षदेखि नौ वर्षसम्मकालाई जुनियर र नौदेखि १३ वर्ष उमेर समूहकालाई सिनियरमा राखिएको हो । उमेरका हिसाबले एउटै क्याटागोरीमा नमिल्ने भएकाले जुनियर र सिनियर छुट्याइएको हो ।

‘मिस एण्ड मिसेस युनिभर्सल’ गर्न तयारी छैन ?
बलबालिकाहरूका लागि इभेन्ट गर्न लागेको यो पहिलो हो । मैले ‘मिस एण्ड मिसेस युनिभर्सल’ गर्दै आएकी छु । अब हुने तेस्रो संस्करण हो । बालबालिकाहरुको कार्यक्रम सक्ने बित्तिकै ‘मिस र मिसेस युनिभर्सल’ आयोजना गर्ने सोच बनाएकी छु ।

‘मिस एण्ड मिसेस युनिभर्सल’ भनेपछि विदेशी महिलाले पनि सहभागी जनाउन पाउने हो ?
होइन, अहिलेलाई नेपाली महिलाका लागि मात्र हो । यो इभेन्टलाई फ्रेन्चाइजमा लैजाने सोचले ‘युनिभर्सल’ राखिएको हो । त्यसका लागि केही देशसँग कुरा भइरहेको छ ।

कुन देशसँग फ्रेन्चाइजका लागि कुरा गर्दै हुनुहुन्छ ?
फिलिपिन्सको इभेन्ट संस्थासँग कुरा भइरहेको छ । तर, फिलिपिन्सको एयर टिकट महँगो रहेको छ । त्यसैले फिलिपिन्स नहुन पनि सक्छ । त्यसको विकल्पमा थाइल्याण्ड वा भारत पनि हुन सक्छ ।

सुरुमा इभेन्ट आयोजना गर्ने सोच कसरी आयो ?
म एक्कासी इभेन्ट आयोजक बनेको होइन । २०७५ मा ‘मिसेस इन्डिजिनियस’मा सहभागी भएकी थिएँ । उक्त प्रतियोगितामा विजेता बन्न नसकेपनि धेरै कुरा सिक्ने मौका पाएँ । इभेन्टमा थुप्रै मान्छेसँग चिनजान हुने, नयाँ नयाँ मानिससँग भेट हुने र विचारहरू आदान–प्रदान हुने भएकाले मलाई पनि कार्यक्रम गर्ने सोच आएको हो ।

प्रतिष्पर्धात्मक बजारमा आयोजक बन्न सजिलो छ त ?
आयोजक बन्नुअघि केही इभेन्ट कार्यक्रमको को–अर्डिनेटर भएर काम गरेकी थिएँ । ‘मिस ग्लयामर’ र काठमाडौं जेसिसले गर्ने ‘मिस टिन नेपाल’को कार्यक्रम को–अर्डिनेटर भएका काम गरेपछि मात्र ‘मिस एण्ड मिसेस युनिभर्सल’ सुरु गरेकी हुँ ।

कार्यक्रम को–अर्डिनेटर बन्नुअघि नेपालमा हुने इभेन्टबारे के कति थाहा थियो ?
सौन्दर्य प्रतियोगिताबारे सानैदेखि रुची थियो । त्यसैले चासो दिन्थेँ । मलाई ‘मिस नेपाल’, ‘मिसेस नेपाल’, ‘मिस टिन नेपाल’ लगायतका केही इभेन्टहरूबारे थाहा थियो ।

रुची भएर ‘मिस नेपाल’मा किन सहभागी हुने प्रयास गर्नुभएन ?
त्यो बेला सौन्दर्य प्रतियोगितामा सहभागी हुनलाई मलाई परिवारको सपोर्ट थिएन । सौन्दर्य प्रतियोगिातमा कसरी जाने भन्ने मलाई खासै ज्ञान पनि थिएन । मुख्य कुरा त मलाई हाइटले दिएन ।

सौन्दर्य प्रतियोगिताहरू निष्पक्ष हुन्छन् ?
म अरु प्रतियोगिताको विषयमा जान्दिनँ, बोल्न पनि मिल्दैन । आयोजकको आ–आफ्नै तौरतरिका होला । तर, केही सौन्दर्य प्रतियोगिता निष्पक्ष छन् । त्यसमध्ये एक हो, ‘मिस टिन नेपाल’ । किनकि, यो इभेन्टमा मैले कार्यक्रम को–अर्डिनेटर भएर काम गरेकी छु । अर्को, स्पार्कल इन्टरटेनमेन्टले गर्ने ‘मिस एण्ड मिसेस युनिभर्सल’ स्वच्छ र निष्पक्ष हुन्छ ।

सौन्दर्य प्रतियोगितालाई व्यापार बनाइयो भन्ने आरोप छ, यसबारे तपाईँ के भन्नुहुन्छ ?
कतै यस्ता आरोप लगाइएको पनि सुनिन्छ । त्यो किन र कसरी भन्ने मलाई थाहा छैन । इभेन्ट गर्ने थुप्रै संस्था छन् । उनीहरूको विषयमा म केही जान्दिनँ । तर, मेरोचाहिँ इभेन्टबाट पैसा कमाउने मनसाय होइन । कला र प्रतिभा भएका गृहिणी, महिला तथा बालबालिकाहरूलाई प्लेटफर्म क्रियट गरिदिने मेरो उद्देश्य हो ।

‘मिस एण्ड मिसेस युनिभर्सल’ले कुनै अवसर पाएको छ कि छैन ?
पहिलो कुरा, ताज पहिरिने बित्तिकै उ सेलिब्रेटी बन्छ । त्यसपछि मिडियामा चिनिने अवसर पाउँछ । साथै, ‘मिस एण्ड मिसेस युनिभर्सल’मा मिसतर्फको विजेताले फिल्म र म्युजिक भिडियोहरूमा काम गर्ने अवसर पाइरहेका हुन्छन ।

‘मलाई जिताइदिनु’ भनेर आयोजकलाई ‘आर्थिक अफर’ आउँछ रे, तपाइँलाई आएको छैन ?
आउँछ, मलाई पनि ‘मिस एण्ड मिसेस युनिभर्सल’का लागि अफर आएको थियो । तर, मैले आर्थिक प्रलोभनका अफर अस्वीकार गरेँ । र, आगामी दिनमा पनि यस्तो अफर मलाई स्वीकार्य हुँदैन । प्रतियोगिता भनेको आफ्नो कला र प्रतिभाले जित्ने हो ।

प्रतिक्रिया दिनुहोस्