Logo

संविधान संशोधनका लागि सरकारमा :उपप्रधानमन्त्री यादव


Published On : 20 January, 2019

लहान, ५ माघ (रासस) ः सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । 



मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको बताउनुभयो । 

मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न तयार नभए सङ्घर्षका लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गर्नुभयो । 

मुलुकको प्रमुख शत्रु गरीबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध बताउँदै उहाँले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको बताउनुभयो । 

सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि योजना अघि सारिसकेको समेत उहाँले स्पष्ट पार्नुभयो । शहीदको बलिदानीबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै उहाँले सङ्घीयता विरोधी गतिविधि र षडयन्त्रप्रति जागरुप हुनुपर्ने जिकिर गर्नुभयो । 

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कटौती गरेर सङ्घीयता विफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो । 

प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको उल्लेख गर्दै उहाँले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । लहानस्थित पशुपति आदर्श माविको खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भौतिक योजनामन्त्री जितेन्द्र सोनल, वनमन्त्री रामनरेश राय, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री विजय यादव लगायतले बोल्नुभयो । 

सो अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव, मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएका ४६ जना शहीद परिवारलाई रोजगारीको नियुक्तिको डेमो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

त्यस्तै विभिन्न मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेश २ भित्रका ९७ जनालाई कार्यक्रममा राहतस्वरुप आर्थिक सहयोगसमेत प्रदान गरियो । 

प्रतिक्रिया दिनुहोस्