Logo
Logo

स्वास्थ्य वीमा बोर्डको कर्मचारी भर्नामा करोडौंको खेल



काठमाडौं । स्वास्थ्य वीमा बोर्डले लोकसेवा आयोगसँग समन्वय नै नगरी कर्मचारी भर्ति गरेको छ । कर्मचारी भर्नामा आर्थिक चलखेल गरेको आरोप बोर्डका कार्यकारी निर्देृशक दामोदर बसौलामाथि लागेको छ ।

सरकारी संस्थान, समिति, बोर्डले कर्मचारी भर्ना गर्दा लोकसेवा आयोगसँग समन्वय गरी आयोगका प्रतिनिधिसहित राखेर लिखित र अन्तर्वार्ता लिनुपर्छ । तर वीमा बोर्डले ५५ जना कर्मचारी भर्ना गर्दा सेटिङ भएका परीक्षार्थीको उत्तरपुस्तिका नै छुट््टै राखी परीक्षा दिने ब्यवस्था गरी चरम अनियमितता गरिएको बोर्डकै एक कर्मचारीले बताए ।

बोर्डका कार्यकारी निर्देशक बसौला, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत शोभित रिजालको टीमले बोर्डको कर्मचारी छनोटमा जनही दररेट तोकेर उनीहरुलाई परीक्षाअघि नै प्रश्नपत्र दिई पास गरेका छन् ।

लोकसेवा आयोगमा औपचारिक रुपमा केही जानकारी नै नगराई परीक्षामा अनियमितता गरी कर्मचारी छनोट गरेको बिषयमा उजुरी पर्नसक्ने संभावनालाई दृष्टिगत गरी आयोगका केही अधिकारीलाई समेत प्रभावमा पारेको स्रोतले बताएको छ ।

५५ जना कर्मचारी भर्नामा कार्यकारी निर्देशक बसौलाको टोलीले पद अनुसार दररेट तोकेर करोडौं उठाएको आरोप छ । लोकसेवा आयोगले बोर्डको कर्मचारी भर्नामा भएको अनियमितता छानबिन गरी उक्त विज्ञापन रद्द गरी पुनः विज्ञापन गर्न माग गर्दै पीडितहरु उजुरी गर्न जाने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्