Logo
Logo

राशनमा आँखा लगाएका एसपी मुख्यालयमा हाजिर


6.2k
Shares

काठमाडौं । गणमा भएको अधिक जनशक्ति बिदा छोडेर राशनमा आर्थिक अनियमिता गरेको आरोपमा सशस्त्र प्रहरीका एसपी कमलचन्द्र गैरे मुख्यालय तानिएका छन् । तनहुँको २३ नम्बर गणका गणपती गैरेले ७० प्रतिशत कर्मचारी बिदा छोडेको आरोपमा मूख्यालय तानिएका हुन् ।

त्यसरी बिदा छोडेपछि पोखरास्थित बाहिनीका डिआइजी कालिदास धौबजीलाई छानबिन गर्न हेडक्वाटरले आदेश दिएको थियो । छानबिनका क्रममा नीति भन्दा धेरै बिदामा पाइएपछि तानिएको मूख्यालय स्रोतले जनाएको छ ।

उनलाई अब कमन्डमा फिर्ता पठाइने संभावना नरहेको र त्यहाँ जान आइजीपी राजु अर्याललाई सोर्स लगाउन एउटा समूह गृहमन्त्रालय समेत पुगेको छ । माघ १५ बाट गणपतिहरुको सरुवा हुने भएकाले त्यसअघि नै त्यहाँ जानका लागि गृहमन्त्रालयबाट लाइन मिलाउन एउटा टोली गृहमन्त्रीको सचिवालयमा पुगेको छ । मन्त्रालयका कोही कर्मचारीले भनेको आइजीपी अर्यालले नटेर्ने भएकाले मन्त्रीकै सोर्स प्रयोग गर्न दौडधुप चलिरहेको छ ।

स्रोतका अनुसार बिदा छोड्ने मात्र होइन उनले आफू अवकाश जान लागेकाले गणमा कमसल खाना खुवाएको आरोपसमेत छ । ‘गणमा कार्यरत कर्मचारीप्रति उदासिन रहने, मातहतको पिर मर्का नबुझ्ने र राशनमा मात्र गिद्धे नजर लगाउने काम भयो’, गणमा कार्यरत एक सिनियर अधिकृतले भने । उनी यही माघमा अनिवार्य अवकाश हुँदैछन ।

यसैगरी प्रहरी महानिरीक्षक मातहत रहने बाघ भैरव गुल्मपति डिएसपी रजनी थापाले पनि नजानिदो पाराले बिदा छाडेको गुनासो मूख्यालयमा पुगेको छ । काठमाडौंको शान्ति सुरक्षालाई सहयोग पुग्नेगरी स्थापना गरिएको र फिल्डमा खटाउन प्रयोग गरिने यो गुल्ममा करिब २५० भन्दा बढी जनशक्ति रहेको छ । दैनिक ३० देखि ३५ जना घरायसी बिदाबाहेक अन्य ४० देखि ४५ जना बिदा छाड्ने गरेको गुल्म स्रोतले जानकारी दिएको छ । आइजीपी अर्यालले डिएसपी थापालाई महिला कमाण्डरको रुपमा त्यहाँ पठाएका हुन् ।

यता, तराईमा कार्यरत केही कमान्डरसमेत कारबाहीमा परेको बुझिएको छ । बिओपी गौरमा कार्यरत डिएसपी अमर लामालाई बाहिनी तानिएको छ । उता नबलपरासी, रुपन्देही र कपिलवस्तुको तस्करी रोकिएको छैन । नवलपरासी गणका गणपति धिरेन्द्र न्यौपानेले मातहत बिओपीसँगको मिलेमतोमा व्यापक तस्करी गराएको आरोप छ ।

खासगरी भुजहवा, हरपुरबाट दिउँसै तस्करी भएको श्रोतको दाबी छ । यस्तै रुपन्देहीको डन्डा, मझगवा लगायतको बोर्डरबाट तस्करी मौलाएको भन्दै सशस्त्र प्रहरी मूख्यालयमा उजुरीका चाङ लाग्ने गरेका छन् । तर, उजुरी शाखाका डिएसपी सुदीप रेग्मीले केहीको उजुरी नै गायब पारेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्