Logo
Logo

प्रस्ताव एसेप्ट नगर्दा घमण्डी भन्छन्-श्रेया दुलाल, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


एक दशकयता मोडलिङ र फिल्मी अभिनयमा संघर्षरत छिन् श्रेया दुलाल । यहाँसम्म पुग्दा श्रेयाले नामसँगै आफ्नो लागि दामसमेत कमाएकी छन् । नेपालीसँगै भोजपुरी र बंगाली फिल्ममा समेत अभिनय गरिसकेकी अभिनेत्री श्रेया भन्छिन्, ‘अझै कला क्षेत्रमा सिकारु नै छु ।’ कपडा विजनेश समेत गर्दै आएकी श्रेयाको लक्ष्य भने कलाकारितामै स्थापित हुनु हो । ‘शिसा’, ‘धुन’ ‘नाइँ मलाई थाहा छैन’, ‘मुधमाला’ (बंगाली) ‘आदिम मानव’ (एड्भेन्चर), ‘शरदका पातहरु’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी श्रेयाले चार दर्जनभन्दा बढी म्युजिक भिडियो र विभिन्न टिभी एडहरुमा समेत मोडलिङ गर्दै आएकी छन् । यिनै मोडल तथा अभिनेत्री श्रेया दुलालसँग एमपी सुब्बाको जम्काभेट :

नयाँ नौलो के गर्दै हुनुहुन्छ ?

अहिले म्युजिक भिडियो र आफ्नो विजनेशमै व्यस्त छु । फिल्मको कुरा भइरहेको छ । गर्न लागेको फिल्मको पनि सुटिङ सरेको छ । आन्तरिक कारणले होला । अब नयाँ फिल्म गर्ने तयारीमा छु ।

के विजनेश गर्नुहुन्छ ?

यो भन्नुपर्छ र ? कपडाको विजनेश गर्छु । मेरो इन्टरनेशनल विजनेश हो । त्यसैले नभनौँ होला ।

कलाकारिता क्षेत्रमा लाग्नुभएको कति भयो ?

१०÷११ वर्ष । एक दशकभन्दा बढी भयो नि । एसएलसी पास गर्नेवित्तिकै मोडलिङ गर्न सुरु गरेकी हुँ । फिल्ममा लागेको चाहिँ पाँच वर्ष भयो । तर, यो क्षेत्रमा सयम वितेको पत्तै नुहने रहेछ ।

अहिलेसम्म तपाइँले कति फिल्ममा काम गर्नुभयो ?

सुरुमा मोडलिङ गर्थेँ । फिल्ममा अभिनय गर्न थालेको ५ वर्षमात्र हुँदैछ । यस अवधिमा आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेँ ।

बंगाली फिल्ममा अभिनय गर्ने अवसर कसरी मिल्यो ?

यो फिल्मको सुटिङ काठमाडौंमै भएको हो । उता (भारत)बाट फिल्म सुटिङका लागि टिम आउनुभएको थियो । त्यसै सिलसिलामा अवसर पाएकी हुँ ।

नेपाली, भोजपुरी र बंगाली फिल्ममा काम गर्दा फरक के पाउनुभयो ?

अभिनयका हिसाबले उस्तै नै हो । भाषामा चाहिँ नेपाली सजिलो किनकि, डाइलगहरु आफैले क्रिएट गरेर बोल्न सकिन्छ । तर, बंगाली भाषाको फिल्ममा चाहिँ डाइलग घोक्नुपर्ने हुन्छ । स्क्रिप्टमा जे लेखिएको हुन्छ, त्यहीमात्र घोकेर बोल्दा केही गाह्रो लाग्यो ।

यहाँसम्म आउँदा कलाकारिता पेसा कस्तो लागिरहेको छ ?

एकदमै राम्रो र रमाइलो लागिरहेको छ । आफैले रोजेको पेसा हो यो । यो क्षेत्रमा गर्न सक्यो भने नाम र दाम दुवै छ । त्यसैले पनि म आफ्नो पेसाप्रति एकदमै सुन्तुष्टि र खुसी छु ।

तपाइँले नाम र दाम कुन बढी कमाउनुभयो ?

दुईटै कमाएकी छु । नामसँगै पैसा पनि कमाएकी छु । तर, नाम र दाम कमाउँदैमा स्थापित भने भइँदैन । त्यसैले अझै आफूलाई कलाकारिता क्षेत्रमै स्थापित हुन संघर्षरत छु ।

कलाकारिता र व्यापार, समय कसरी मिलाउनुहुन्छ ?

इच्छा र चाहनाको कुरा हो । आफूले इच्छाएपछि समय दिन सकिन्छ । यही इच्छाशक्तिले गर्दा अहिलेसम्म समय दिन भ्याइरहेकी छु ।

सानै उमेरमै व्यस्त हुनुहुन्छ, कतिखेर रमाइलो गर्नुहुन्छ ?

साथीहरुसँग खाशै छुट्टै रमाइलो गरिँदैन । सुटिङका लागि कता–कता पुगिएको भइन्छ । सुटिङमा जाँदा घुम्न पनि पाइने र रमाइलो गर्न पाइन्छ । यसरी नै चलिरहेको छ जीवन ।

कोहीसँग अफेयर्स त होला, डेटिङ जानुपर्दैन ?

मेरो कोहीसँग अफेयर्स छैन । अहिलेसम्म सिंगल छु । त्यसैले डेटिङ जानुपर्दैन । सधैँ काममा व्यस्त भएकाले अफेयर्सतिर ध्यान पनि गएको छैन । अब दुई/तीन वर्षपछि सोच्नुपर्ला ।

प्रेम प्रस्ताव गर्नेहरु कति आउँछन् ?

प्रेम प्रस्ताव त कति आउँछ–आउँछ । एसेप्ट नगर्दा घमण्डी भन्छन् । कतिले मलाई यो केटी रुपको घमण्ड गर्छसमेत भनेका छन् । तर, म कहिल्यै घमण्ड गर्दिनँ । उनीहरुले भनेजस्तो रुपवाली र राम्री छुजस्तो पनि लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्