Logo
Logo

कम्पनी रजिष्ट्रारमा पौडेल बन्धुको सेटिङ, कार्यालय प्रमुखको रहस्यमय मौनता



काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय सबैभन्दा बढी सेवाग्राहीको चाप हुने कार्यालयमा पर्दछ । बिचौलिया र कम्पनीमा कार्यरत केही कर्मचारीहरूको बदमासी यति हदसम्म छ कि संचालकको कीर्ते हस्ताक्षरका आधारमा सेयर खरिदबिक्री हुने गरेका घटना पनि यदाकदा आइरहन्छन् ।

कम्पनी रजिष्ट्रारमा महेश बराल मात्रै विवादमा नपरी बिदा भएका कर्मचारी हुन् । उनले करिब २ वर्ष रजिष्ट्रारको रुपमा बिताएका थिए । उनीपछि दीपककुमार पहाडीलाई मन्त्रालयले रजिष्ट्रारका रुपमा पठाएको छ । कमाण्ड र निर्णय क्षमता नभएका, अरुको इशारामा चल्ने स्वभावका पहाडीलाई कम्पनीका केही भ्रष्ट कर्मचारीहरूले फनफनी घुमाउँदै आफू अनुकूलका निर्णय गराउँदैआएका छन् ।

तिनैमध्येका एक हुन्, नायबसुब्बा श्रीराम पौडेल । ३ वर्षदेखि रजिष्ट्रार कार्यालयमा कार्यरत उनको विगत राम्रो छैन । २ वर्ष काजमा र एक वर्षअघिदेखि दरबन्दीमा कार्यरत नासु पौडेल नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका उद्योग विभागीय अध्यक्ष हुन् ।

स्याङ्जाका पौडेललाई केही समयअघि कम्पनी रजिष्ट्रार कार्यालयबाट सरुवा गरिएको थियो । तर, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको सचिवालयका स्वकीयसचिव बृहस्पति श्रेष्ठ र सचिव मुकुन्द निरौलाको दबाबमा उनी कम्पनीमै थमौती हुन सफल भएका हुन् । मन्त्री रिजालसमेत पौडेलको अनियमितताले कम्पनी रजिष्ट्रार कार्यालय बदनाम भए पनि दबाबमा सरुवा रोक्न बाध्य भएका थिए ।

त्यसैगरी उपसचिव(उपरजिष्ट्रार) वर्तराज पौडेललाई मन्त्रीको सचिवालयले नगर्नू भनेको काम आर्थिक लाभ लिएर गरेको हुँदा केही दिनअघि सरुवाको सूचीमा राखिएको थियो । सरुवाको सुईको पाएपछि उपसचिव पौडेलले पनि शक्तिकेन्द्र धाएर रोकाउन सफल भएका थिए ।

एक वर्षदेखि पब्लिक लिमिटेडमा कार्यरत श्रीराम पौडेलले सेयर लगत अभिलेख नै नभएको कम्पनीको सेयर लगत कायम गरेको प्रमाण फेला परेको छ ।

कुनै पनि कम्पनीको संचालकले कम्पनीको खातामा रकम जम्मा गरेको भौचर रजिष्ट्रार कार्यालयमा अनलाइनमार्फत् पेश गरेपछि मात्र सो रकम बराबरको सेयर लगत कायम गरिने कानुनी व्यवस्था छ । तर, उक्त व्यवस्थालाई चुनौती दिंदै स्याङ्जाकै उपरजिष्ट्रार वर्तराज पौडेल र नासु पौडेलको मिलेमतोमा स्वर्गद्वारी कृषि कम्पनी प्रालि र ओडेसी डेभलपर्स प्रालि भक्तपुरको भौचरविना नै सेयर लगत कायम गरी मोटो रकम असुलेको आरोप छ ।

स्वर्गद्वारी कृषि कम्पनी प्रालि र ओडेसी डेभलपर्स प्रालि भक्तपुरको सेयर लगत कायम गर्दा भएको अनियमितताको सम्बन्धमा पौडेल बन्धुलाई कारबाहीको माग गर्दै नियमनकारी निकायहरूमा उजुरी समेत परे पनि उनीहरूको पहुँच र प्रभावका कारण कुनै कारबाही भएको छैन ।

रजिष्ट्रार कार्यालयबाट प्राप्त ती दुबै निकायको सेयर लगतमा चुक्ता भएको रकम उल्लेख गरिएको भए पनि भौचर भने पेश गरिएको छैन । जिरो लागतमा सेयर लगत कायम गर्न सफल भएका स्वर्गद्वारी कृषि कम्पनी प्रालि र ओडेसी डेभलपर्स प्रालि भक्तपुरका संचालकले पौडेल बन्धुलाई आकर्षक घुस बुझाएको बताइन्छ ।

नासुले उठाएको टिप्पणी सहायक रजिष्ट्रार हुँदै उपरजिष्ट्रारकोमा फाइल पेश हुनुपर्नेमा सेटिङ भएका फाइलमा श्रीरामले सहायक रजिष्ट्रारकोमा नलगी सिधै उपरजिष्ट्रार वर्तराज पौडेललाई टिप्पणी पेश गरेर प्रशासकीय प्रक्रियालाई नै क्रस गरेका छन् ।

बैंक स्टेटमेन्टको भौचर नभए पनि रु. १ करोड बराबरको सेयर लगत कायम गर्दा १ लाख घुुसको दररेट श्रीरामले चलाएका छन् । यही प्रकरणले गर्दा कम्पनीको खातामा रकम नहुने, तर अडिटमा चुक्ता भनी उल्लेख गर्नुपर्दा लेखापरीक्षण गर्न नै समस्या भएको भन्दै लेखापरीषकहरूले सामूहिक रुपमा तत्कालीन कम्पनी रजिष्ट्रार महेश बराललाई भेटेर गुनासोसमेत गरेका थिए ।

उक्त गुनासोपछि रजिष्ट्रार बरालले विनाभौचर सेयर लगत कायम नगर्न मातहतका कर्मचारीलाई परिपत्र नै जारी गर्न बाध्य भएका थिए । तर, उक्त परिपत्र बराल हुन्जेल पालना गरे पनि उनी सरुवा भएपछि पौडेल बन्धुले फेरि सुरु गरेका छन् । हालका रजिष्ट्रार पहाडीले पौडेल बन्धुको कर्तुतका बारेमा मेसो पाउन नसकेका हुन् कि असुली भएको दररेट उनको भागमा समेत पुगेकाले मौनता साँधेका हुन् ? कर्मचारी नै चकित छन् ।

स्वर्गद्वारी कृषि कम्पनी प्रालि र ओडेसी डेभलपर्स प्रालि प्रतिनिधि उदाहरण मात्र हुन्, पौडेल बन्धुले घुसका आधारमा धेरै कम्पनीको बैंक भौचरविना नै सेयर लगत कायम गरेको स्रोतले बताएको छ ।

उद्योग मन्त्री रिजालका स्वकीय सचिव श्रेष्ठलाई दबाब दिएर ६ महिनाअघि पब्लिक लिमिटेडमा सरुवा भएका नासु श्रीराम र उनकै योजनामा चल्ने उपसचिव वर्तराजले सेटिङ नभएका फाइललाई १५/२० दिनको पालो सिष्टम लाउने गरेका छन् ।

१५–२० दिनपछि सम्बन्धित फाँटका कर्मचारी सरुवा हुने वा कागजी प्रक्रियामा त्रुटि देखाएर फेरि झुलाउने गर्नाले सेवाग्राहीहरू बिचौलियाको शरणमा पुगेर घुस दिन बाध्य हुने गरेका छन् । श्रीराम र वर्तराजलाई कम्प्युटर अप्रेटर ज्ञानेन्द्र भट्टराईको भरपूर साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्