Logo
Logo

सशस्त्रको राशनमा गोलमाल



काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयमा रहेका आइजीपी राजु अर्यालले जतिसुकै कडा गरेपनि मातहतमा काम गर्ने विभागीय प्रमुखहरुले छिद्र खोजेर अनियमितता गरिरहका छन् । केही दिनअघि साताव्यापी निरीक्षणमा पुगेका आइजीपी अर्यालले आफ्ना कर्मचारीको दुःखलाई पोको पारेर गृह मन्त्रालयमा पोखेका भए पनि मातहत निकायले असहयोग गर्दा कार्यालयपिच्छे अनियमितताको चाङ लागेको हो ।

माघ ९ गते सशस्त्र प्रहरीको स्थापना दिवस रहेको त्यतिबेला आफ्ना कर्मचारीहरूको दर्दमा मल्हम लगाउने गरी केही कार्यक्रमहरु कोसिस भैरहेको बेला सशस्त्र प्रहरीका तालिम केन्द्रमा राशन अनियमितता हुने गरेको पाइएको छ ।

खासगरी तालिममा भएका कर्मचारीहरुले आउट जाँदाको समेत पुरै पैसा तिर्नुपर्ने अवस्था रहेको छ । तालिममा भएका कर्मचारीहरूले आउट पठाउदा कार्यालय प्रमुखहरूले अतिरिक्त आम्दानीको स्रोतको रुपमा प्रयोग गर्ने भएकाले तालिमेहरूको रकमका हाकिमहरूको हालीमुहाली भएको छ ।

यो समस्या ककनी, एकेडेमी, पोखरा ,बर्दघाट र कैलालीका तालिम केन्द्रमा बढी रहेको बताइएको छ । अहिले सशस्त्रको मातातिर्थ स्थित एकेडेमीमा ३/४ वटा तालिम संचालनमा छ्न् । ती सबै तालिमका कर्मचारी शुक्रबार आउट गएर शनिबार साँझ आउंछ्न् । यसरी महिनामा ६/७ दिन त उनीहरू बाहिरै हुन्छ्न् तर, राशनको पैसा भने पुरै तिर्नुपर्छ ।

यता ककनीको तालिम केन्द्रमा पनि उही समस्या छ । अहिले विभिन्न गरि २ सय बढी तालिमरत सो केन्द्रका प्रमुख एसएसपी कृष्ण ढकाल छ्न् । संगठनमा आफू मात्र अब्बल भन्ने सोच भएका उनले पनि तालिमका कर्मचारी आउट छोडेको पुरै पैसा उठाउने र ककनी घुम्न जाने आफन्त र साथीभाइको लागि खर्च गर्ने गरेको स्रोतको दाबी छ ।

शुक्रबार आउटबाहेक कतिपय तालिमको बाहिरी अभ्यासपछि १ हप्तासम्म बिदा छोडिने तर, राशनको पैसा भने पुरै बुझाउनुपर्ने अवस्था रहेको एक कर्मचारीले बताए । तर, यस बिषयमा गुनासो गर्ने अवस्था नरहेको र गुनासो गरेमा अनेक बहाना निकालेर दुख दिने गरेको उनले बताए । एकेडेमीमा त अझ सिनियर अधिकृतसमेत यस बिषयमा बोल्दैनन् ।

कोशी प्रदेशबाट फिर्ता भएको ६ महिनामै एकेडेमीको कमाण्ड सम्हाल्न पुगेका डिआइजी कमल गिरीले समेत एकेडेमीमा विकृति बढाएको बताइन्छ । अहिले त्यहाँ आफुले पढाउने समयमा बाहेक सिनियर अधिकृत कोही पनि नभेटिने अवस्था छ । कतिसम्म भने डिएसपी तालिमे हुंदा पिटी हाजिर लिन जुनियर इन्सपेक्टर आउने गरेको भर्खर तालिम सकाएका मुख्यालय आएका एक डिएसपीले बताए ।

यता बर्दघाटमा पनि त्यही समस्या छ । एसएसपी विश्व भट्टराई घर जाने बेला भएकोले जति सकिन्छ राशनको पैसा खान ब्यस्त छन् । घर जाने बेला भएको व्यक्तिलाई कमाण्ड गर्न नदिने नीति भएपनि माथिल्लो तहबाट सोर्समा पुगेका भट्टराई डिआइजी हुंदाहुँदै एक वर्ष सुदुरपश्चिम बाहिनीको निमित्त बाहिनीपति हुन सफल भएका थिए ।

शक्तिकेन्द्र रिझाएर बर्दघाट तालिम केन्द्र पुगेका उनले त्यहाँ जतिसक्दो तालिमेहरूलाई कसिरहेको स्रोतको दाबी छ । घर जाने बेला भएकोले आकर्षक तालिमकेन्द्र पुगेका उनी व्यक्तिगत फाइदामात्र हेर्ने अधिकृत मानिन्छन् । यहि समस्या कैलाली र पोखराको तालिमकेन्द्रमा पनि छ । जुन तालिम केन्द्रहरूमा तालिममा भएका कर्मचारीको राशनको शोषण भइरहेको मुख्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्