Logo
Logo

७ चैतमा फूल्ने ‘नीरफूल’को ट्रेलर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ फागुन । चलचित्र ‘नीरफूल’को ट्रेलर आएको छ । काठमाडौंमा एक समारोहबीच चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको हो ।
संचारकर्मी फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ एक हप्ता सरेको छ । फागुन ३० मा रिलिज डेट तय गरेको फिल्म चैत ७ मा रिलिज हुँदैछ । यसअघि ३० फागुनमा रिलिज गर्ने भनिएको थियो ।
चलचित्रको ट्रेलरमा २०७२ सालको भूकम्पपछि धादिङको रुवी भ्यालीबाट छिन्नभिन्न भएका एक परिवारले काठमाडौं आउँदा छोरी गुमाउनु परेको र त्यसपछिको संघर्षको कथा समेटिएको छ । निर्देशक फुलमान बलका अनुसार गएको बिनासकारी भूकम्पमा लाखौँ घरहरु भत्किए पनि यो चलचित्रले भूकम्पको समय भत्किएका मनहरुको कथा समेट्ने छ । चार वर्ष अघि विनासकारी भूकम्पको समाज, त्यो भूकम्प पीडितहरुको अहिलेसम्मको संघर्षलगायत समाजका बर्गीय संघर्षको कथा पनि यो चलचित्रले उठाएको ट्रेलरले जनाएको छ ।
यसरी भुकम्पमा परि विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा अभिनेता दयाहाङ राईले भने, ‘भूकम्पपछि अहिलो हामीले पाएको जीवन बोनसको जीवन हो र त्यो बेला हामी कसरी बाँच्यौँ भन्ने संघर्षको कथा यसमा छ । यो चलचित्रले भूकम्पपछिको कथा उठाए पनि यसमा अरु धेरै कुराहरु समेटिएको छ ।’ आफुलाई चलचित्रको कथा साह्रै मन परेकै कारण नीर फुलमा काम गरेको पनि यी अभिनेताले बताए ।
यो चलचित्रका गायक समेत रहेका राजेश पायल राईले नीरफूल अहिलेको समाजका बास्तविता भएको बताए । उनले यस्ता यथार्थपरक चलचित्र थोरै बन्ने भएकाले नीरफूल नेपालीले हेर्नु पर्ने चलचित्र हो भने ।
फिल्मको निर्माणमा सहकार्यको मोडल अपनाइएको निर्देशक वलले जनाए । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।
प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । राजेशपायल राई, दुर्गा खरेल र प्रमोद खरेलले स्वर दिएका छन् ।
फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल ले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।

प्रतिक्रिया दिनुहोस्