Logo
Logo

डिआइजीको कमिशन मोहले आइजी बदनाम



काठमाडौं । नेपाल प्रहरीमा खरिद गरिएका लत्ता कपडा गुणस्तरहीन भएपछि लगाएको तीनदेखि चार महिनामै फाट्न थालेका छन् । नेपाल प्रबन्ध शाखाले खरिद गरेको लत्ता कपडा करिब ७० हजार प्रहरीलाई वितरण गरिएको पोशाक समयभन्दा पहिला नै च्यातिने र फाट्ने गरेको हुन् ।

प्रहरीभित्रको कमिसनको खेलले गर्दा गुणस्तरहीन पोशाक खरिद हुँदै आएको र त्यही पोशाक सबै प्रहरीलाई वितरण हुँदा उनीहरू मारमा परेका छन् । नेपाल प्रहरी स्रोतका अनुसार ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर खरिद गरिएका सामानको गुणस्तरमा पर्न गएको हो । विगतदेखि नै प्रहरीको प्रबन्ध शाखाले खरिद गर्ने लत्ताकपडा गुणस्तहीन हुँदै आएको गुनासो आएपनि त्यसलाई सुधार गर्न सकेको छैन ।

प्रहरी महानीरिक्षक बसन्त कुँवरले प्रबन्ध शाखाको जिम्मेवारी डिआइजी केदार ढकाललाई दिएका छन । साथै कपडा चेकजाँचको जिम्मेवारी भने एसपी गोविन्द पुरीले पाएका छन् । ठेक्का लगाउने र जाँचकीको भूमिकाकै कारण ठेकेदारहरूले भण्डारण शाखामा दाखिल गरेको कपडा गुणस्तर कमजोर भएकाले प्रहरी कर्मचारीले लगाएको तीन महिनामै अर्को किन्नु पर्ने भएको हो । ‘डिआइजीकै निर्देशनमा कम गुणस्तको कपडा ल्याइएको छ, यसमा आइजीपीको पनि ग्रीन सिग्नल भएको बुझिएको छ’, स्रोतले दृष्टिलाई भन्यो ।

प्रहरीको ठेक्कामा ठूलो परिमाणको कमिसनको खेल हुँदै आएको छ । साउन भदौमा बुझाइएको अघिल्लो वर्षको कपडा यस्तो गुणस्तहीन परेको हो । जुन कपडा यो वर्षका लागि वितरण गरिएको थियो । कमिसनकै कारण गुणस्तरहीन लत्ता कपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ । ठेकेदार कम्पनीहरूले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन् ।

गत वर्ष ८० करोड रुपैयाँको ठेक्कामा मोबिलाइजेसन खर्चबापत निकासा भएको १० प्रतिशत रकम कमिशनमा खर्च भएको थियो । प्रहरी प्रधान कार्यालयले अघिल्लो वर्ष जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो ।

३८ करोड ७३ लाख ६० हजार रुपैयाँको सो ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइएको थियो ।

सलिनाकै सेटिङमा तेजसम इन्टरप्राइजेजलाई उलन स्वेटर, क्राउन टेक्सटाइललाई कटन पाइन्ट र उलन सर्टको ठेक्का दिइयो । गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लिखित सामान नै दाखिला नगरी भुक्तानी लिएको तथा गुणस्तहीन सामान आपूर्ति गरेको विषयमा अख्तियारले जयसलिनामाथि छानबिन गरिरहेको छ ।

अहिले वितरण भएको कपडा पनि गत वर्षकै ठेक्का भएकाले यो वर्षपनि प्रहरीले गुणस्तरीय कपडा पाउने संभावना छैन । अबको ठेक्कमा भने प्रबन्ध शाखाले दुई पटक ठेकेदारहरुसँग छलफल गरिसकेको छ । हरेक वर्ष लत्ताकपडा गुणस्तरहीन भए भन्ने गुनासो छ ।

गत साउनमा बसेको पोलेसी कोर्डिनेशन कमिटी (पीसीसी)को बैठकले लत्ताकपडा खरिद गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने र टेण्डरको शुरुमा गुणस्तर मापनका लागि कपडा पठाइएको कम्पनीलाई कपडा भण्डारमा आईसकेपछि त्यस कम्पनीमा नपठाई अर्को कम्पनीलाई मापन गर्न दिने निर्णय गरेपनि त्यसो हुन सकेको छैन ।

प्रहरीको लत्ताकपडा खरिदमा ठेकेदार ज्ञानेन्द्र बस्नेत, रितेश अग्रवाल, श्रवण अग्रवाल, टोपेन्द्र बिसी, राजमान मिश्र, पिताम्बर मुन्काको सिण्डीकेट चल्दै आएको छ । त्यसमध्येका अहिले रितेश अग्रवाल र श्रवण अग्रवालको सिण्डिकेट रहेको छ । राजमान मिश्र भने सशस्त्रको कपडाको ठेक्कामा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्