Logo
Logo

६१ किलो सुनमा वेपत्ता अग्रवाल सशस्त्रको फन्दामा



काठमाडौं । गत साउनमा राजश्व अनुसन्धान विभागले विमानस्थलबाहिरबाट करिब ६१ किलो सुन तस्करीमा जोडिएका नरेश अग्रवाल जोगिएका थिए । विभागकै केही कर्मचारीको सुराकीका कारण जोगिएका अग्रवाललाई विभागका कर्मचारीको आँखा छल्दै सशस्त्र प्रहरीको इन्टेलिजेन्स व्यूरोले पक्राउ गरी राजश्व अनुसन्धान विभागमै पुर्याइदियो ।

गत साउनबाटै सुन, हुण्डी र क्रिप्टोमा संलग्न रहेको एउटा गिरोह रहेको सूचना नेपाल प्रहरीलाई दिइरहेको थियो । नेपाल प्रहरीले त्यो गिरोहमा केही हदसम्म सफल अनुसन्धान अघि बढेपनि सशस्त्रले भनेकै केही व्यक्तिहरू भने छुटेका थिए ।

त्यतिबेला विभागमा कर्मचारीले अग्रवालको बारेमा केही नभएको भन्दै पन्छिएपछि सशस्त्रको टोली पनि पछाडि हटेको थियो । तर, सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले त्यो गिरोहलाई निरन्तर पछ्याईरह्यो । अन्नतः विहीबार दिउसोदेखि शुरु गरेको अप्रेशनमा अग्रवाल फेला परे । जब अग्रवाल फेला परेको जानकारी विभागका कर्मचारीलाई समेत सुइको नदिई विभाग पुर्याइएको थियो ।

सशस्त्रको सो टोलीले क्षेत्रपाटीमा केही व्यक्तिको ओहोर दोहोर देख्यो । त्यसमा केही समयको निगरानीपछि सशस्त्रकै हेडक्वार्टरमा रहेको इन्टेलिजेन्स ब्यूरोले सुन, हुण्डी, क्रिप्टो लगायतको अवैध कारोबार गरी राजस्व छली भइरहेको सूचना पुष्टि ग¥यो ।

सशस्त्रको टोलीसहितले बिहीबार दिउँसो ३ बजेदेखि उपत्यकाका ४ ठाउँमा अपरेशन शुरु ग¥यो । त्यसक्रममा ४ जनालाई पक्राउ गर्नुको साथै २ करोड बढी रकम समेत बरामद गर्यो । बिहीबार दिउँसो ३ बजेबाट सुरु भएको अपरेशन शुक्रबार बिहानीपख ४ बजेसम्म गोप्य रुपमै चल्यो ।

सशस्त्र प्रहरीको इन्टेलीजेन्स व्यूरोले दिएको जानकारी अनुसार पक्राउ परेका नरेश अग्रवाल वैध हुण्डी मात्र होइन सुनको कारोबारमा समेत संलग्न रहेका छन् । त्यही सूचनाको आधारमा राजश्व र सशस्त्र प्रहरीको टोलीले शुरुमा हनुमानढोका क्षेत्रमा अपरेशन चलाइएको थियो ।

हनुमानढोकाको मखनबाट थर नखुलेका दीपक नाम गरेका व्यक्तिलाई ३५ लाखसहित पक्राउ गरिएको थियो । उक्त अपरेशन सकिएपछि ताहचलमा अपरेशन सुरु भएको थियो । ताहचलबाट ७३ लाख रुपैयाँसहित मोहन साह नाम गरेका व्यक्ति पक्राउ परेका थिए ।

त्यसपछि कलंकीमा अपरेशन सुरु भएको थियो । कलंकीबाट २३ लाख रुपैयाँसहित विवेक कार्की नाम गरेका व्यक्ति पक्राउ परे । अन्तिममा यो अपरेशन क्षेत्रपाटीमा आएर बिहान ४ बजे टुंगिएको थियो ।

क्षेत्रपाटीबाट १ करोड रुपैयाँभन्दा बढी रकमसहित नरेश अग्रवाल पक्राउ परेका थिए । यो सबै एउटै चेनको रुपमा हुण्डीको कारोबार देखिएको विभाग स्रोतले जनाएको छ । अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।

अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो ।

यसअघि सशस्त्र प्रहरीको इन्टेलीजेन्स व्यूरोले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा जोडिएका भेपको सुनमा लोकेन्द्र पौडेलको संलग्नता रहेको भन्दै प्रहरीलाई सूचना दिएको थियो । पछि प्रहरीले पौडेलमाथि अनुसन्धान गरी मुद्धा समेत चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्