Logo
Logo

घोषणा गरेको पुरस्कार नपाएपछि सशस्त्रमा खैलाबैला



कठमाडौं । सशस्त्र प्रहरीले मंगलबार आफ्नो २३औं वार्षिकोत्सव मनाइरहेका बेला आन्तरिक लफडा परेको छ । पुरस्कार छनोट समितिका संयोजक एआइजी सिपी गौतमका कारण लफडा परेको हो ।

वार्षिकोत्सवमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार दिने सन्दर्भमा आइजीपी सचिवलाय र मुख्यालयमा कार्यरत सबै कर्मचारीलाई ‘आइजी कमेन्डेसन’ दिन सिफारिस गरेपछि सो लफडा परेको हो । आइजीपी राजु अर्यालले संगठनबाट वितरण गरिने यो पुरस्कारको मापदण्ड के हो मुख्यालयमा बस्नु र सचिवालयमा कार्यरत रहनु मात्रै मापदण्ड हो ? सीमामा रातारात तस्करसँग लड्नेहरुलाई बाहिर राखेर यस्तो पुरस्कार सिफारिस गर्दा लाज लाग्नुपर्ने हो ? भन्दै सोमबार राति सो पुरस्कार रोकिदिएका थिए ।

आइजीपी अर्याललाई पुरस्कारको सूची दिनुअघि नै पुरस्कार लिनका लागि मंगलबार बिहान त्यो पुरस्कार दिने भनेर सयजना बढी तयार भएका थिए । उनीहरुलाई मानव स्रोत विभागबाट पुरस्कार लिनका लागि खबर गरिएको थियो । ‘हेडक्वार्टरको ८० थिए, ७५ जना हेडक्वार्टरको अधिकृत नाम थियो’, स्रोतले भन्यो, ‘सिपाही हवल्दारको त नाम नै थिएन’, केही असइदेखि डिआइजीसम्म थिए पुुरस्कार लिन तयार थिए’, स्रोतले भन्यो ।

मंगलबार साँझ रात्रीकालीन भोजमा भेट भएका अधिकृतहरुले पुरस्कार सिफारिस किन गरिएको हो ? किन बोलाइएको हो ? किन नदिइएको हो ? भन्दै आपसमा कुरा गरिरहेका थिए । उनीहरुमध्ये केही उपत्यका बाहिरका भए पनि ८५ प्रतिशत हेडक्वाटरका अधिकृत थिए ।

आफूहरुलाई पुरस्कार दिन्छु भनेर लिखितरुपमै नाम निकालेको तर नदिएको एक अधिकृतले बताए । ‘कि नदिए भयो, दिन्छु भनेपछि किन यस्तो गरियो थाहा भएन’, उनले भने । त्यही पुरस्कार एक दर्जन अधिकृतलाई भने मंगलबार नै दिइएको थियो । तर १ सय बढीको नाम प्रकाशित गरे पनि ती नाम हेर्दा बदनाम पात्र रहेको पाइएको थियो ।

दार्चुला गणमा राशन कान्डमा परेका एसपी त्रिभुवन विष्टसमेत पुरस्कृत हुने सूचीमा थिए । यस्तै सधैँ शक्तिकेन्दको आडमा मनपरी गर्दै आएका एसएसपी दीपेन्द्र कुँवरदेखि पहुँचवालाहरु नै देखिएका छन् । डिआइजी गणेश ठाडा, एसएसपी राजेन्द्र खड्का, प्रकाश बस्नेत, एसएसपी होम ज्ञवाली, युवराज अर्यालदेखि सचिवालयका सबै अधिकृत सो सूचीमा थिए । तर नाम निकालेर पुरस्कार एकाएक रोकिएको भन्दै सशस्त्रमा असन्तुष्टि बढेको छ । ‘खोइ म त बिदामा थिएँ, पुरस्कारमा नाम छ भनियो, कार्यक्रमामा आएँ तर पाइएन’, अर्का अधिकृतले बताए ।

सोमबार ४ बजेपछि मानव स्रोत विभागले ती नाम तयार पारेको थियो । ‘ मानव स्रोत विभागका एआइजी र उनका सहयोगीले हेडक्वार्टरका फेला परेका जति सबैलाई पुरस्कार बाँड्दै हिँडेका रहेछन्, आइजीले चिल्लो टाउको हल्लाउँदै मापदण्ड लेउ, संगठनका सबैलाई पुरस्कार दिन्छु होइन भने आइजीपी सचिवालयमा बस्नु र हेडक्वार्टरमा बस्नुलाई मापदण्ड मानिदैन यस्तो काम मबाट हुँदैन भनेपछि सबैका मुख रातो भयो’, एक अधिकृतले रात्रिकालीन भोजमा हाँस्दै भने ।

उता मधेस प्रदेशका डिआइजी दीपेन्द्र शाहले उत्कृष्ट बाहिनीपति अवार्ड पाएपछि कोशी प्रदेशका डिआइजी अञ्जनीकुमार पोखरेल रातारात काठमाडौँ आएर माओवादी नेताको सोर्समा संगठनको सबैभन्दा उच्च तहको सशस्त्र प्रहरी सम्मान लिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्