Logo
Logo

शक्ति र सम्पत्तिका आडमा बढ्दो अपराध



अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्यूरोले केही आरोपीमाथि मुद्दा नचलाउने र केहीलाई चलाउन नपर्ने निर्णय गरे पनि मुलुकका ठूला व्यक्तिहरू संलग्न भएको देखिएपछि सबैको आँखा तिनमाथि पर्याे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा पूर्वमन्त्री, उपप्रधानमन्त्री रामबहादुर बादल र टोपबहादुर रायमाझी तथा तिनका सुपुत्रहरू, कांग्रेस नेता बालकृष्ण खाँड, संघीय मन्त्रालयका सचिव टेकनारायण पाण्डे परेपछि फेरि सबैको आँखा, कान चनाखो भयो । अनि सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा र तिनका छोराको संलग्नताको अभियोगले धुनचक्र नै गर्यो ।

नेपालमा यस्ता घटना र आरोप–अभियोग चलिरहेको नै छ । कुनैमा ठूलाले सफाइ पाएका छन् भने कुनैमा सजायँ । पञ्चायतकालमा पनि मूर्ति चोरी, गलैँचा काण्ड, सर्पको छाला काण्ड अनेक काण्ड भए र चर्चामा आए । घटना पुरानो भए पनि यस्ता अपराधलाई कहीँ न कहीँ सम्झने गरिरहेका हुन्छन् र पछिल्लो पुस्ताले पढिरहेको हुन्छ ।

समाजमा हिंसा, बलात्कार, चोरी, डकैती, ठगीका घटना भइरहन्छन् । तीमध्ये सबै त्यति प्रचारमा आउँदैनन् । यदि तिनमा ठूला नेताको संलग्नता भएमात्र तिनले ठूलो महत्त्व पाई कालान्तरसम्म चर्चा चलिरहन्छ ।

अब कुलघराना, गुरु, पण्डित, पुरोहित, साहित्यकार, मन्त्री, सांसद, न्यायाधीश, वकिल, पत्रकार, उद्योगपति, प्राध्यापक भन्दैमा तिनका कर्तुतमा आँखा चिम्लेर बस्नुहुँदैन । समाजले तोकिदिएको नैतिकताको सीमारेखा उल्लङ्घन गर्छन् भने लेख्न– बोल्न हिम्मत गर्नैपर्छ ।

गत पुस महिनामा काठमाडौँ जिल्ला अदालतबाट क्रिकेटर सन्दीप लामिछानेले करणी प्रकरणमा आठ वर्ष सजाय, तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्तिको सजायँ पाएको फैसला सुनायो । त्यसैगरी पूर्वप्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले तीन वर्ष कारागार सजायँको फैसला पाएको सार्वजनिक भयो । शाहले विसं २०६७ का लागि ‘छापामारको छोरो’ कथासङ्ग्रहमा मदन पुरस्कार जितेका थिए ।

क्रिकेटर लामिछानेले पीडितको आर्थिक अवस्था नाजुक भएकामा फाइदा उठाएर सो कर्तुत गरेको फैसला गरिएको छ भने शाहले सरुवा भएका प्रहरीको तलबभत्ता आफ्नो कार्यालयको खर्चमा देखाई रु ३३ लाखभन्दा बढी अपचलन गरेको जनाइएको छ ।

गत महिनामा नै तपस्वी रामबहादुर बम्जन काठमाडौँ बुढानिलकण्ठबाट पक्राउ परे । लिटिल बुद्ध भनिने बम्जनमाथि हत्या, बलात्कार र मानिस बेपत्ता बनाएको अभियोग लगाइएको छ । प्रहरीको खोजीमा केही वर्षदेखि परिरहेका बम्जनका कोठाबाट रु तिन करोड र केही थान मोबाइल पनि बरामद गरिएको छ । यी तिनै घटना समाजमा आफ्नै ढङ्गले चर्चित व्यक्तिसँग सम्बन्धित छन् र समाचारले निकै प्रमुखता पाएका छन् ।

संसारमा जति शान्तिका लागि भजनकीर्तन, प्रवचन, पूजापाठ, वार्ता, सहमति भइरहेका छन्, त्यति नै अपराध, हत्या, हिंसा, बलात्कारका घटना बढिरहेका छन् । तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र डोनाल्ड ट्रम्प नै जबर्जस्ती करणी मामिलामा परे ।

भारतमै आध्यात्मिक गुरुहरू आशाराम बापु, रामपाल, गुरुमित राम रहिम, नित्यानन्द यस्तै घटनामा जिम्मेवार रहे । नेपालमा कृष्णदास गिरीले भरखरै सफाइ पाएका छन् । जसलाई समाजले उच्चकोटिका स्थानमा राखेर सम्मान गरेको छ, उही नै अपराधमा संलग्न भएपछि समाजको विश्वास टुट्दो रहेछ ।

पद, उपाधि, धनसम्पत्ति आदिका मदले मानिसमा आफू समाजभन्दा ठुलो हुँ भन्ने अहङ्कार जाग्दो रहेछ । आफू माथि छु र तलकाले आफूलाई मान्नुपर्छ, सम्मान गर्नुपर्छ, मैले जे गरे पनि कानुन हातमा लिन्छु, मलाई विधिविधान, नियमले छुँदैन भन्ने भावना मानिसमा पलाउँदो रहेछ ।

अझ धर्मभिरुहरू त ‘स्वर्ग जाने मार्ग यही नै हो’ भन्दै आफ्ना शिष्य, भक्तलाई करणीको लोभ देखाउने हुँदा रहेछन् । अनि न्यायमूर्ति नै घरेलु हिंसामा उत्रन्छन् र बिचौलियाका भरमा वादी –प्रतिवादीसँग सौदाबाजी गर्छन् भने अरूले नगर्ने भन्ने हुँदैन ।

फेरि समाजका उपल्लो वर्गकाहरूको सम्बन्ध र सेटिङ जताततै छ । हत्तपत्त त्यस्ता व्यक्ति वा नेता पक्राउ पर्दैनन् । यस मामिलामा राजनीतिकर्मी, न्यायाधीश, उद्योगी–व्यापारी, ठेकेदार, वकिल, पत्रकार, सांसद, मन्त्री, कर्मचारी सबैको मिलेमतो हुँदोरहेछ । अझ संसद्का सत्तापक्ष र प्रतिपक्ष आपसमा दैनिक राजनीतिक घोचपेच र आरोपप्रत्यारोपमा लागे पनि खानेपिउने, भागबन्डा, अपराध आदिमा नङ र मासु जस्तै मिल्दा रहेछन् ।

हरेक साताजसो सत्ता र प्रतिपक्षी नेताहरूको गोप्य बसाइ त्यसैमा केन्द्रित हुँदा रहेछन्, यस्ता गोप्य भेटघाटमा पत्रकारले पनि खासै भेउ पाउँदैनन्, किनभने दुई जनाको भेटघाट, तिन जनाको भेटघाटमा सूचना चुहाउने अर्काे व्यक्ति नै हुँदैन । गोप्यता पत्ता लागे पनि साता, महिनौँपछि आउँछ, जसले कुनै माने राख्दैन, त्यसलाई मात लगाउने अर्काे घटना सुरु भइसकेको हुन्छ ।

लिटिल बुद्धमाथि कारबाही सुरु भए पनि उनका हकमा न्यायिक फैसला त भइसकेको छैन, तथापि उनका विलासिता र अपराधका घटनामा मिडियाले निकै आरोप भने लगाएको छ । यस्ता धार्मिक व्यक्तिहरू राजनीतिकर्मी र मन्त्री–सांसदका सम्बन्धका कारणले चोखिएका यसअघिका पनि उदाहरण छन् ।

बम्जन राजनीतिसँग जोडिएका त छ्रैनन्, तैपनि उनी र उनको समूहसँग भएको धनसम्पत्तिबारे सुन्दा दल, नेता, मन्त्री, सांसदका सहयोगमा प्रहरी–अदालतबाट सफाइ पाउन सक्छन् ।

अब कुलघराना, गुरु, पण्डित, पुरोहित, साहित्यकार, मन्त्री, सांसद, न्यायाधीश, वकिल, पत्रकार, उद्योगपति, प्राध्यापक भन्दैमा तिनका कर्तुतमा आँखा चिम्लेर बस्नुहुँदैन । राजनीतिकर्मी पनि जुनसुकै दलका होऊन्, समाजले तोकिदिएको नैतिकताको सीमारेखा उल्लङ्घन गर्छन् भने लेख्न– बोल्न हिम्मत गर्नैपर्छ । सामाजिक आचारसंहितासँग सम्बन्धित कानुन बनेको छैन भने वा पर्याप्त नभएमा त्यतातिर पनि ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्