मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उनले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिए । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता आँैल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।