Logo
Logo

सुदूरपश्चिम मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता आइतबारदेखि



कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘माघ १४ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी सबै पूरा भएको छ’, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक सिंहले भन्नुभयो, ‘कोशी र लुम्बिनी प्रदेशबाहेकका अन्य आठवटा टिम महेन्द्रनगर पुगिसकेका छन् ।’
प्रतियोगितामा सातवटा प्रदेश र तीनवटा विभागीय टिम गरी १० टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा एक सय ५० जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहनेछन् । त्यसैगरी प्रतियोगितामा एक जना अन्तर्राष्ट्रिय, १२ जना राष्ट्रिय र १२ जना प्रदेशका रेफ्रीको सहभागिता रहने छ । प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले जानकारी दिए ।

‘प्रतियोगिताको सेमिफाइनलदेखिका चारवटा खेलमा रु पाँच हजारका दरले प्लेयर अफ द म्याचको पुरस्कारको व्यवस्था मिलाइएको छ’, भट्टले भन्नुभयो, ‘प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार पुरस्कार प्रदान गरिने छ ।’ उनले प्रतियोगितामा विभिन्न छवटा विधामा जनही रु १०–१० हजारका दरले पुरस्कार प्रदान गरिने बताए । प्रत्येक दिन प्रतियोगिताका चार खेल र अन्तिम दुई दिनमा दुई खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्