Logo
Logo

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै



डुम्रे (तनहुँ) । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् ।

उक्त मार्ग ग्राभेल प्रकारको निर्माण गरिने पूर्वाधार कार्यालय तनहुँका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए । ‘ग्राभेल किसिमको संरचनामा यो मार्ग निर्माण गरिनेछ’, उनले भने, ‘यसमार्ग निर्माणपश्चात् ग्रामीण क्षेत्रलाई तराईसँग जोड्नेछ भने आवागमन पनि सहज हुँदै जानेछ ।’ निर्माण अन्तिम चरणमा पुगेको सूचना अधिकारी मिश्रले बताए ।

निर्माण अन्तिम चरणमा पुगेको छ । पहिराको जोखिम रहेका केही स्थानमा निर्माण गर्न समय लाग्ने देखिएको छ’, उनले भने, ‘सम्झौता सकिने बेला पनि भएकाले तीव्रगतिमा काम भइरहेको छ । पहिराको जोखिम क्षेत्रमा समस्या भए समय थप्नुपर्ने हुन्छ । नत्र सम्झौता मितिमा काम सम्पन्न हुन्छ ।’

विसं २०८१ फागुन २३ सम्ममा निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ फागुन २३ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रू २५ करोड आठ लाख ७३ हजारमा सम्झौता भएको पूर्वाधार कार्यालयले जनाएको छ ।

यसमार्ग निर्माणले नवलपुरवासीलाई गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न सहज र छोटो हुनेछ । पृथ्वीराजमार्गअन्तर्गत पोखरा–तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–खैरेनीटार खण्डमा भिमाद–मानपुर–फुला खण्डसँग जोडिन्छ ।

शालिग्राम कालीगण्डकी करिडोर मार्गमार्फत घिरिङ गाउँपालिकाको मानपुर हुँदै नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँस्थित कालीगण्डकी करिडोरमा निस्कन सकिन्छ । यो मार्ग नवलपुरका लागि विशेष महत्वका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्